BIZMANDU
www.bizmandu.com

परामर्शदाता छनोटमा ढिलाइ, लकडाउन र निषेधज्ञाको असर द्रुतमार्गमा, सेना भन्छ ‘अब कामले गति लियो’

२०७७ भदौ ३१

परामर्शदाता छनोटमा ढिलाइ, लकडाउन र निषेधज्ञाको असर द्रुतमार्गमा, सेना भन्छ ‘अब कामले गति लियो’
परामर्शदाता छनोटमा ढिलाइ, लकडाउन र निषेधज्ञाको असर द्रुतमार्गमा, सेना भन्छ ‘अब कामले गति लियो’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली सेनाले काठमाडौं-तराइ/मधेस द्रुतमार्ग आयोजनाले गति लिएको दाबी गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण आयोजनाको काम पनि प्रभावित भएको थियो। 

निषेधाज्ञा खुकुलो भएसँगै आयोजनाले गति लिएको सेनाले जनाएको हो। सेनाले विज्ञप्ति जारी गर्दै आयोजनालाई पारदर्शी, नियमसंगत र गुणस्तरीय रूपमा निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको  कामलाई तीव्रता दिइएको जनाएको छ। 

सेनाका प्रवक्ता सहायकरथी  सन्तोष बल्लभ पौडेलले परामर्शदाता कम्पनीले काम सुरु गरेको बताए। उनका अनुसार परामर्शदाता नहुँदा सुरु गर्न नसकेका कतिपय काम अब सुरु हुनेछन्। कोरियन परामर्शदाता कम्पनीका टिम लिडर नेपाल आएर लोकल एसोसिएटसका विषयविज्ञहरु समेतको टोलीद्धारा आयोजनाको फिल्ड सर्भेको काम सुरु गरेका थिए। 

अहिले कोरियाबाट चिफ कोओर्डिनेटर र चिफ सर्भेयर एक/एक  जना आएर काम थालिसकेका छन्। सेनाले गत चैत १८ मा आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनका गर्न अन्तर्राष्ट्रियस्तरको परामर्शदाता कम्पनीसँग सम्झौता गरेको थियो। 

सेनाले सडक बनाएको भए पनि पुल र सुरुङमार्ग बनाएको छैन। आयोजनामा विशेष प्रकृतिका पुल र तीनवटा सुरुङमार्ग निर्माण हुनेछ।   प्राविधिक सहयोगका लागि परामर्शदाता नियुक्त गरिएको हो। आयोजनाको डिजाइन, सुपरिवेक्षण लगायतको जिम्मेवारी हुनेगरि परामर्शदाता कम्पनीको निर्देशनमा ठेकेदार  कम्पनीले काम अघि बढाउँछ। आयोजनाको इन्जिनियरका रूपमा परामर्शदाता कम्पनीले काम गर्छ।

अहिले द्रुतमार्ग आयोजनामा प्राविधिक रूपले संवेदनशील मानिएका कामहरु भएका सुरु भएका छैनन्। सामान्य कटिङ-फिलिङ गर्ने, एप्रोच लिंकहरु बनाउने, बक्स कल्भर्ट र साना कल्भर्टहरु बनाउने लगायतका कामहरु भइरहेका छन्।  आयोजनाको कुल लम्बाइ ७२.५ किलोमिटर छ। जसमा ५५.४८९ किमि सडक निर्माण भइरहेको छ। बाँकी १४ प्रतिशत भागमा पुल र सुरुङमार्ग रहनेछ। 

सडकमा कालोपत्रे गर्नु अघिको ग्राभेल हाल्नेसम्मको पूर्वाधार निर्माण गरिरहेको सेनाले जनाएको छ। कटिङ र फिलिङ अब चार किमि बाँकी  छ। जसमा १.५ किमि माघमा र बाँकी रहेको २.५ किमि आगामी जेठसम्म पूरा गर्ने लक्ष्य रहेको सहायकरथी पौडेलले बताए।

सेनाले आयोजनाको समष्टीगत कार्य योजना अनुसार कार्य क्षेत्रलाई ११ वटा क्लष्टरमा विभाजन गरि २०८०/०८१ सम्म सम्पन्न गर्ने लक्ष्य अनुसार काम थालिएको जनाएको छ। इपिसी, डिजाइन एण्ड बिल्ड र युनिट रेट कन्ट्रयाकमा आधारित भइ हाइब्रिड कन्ट्रयाक्ट मोडालिटीको अवधारणा तयार गरिएको छ। 'महामारीको असर  परामर्शदाता नहुँदा धेरै काम सुरु हुन सकेका थिएनन्। अब यो स्टेज पार भयो, हामी कामहरु अघि बढाउन सक्ने स्टेजमा पुगेका छौं। धेरै  कामहरु अब अघि बढ्छ,' पौडेलले भने।

सेनाले सुरुङमार्ग निर्माण कार्यका लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न प्रि-क्वालिफिकेसन  आह्वान गरेको थियो। गत मंगलबार प्रि-बिड मिटिङ सम्पन्न भएको छ। असोज १४ गते  बिड सबमिसनको मिति तय भएको छ।  आयोजनामा बन्ने सुरुङमार्ग भने बैशाखबाट मात्रै निर्माण सुरु हुने सहायकरथी पौडलले बताए। मंसिरमा टेण्डर निकाल्ने र बैशाखबाट निर्माण थाल्ने योजना बनाइएको छ। 

महादेवडाँडा (३.३५५ किमि), धेन्द्रे (१.६३० किमि), लेनडाडा (१.४३० किमि) का तीनवटा गरि (६.४१५ किलोमिटर) सुरुङमार्ग निर्माण हुनेछ। आयोजनामा  ८७ वटा पुलहरु निर्माण हुनेछन्। जसको निर्माणको काम ७१ वटा नेपाली  कम्पनी र बाँकी १६ वटा विशेष प्रकृतिका भएकाले विदेशी कम्पनीबाट गराइने छ। पुलको कुल लम्बाइ १०.५९६ किलोमिटर हुनेछ। 

सेनाले परामर्शदाता कम्पनी नियुक्त गर्न समय लागेको बताएको छ। विभिन्न प्राविधिक कारण परामर्शदाता नियुक्तिमा समय लागेका कारण आयोजनाको काममा केही ढिलाइ भएको हो। अब प्रक्रिया सकिएकाले गति दिने सेनाका अधिकारीहरुको दाबी छ।