BIZMANDU
www.bizmandu.com

कामदारमा कोरोना संक्रमण भएपछि मोरङको एमटेक औषधि उद्योग बन्द, १८० मध्ये १५ पोजेटिभ

२०७७ भदौ ३०

Tata
GBIME
Nepal Life

विराटनगर। कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको एक औषधि उद्योग बन्द भएको छ। कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको हो।

उद्योगका सञ्चालक मनिष अग्रवालले उद्योग बन्द भएको पुष्टि गरे।

‘उद्योगका १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखियो,’ सञ्चालक मनिषले भने, ‘त्यसपछि उद्योग बन्द गरिएको छ। अहिले कारखानालाई डिसइन्फेक्टेड (निर्मलीकृत) गर्ने काम भइरहेको छ। सबैतिर डिसइन्फेक्टेड गरेपछि मात्रै उद्योग चलाउँछौं।’

कारखाना निर्मलीकृत गरेपछि नेगेटिभ रिपोर्ट आएका कामदारलाई बोलाएर सञ्चालन गरिने उनको भनाइ छ।

उद्योगी अग्रवालले संक्रमित १५ जनामध्ये एक जनालाई श्वासप्रश्वासमा गाह्रो भएको हुँदा कोशी अस्पतालको कोभिड अस्पताल युनिटमा भर्ना गरिएको जानकारी दिए। उनको अवस्था सामान्य रहेको पनि उनले बताए।

‘बाँकी कसैलाई सामान्य लक्षणसमेत छैन,’ उनले भने, ‘लक्षण नदेखिएकाहरू आफ्नै घरमा आइसोलेसनमा हुनुहुन्छ।’

मनिषले आफू पनि घरमै क्वारेन्टाइनमा बसिरहेको उल्लेख गरे।

मोरङमा कामदारमा कोरोना संक्रमण पुष्टि भएर उद्योग बन्द भएको यो दोस्रो घटना हो। यसअघि बुढीगंगा गाउँपालिकाको आरती स्ट्रिप्स यसैगरी बन्द भएको थियो।

कटहरी गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश कार्कीले गाउँपालिका क्षेत्रमा एम टेक मेडबाहेक कुनै उद्योग कोभिडकै कारणले हालसम्म बन्द नभएको बताए।