BIZMANDU
www.bizmandu.com

कुलमान घिसिङलाई बिदाइ गरेकै दिन विद्युत आपूर्तिमा अवरोध पछिल्लो समयकै सबैभन्दा धेरै

२०७७ भदौ ३१

कुलमान घिसिङलाई बिदाइ गरेकै दिन विद्युत आपूर्तिमा अवरोध पछिल्लो समयकै सबैभन्दा धेरै
कुलमान घिसिङलाई बिदाइ गरेकै दिन विद्युत आपूर्तिमा अवरोध पछिल्लो समयकै सबैभन्दा धेरै


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई औपचारिक बिदाइ गरेको दिन विद्युत आपूर्तिमा पछिल्लो समयकै सबैभन्दा धेरै अवरोध आएको छ।

मंगलबार प्राधिकरणको मुख्यालयमा एक कार्यक्रम गरी घिसिङको औपचारिक बिदाइ गरिएको थियो। उनको कार्यकाल भने २८ भदौ आइतबार नै सकिएको हो।

२९ भदौ सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्ति दिनसक्ने कतिपयको अनुमान थियो। तर उक्त बैठकमा सरकारले घिसिङको नियुक्तिबारे छलफलै गरेन। त्यसपछि मंगलबार प्राधिकरणका कर्मचारीहरुले घिसिङको औपचारिक बिदाइ गरेका हुन्।

विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार घिसिङको बिदाइ भएको दिन नै देशभरको विद्युत मागमा ६३० मेगावाट आवर इनर्जी (विद्युतीय ऊर्जा) आपूर्तिमा अवरोध आएको छ।

मंगलबार देशभरको विद्युत माग २४ हजार ६१२ मेगावाट आवर रहेको थियो। विद्युत प्राधिकरणका आयोजनाबाट आठ हजार ७६६ मेगावाट आवर र निजी क्षेत्रका आयोजनाबाट १२ हजार ९१८ मेगावाट आवर इनर्जी आपूर्ति भएको थियो। भारतबाट २ हजार २९८ मेगावाट आवर इनर्जी आयात गरेर माग व्यवस्थापन गरिएको थियो। निर्यात भने शून्य मेगावाट आवर रहेको प्राधिकरणको तथ्यांक छ।

यो आँकडाले म‌ंगलबार मागभन्दा ६३० मेगावाट आवर इनर्जी कम (२३९८२ मेगावाट आवर मात्र) आपूर्ति भयो । अर्थात्, मागका बाबजुद पनि प्राधिकरणले ६ लाख ३० हजार युनिट ऊर्जा आपूर्ति गर्न नसकेको हो । उक्त परिमाणको न्यून आपूर्तिबाट प्राधिकरणले म‌ंगलबार सरदर ६० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।

यसअघि बाढी, पहिरो र हावाहुरीले प्रसारणलाइनमा क्षति पुर्‍याएको समयमा बाहेक सामान्य समयमा पानी पर्दा र तराईमा गर्मी बढ्दा दैनिक ३०० देखि ५०० मेगावाट आवरसम्म इनर्जी आपूर्तिमा समस्या आएको तथ्यांक थियो। मंगलबार भने पछिल्लो समयकै सबैभन्दा धेरै परिमाणमा ऊर्जा आपूर्ति हुन नसकेको प्राधिकरणको तथ्यांकले देखाएको हो ।