भारतमा लगातार प्याजको भाउ बढ्दै गएपछि सरकारले निर्यातमा रोक लगाएको छ।
यो निर्णय देशमा प्याजको उपलब्धता बढाउने तथा घरेलु बजारमा बढिरहेको प्याजको मूल्यमा नियन्त्रणका लागि गरिएको भारतको विदेश ब्यापार महानिर्देशालयले जनाएको छ।
महानिर्देशनालयका अनुसार सबै किसिमका प्याजको निर्यातमा तत्कालदेखि प्रभावित हुनेगरी रोक लगाइएको हो।
बेंगलुरु रोज तथा कृष्णापुरम जातको प्याजलाई पनि यसपटक निर्यातमा रोक लगाइएको छ। हालसम्म यी दुई प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाइएको थिएन।
वाणिज्य मन्त्रालय मातहतको विदेश व्यापार निर्देशनालयले आयात निर्यातसम्बन्धी निर्णय गर्ने गर्छ। दक्षिण भारतका कैयन् राज्यमा यसपटक धेरै पानी परेका कारण प्याजको बालीमा धेरै नोक्सान भएको छ। यसैकारण पनि भारतको घरेलु बजारमा प्याजको भाउ निकै बढिरहेको छ। थोक मन्डीहरुमा गत अगस्तदेखि नै प्याजको भाउ बढेको थियो। भारतमा प्याजको कारोबार मूल्य किलोको ५० भारु सम्म पुगेपछि सरकारले निर्यात रोकेको हो। घरेलु बजारमा भाउ घटाउने उद्देश्यका साथ निर्यात रोकिएको बताइएको छ।
कोभिड महामारीको समयमा पनि भारतबाट प्याजको धेरै नै निर्यात भएको तथ्यांक छ। अप्रिलदेखि जुनको अवधिमा मात्र भारतबाट १९ करोड ८० लाख डलर बराबरको प्याज निर्यात गरिएको छ। गत वर्ष ४४ करोड डलरको प्याज निर्यात भएको थियो।
भारतबाट बंगलादेश मलेसिया, यूएई र श्रीलंकामा सबैभन्दा धेरै प्याज निर्यात हुँदै आएको छ।
यसअघि पनि भारतमा सरकारले सन् २०१९ को सेप्टेम्बरमा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भारतले निर्यात रोकेपछि नेपालमा पनि प्याजको भाउ बढ्ने निश्चित छ। १५ दिन अघि किलोको ५० देखि ६० रुपैँयामा कारोबार भैरहेको प्याजको खुद्रा मूल्य हाल ९० रुपैयाँसम्म पर्न थालिसकेको छ।
गत वर्ष भारतले निर्यात रोक्दा नेपालमा प्याजको भाउ किलोको २५० सम्म पु्गेको थियो।