BIZMANDU
www.bizmandu.com

बस संचालनको मापदण्ड सरकारले तयार पार्‍यो, ५०% मात्रै यात्रु राख्न पाइने, मास्क अनिवार्य

२०७७ भदौ ३१

बस संचालनको मापदण्ड सरकारले तयार पार्‍यो, ५०% मात्रै यात्रु राख्न पाइने, मास्क अनिवार्य
बस संचालनको मापदण्ड सरकारले तयार पार्‍यो, ५०% मात्रै यात्रु राख्न पाइने, मास्क अनिवार्य

Tata
GBIME
Nepal Life

काठमाडौं। असोज १ गतेदेखि संचालन हुने लामो दूरीका सार्वजनिक यातायातले सीट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने भएका छन्। भौतिक दूरी कायम हुने गरि एउटा लहरमा एक सीटमा एक जना यात्रु राख्नुपर्नेछ।

यातायात व्यवस्था विभागले लकडाउनपछि सार्वजनिक सवारीसाधन सुरक्षित तवरले संचालनका लागि तयार पारेको निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। यही निर्देशिकाका आधारमा सार्वजनिक यातायात संचालन गर्नु पर्नेछ। सीट बाहेक अन्यत्र यात्रु राख्न पाइने छैन। यदि ४० सीट क्षमताको सवारी साधन हो भने २० जना मात्रै यात्रु बोक्न पाउनेछ।

यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ। यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नु पर्नेछ। चालक र सहचालकले भाइजर, पञ्जा र  मास्क अनिवार्य लगाएको हुनुपर्नेछ। बस दैनिक डिसइन्फेक्सन गर्नुपर्नेछ। आधा मात्रै यात्रु बोक्न पाइने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन पाउने निर्णय सरकारले गरेको छ। मानौं ५ सय रुपैयाँ भाडादर तोकिएको छ भने २५० अतिरिक्त सहित ७५० रुपैयाँ लिन पाइनेछ।

सवारी साधनको अनुगमन यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक प्रहरीले गर्नेछन्। साथै संक्रमण बढेमा आवश्यक थप निर्णय जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। विभागको निर्देशिकामा बसहरुमा संक्रमणविरुद्धको सतर्कतालाई ध्यान दिइनुका साथै सवारी चालक, सहचालक र यात्रुको कर्तव्यसमेत प्रष्ट रूपमा तोकिएको छ।

यात्रा गर्ने वा ओर्लने दूरी सुरुमै यकिन गरेर यात्रु आफैंले त्यसको खुद्रा भाडा मिलाएर दिनुपर्ने निर्देशिकामा छ। भाडा संकलनका लागि बसमा एउटा बक्स राखिने र  यात्रुले त्यसैमा भाडा राखिदिनुपर्ने पनि निर्देशिकामा उल्लेख छ।

चालक बस्ने ठाउँलाई पनि खुल्ला छाड्न पाइने छैन। निर्देशिकामा चालक एरियालाई प्लाष्टिकले नै भए पनि कभर गर्नुपर्ने उल्लेख छ। चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भन्नका लागि चालक बस्ने ठाउँलाई सिल गर्न भनिएको हो।

दसैंका लागि अग्रिम बुकिङ गर्दा सम्भव भएसम्म अनलाइनबाट विद्युतीय टिकेटिङको व्यवस्था गर्न यातायात व्यवसायी र यात्रु दुवैलाई विभागले आग्रह गरेको छ। स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर सवारी साधन संचालन नगरे कोरोना संक्रमण गाउँ गाउँसम्म पुग्न सक्ने भएकाले सार्वजनिक यातायात संचालन गर्दा स्वास्थ्य मापदण्डमा कडाई गर्नुपर्ने विभागका अधिकारीहरुको भनाइ छ।

सरकारले ६ महिनापछि लामो दुरीका सवारी साधन संचालन गर्ने दिने निर्णय गरेपछि यातायात व्यवसायीहरुको बैठक बसेको थियो। बुधबार यातयात सम्बद्ध तीनवटै ट्रेड युनियसंग बैठक बसेर बस संचालन निर्णय हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।