BIZMANDU
www.bizmandu.com

सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री ज्ञवालीलाई, तत्कालै विभागीय मन्त्री नआउने

२०७७ भदौ ३०

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्।

तत्कालका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्तामा आफूलाई तोकिएको ज्ञवालीले जानकारी दिए।

'तत्कालका लागि मैले सरकारका काम कारवाही सार्वजनिक गर्ने जिम्मेवारी पाएको छु,' उनले भने।

सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी भने अहिले प्रधानमन्त्री मातहत नै रहेको छ। विभागीय मन्त्री आउन केही समय लाग्ने भएकाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीको दिइएको हो।

यसअघि प्रवक्ताको भूमिकामा रहेका डा. युवाराज खतिवाडाले राजीनामा दिएपछि प्रवक्ताको ठाउँ खाली छ। अर्थसँगै खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउन मन्त्रिपरिषद पुनर्गठन गर्ने ओलीले बताउँदै आएका छन्। पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाका लागि मन्त्रिपरिषदले सिफारिस गरिसकिएको छ। 

प्रवक्ता चयन भएका ज्ञवाली मिडिया फ्रेन्डली मन्त्री मानिन्छन्। उनले यसअघि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।