BIZMANDU
www.bizmandu.com

आधार दर आधा प्रतिशत बिन्दु हाराहारी घट्ने गरी कल निक्षेपको ब्याज कटौती, ऋण थप सस्तो

२०७७ भदौ ३०

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकको एउटा निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लागत ह्वात्तै घटेको छ। राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दरमा सीमा निर्धारण गरेपछि लागत घटेको हो। 

यसबाट बैंकको आधार दर घटेर ऋणको ब्याज अझै कम हुन्छ। 

राष्ट्र बैंकले अघिल्लो साता बैंक तथा वित्तीय संस्थाहरुले कल डिपोजिटको ब्याज दर बचत खाताको न्युनतम ब्याजको आधा मात्र हुन सक्ने निर्देशन जारी गरेको थियो।

यसअघि बचत खाताको न्यूनतम ब्याज दर बराबर दिन पाइन्थ्यो। राष्ट्र बैंकको नयाँ निर्देशनपछि कल डिपोजिटको ब्याज दर साविकभन्दा आधा कम भएको छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप ३९ खर्ब ३४ अर्ब ७८ करोड रुपैयाँ छ। यसको १०.४५ प्रतिशत कल डिपोजिट छ। अर्थात ४ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ कल डिपोजिटमा छ। बाणिज्य बैंकहरुको मात्र हिसाब गर्ने हो भने कुल निक्षेप ३४ खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ छ।  यसको १०.४१ प्रतिशत अर्थात ३ खर्ब ६२ अर्ब रुपैयाँ कल डिपोजिटमा छ।

यो, १० प्रतिशत निक्षेपको ब्याज दर ५० प्रतिशतले घटेको हो। ‘यसबाट आधार दर केही कम हुन्छ’ बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, ‘आधार दर कम भएपछि ऋणको ब्याज पनि कम हुन्छ।’

सोझो हिसाबमा पनि १० प्रतिशत आधार दर छ भने नयाँ ब्यवस्थाले आधार दर ०.५ प्रतिशत बिन्दुले घटेर साढे ९ प्रतिशत कायम हुने छ।

अहिले बैंकहरुले बचत खाताको ब्याज दर ह्वात्तै घटाएका छन्।  ६ महिनाअघि साढे ६ प्रतिशतसम्म रहेको बचतको ब्याज आज २ प्रतिशतसम्म झरेको छ। बचतको न्यूनतम ब्याज २ प्रतिशत कायम हुँदा कल डिपोजिट गर्नेले एक प्रतिशत मात्र पाउँछन्।

‘पहिले कल डिपोजिट नै थिएन। पछि ब्याज नआउने करेन्ट खाता र ब्याज आउने बचत खाताको मिश्रण गरेर कल डिपोजिट खाता बनाइएको हो’ एक बैंकरले भने, ‘खासमा कल डिपोजिट खारेज हुनु पर्ने हो। तैपनि ५० प्रतिशत ब्याज कटौती गर्नु पनि राम्रै हो।’

कल डिपोजिट संघ संस्थाहरु खोल्ने खाता हो। विगतमा तरलता अभाव हुँदा कल डिपोजिटको ब्याज दर बचत खाताभन्दा माथि पुगेको थियो। त्यसबेला राष्ट्र बैंकले ब्याजमा अंकुश लगाउन बचत खाताको न्यूनतमभन्दा बढि कलमा दिन नहुने ब्यवस्था गरेको थियो। तैपनि कल डिपोजिट गर्ने ठूला संस्थागत निक्षेपकर्ताको मोलमोलाइ चर्को हुने गर्थ्यो। कतिपयले अतिरिक्त ‘नजराना’ लिएर मात्र कल डिपोजिट दिने गरेको गुनासो बैंकरले गरेका थिए। यसपाली ऋणको ब्याज थप घटाउनका लागि राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर ५० प्रतिशतले घटाइ दिएको हो।