BIZMANDU
www.bizmandu.com

नेपालसहित भारतीय र चिनियाँ कम्पनीको सेनिटाइजरमा भेटियो विषाक्त रसायन, प्रयोग नगर्न आग्रह

२०७७ भदौ ३१

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई नेपाली कम्पनीसहित भारतीय र चिनियाँ कम्पनीको सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ। औषधि व्यवस्था विभागले गरेको परिक्षणमा पुनः ४ कम्पनीले विषाक्त रसायन मिसाई सेनिटाइजर उत्पादन गरिरहेको पाइएको हो।

विभागले दुई नेपाली र एक-एक चिनियाँ र भारतीय कम्पनीको सेनिटाइजर प्रयोग गर्न नहुने जनाएको छ। 

चिनियाँ कम्पनी ओपेकल नन्-वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १ सय २० एमएलको सेनिटाइजरमा इथानोल ६८ प्रतिशत रहेको भेटिएको छ। यो गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो। यस्तै भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड सेनिटाइजर ६० एमएलको बोटलमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ। 

नेपाली कम्पनी सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्ट ह्यान्ड सेनिटाइजर ५० एमएलको बोटलमा मिथानोल ३९.३४ प्रतिशत रहेको पाइएको छ। श्रीनाथ हर्बल कस्मेटिक इन्डस्ट्रीले उत्पादन गरेको ६५ एमएलको सेनिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको छ। 

यी कम्पनीहरुको गुणस्तरमा शंका लागेपछि विभागले राष्ट्रिय औषधि प्रयोगशालामा नमुनाहरू परीक्षण गर्न पठाएको थियो। परीक्षणबाट उत्पादक कम्पनीहरुले गम्भीर लापरबाही गरेको पाइएपछि ती कम्पनीको उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई अपिल गरिएको छ। यस्तै बजारबाट सबै सामाग्री फिर्ता गर्न समेत भनिएको छ।  

कोभिड रोकथामका लागि प्रयोग गरिने सेनिटाइजरमा न्यूनतम ६५ प्रतिशत अल्कोहल हुनुपर्ने मापदण्ड छ।