BIZMANDU
www.bizmandu.com

इन्टरनेट चाप धान्नै नसक्ने भएपछि फायरवाल अपग्रेड गर्दै सरकार, क्षमता बढाउन ठेक्का आह्वान

२०७७ भदौ ३०

इन्टरनेट चाप धान्नै नसक्ने भएपछि फायरवाल अपग्रेड गर्दै सरकार, क्षमता बढाउन ठेक्का आह्वान
इन्टरनेट चाप धान्नै नसक्ने भएपछि फायरवाल अपग्रेड गर्दै सरकार, क्षमता बढाउन ठेक्का आह्वान

काठमाडौं। इन्टरनेट प्रयोगकर्ता र डाटा खपत उच्च हुँदै गएपछि सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रले फायरवालको क्षमता बढाउने प्रक्रिया थालको छ ।

Tata
GBIME

विद्यमान फायरवाल न्यून क्षमताको भएकाले यसले इन्टरनेट प्रयोगको ट्राफिक नधान्ने अवस्था आएपछि क्षमता बढाउने गरी सोमबार नयाँ ठेक्का आह्वान गरेको केन्द्रले जानकारी दिएको छ। भविष्यको आवश्यकतालाई समेत सम्बोधन गर्न सक्ने प्रणालीको फायरवाल बनाउन 'नेक्स्ट जेनेरेसन इन्टरप्राइज फायरवाल' को बोलपत्र आह्वान गरेको केन्द्रले बताएको छ ।

'अहिले हामीसँग न्यून ट्राफिक चाप धान्ने क्षमताको फायरवाल छ, जुन अहिले नै कमजोर देखिइसकेकाले नयाँ फायरवालका लागि टेन्डर खोलेका हौं,' केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले भने। फायरवाल जडानले उच्च ट्राफिक चापलाई सहज रुपमा पास गराउनुका साथै वेबसाइट खुल्न लाग्ने समय अझै द्रुत हुने उनले बताए।   

फायरवालको टेन्डर प्रक्रिया पूरा गर्नै तीन महिना लाग्ने र कम्पनी छनोट भएलगत्तै जडान कार्य सुरु हुने पोखरेलको भनाइ छ ।

बढ्दो इन्टरनेट प्रयोगले ट्राफिक चाप ह्वातै बढेकाले प्राविधिक समस्या देखिन सुरु भइसकेको केन्द्रले जनाएको छ। यससँगै सिंहदरबारभित्रका मन्त्रालयहरुका साथै विभिन्न सरकारी निकायहरुका वेबसाइटमा बढ्दो ट्राफिक चापको व्यवस्थापन गर्ने काम पनि अघि बढेको बताइएको छ।

कोरोना महामारीका कारण पालना गरिएको भौतिक दूरीले पछिल्लो समय अधिकांश सरकारी निकायहरुले अनलाइनबाटै कार्यक्रमहरु आयोजनाका साथै सहभागिता जनाइरहेका छन्।

जुम, गुगल मिट, माइक्रोसफ्ट टिम लगायतका भर्चुअल कन्फेरेन्स प्लेटफर्मबाट बैठक, छलफल, अन्तरक्रिया, समारोह लगायतको आयोजना पछिल्ला दिनमा अत्यधिक भइरहेका छन्। स्कुल-कलेजका लाखौं विद्यार्थीले यिनै प्लेटफर्मबाट अनलाइन कक्षामा भाग लिइरहेका छन्। 

यसले पनि इन्टरनेट डाटा खपत ह्वात्तै बढाएकाले हाल कायम कमजोर फायरवालले सहजै ट्राफिक पास गर्न नसकिरहेको र ट्राफिक धान्न नसक्ने अवस्था आएको केन्द्रले जनाएको छ। सोही कारण फायरवालको क्षमता विस्तार गर्न बोलपत्र आह्वान गरिएको केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए।