BIZMANDU
www.bizmandu.com

कोरोना बीमालेखमा बीमा समिति फस्यो: ‘स्टन्ट’ गर्न ल्याएको नीति बन्यो आफैंलाई गलपासो

२०७७ भदौ ३०

Tata
GBIME
Nepal Life

काठमाडौं। अध्ययन अनुसन्धान बिना ‘पपुलिस्ट’ हुन बीमा समितिले ल्याएको कोरोना बीमालेख उसैलाई गलपासो भएको छ। कोरोना संक्रमण पुष्टी भएको दुई दिनमै दाबी भुक्तानी गर्ने भन्दै बीमा समितिले ‘बम्पर पुरस्कार घोषणा’ स्टाइलमा कोरोना बीमालेख योजना ल्याएको थियो।

जब जब कोरोना संक्रमित बढ्दै गए, अनि बीमा समितिको होसहवास उड्न थालेको  छ। कहिले बीमालेख नै बन्द गर्ने निर्णय गर्छ त कहिले भुक्तानी नदिने अनेक बहानाबाजी गरिरहन्छ।

बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमांकको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरेको छ। 

समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले कोरोना बीमा गरेको बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमांक रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए। 

जबकी यसअघि पुष्टि भए सम्पूर्ण बीमा रकम दिने भन्दै अध्यक्षले सार्वजनिक रूपमा भाषण नै गरेका थिए। संक्रमित बढ्न थालेपछि उनले बीचमा बीमालेख नै बन्द गरिदिए। तर अर्थमन्त्रालयको दबाबमा २४ घण्टामै बीमालेख जारी गर्ने बाटो खुल्यो।

बीचमा आएर निजी क्षेत्रको ल्याबको रिपोर्टका आधारमा भुक्तानी नदिने अड्को थापियो। अस्पतालको रिपोर्ट भए पुग्ने ब्यवस्थालाई संशोधन गरेर फेरि वडा कार्यालयको सिफारिस चाहिने नीति बनाइयो। त्यसले पनि नपुगेपछि २५ प्रतिशत मात्रै पैसा दिने भन्ने नयाँ अड्को थापिएको छ। 

समितिले अस्पतालमा बस्नु परेको खण्डमा राहत रकम सहित बिल भर्पाईको आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी दिइने नीति लिएको छ। अध्यक्ष चापागाईंले भदौ २८ गते सम्मका बीमितको हकमा पुरानै व्यवस्था लागू हुने र भदौ २९ गतेपछि बीमा गरेका बीमितको लागि मात्रै यो व्यवस्था लागू हुने बताए। 

कोरोना बीमाको पुरानै व्यवस्थासहित स्वास्थ्य बीमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको अध्यक्ष चापागाईंले बताए।

संशोधित व्यवस्था अनुसार बीमितले एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहतस्वरुप २५ हजार रुपैयाँ पाउने छ। तर अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भपाई पेश गरेको खण्डमा थप ७५ हजार रुपैयाँसम्म भुक्तानी हुने छ। 

५० हजार बीमांक रकम भएको पोलिसी खरिद गरेको संक्रमित व्यक्तिले भने राहतस्वरूप १२ हजार ५ सय रुपैयाँ पाउने छ भने बाँकी अस्पतालको बिल भर्पाई अनुसार ३७ हजार ५ सय रुपैयाँसम्म पाउने छ। 

बीमा समितिले एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख रुपौयाँ बीमांक र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमांक रकम रहेको पोलिसी लागू गरेको छ। जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम भएको थियो।

त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको अवस्थामा सामूहिक रूपमा परिवारको बीमा गर्दा एक लाख रुपैयाँ बीमांकका लागि प्रति व्यक्ति ३ सय रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकका लागि प्रतिव्यक्ति १ सय ५० रुपैयाँ तिर्नुपर्छ।