BIZMANDU
www.bizmandu.com

साढे ६% को बचतको ब्याज २ प्रतिशतमा झर्‍यो, बचतकर्तालाई थाहै नदिइ ब्याजमा कटौती

२०७७ भदौ ३०

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एसिया बैंकले ६ महिनाअघि सुपर चमत्कारिक बचत खाता भनेर साढे ६ प्रतिशत ब्याजको स्किम ल्याएको थियो। बैंकले उच्च ब्याज दिएका कारण निक्षेपकर्ताको आकर्षण पनि देखियो।

नभन्दै छोटो समयमै करिब दुई अर्ब रुपैयाँ यो बचत खातामा जम्मा भयो। 

तर, साढे ६ प्रतिशतको ब्याज स्किम भने लामो समय टिक्न सकेन। बैंकले यसको ब्याज झारेर २ प्रतिशतमा ल्याइसकेको छ।

वित्तीय क्षेत्रमै सबैभन्दा बढी बचत खाता एनआइसी एसियाले सञ्चालन गरिरहेको छ। कुल बचत खातामध्ये ७८ वटाको ब्याजदर २ प्रतिशतमा झरिसकेको छ भने बाँकी रहेको १६ वटाको ब्याजदर ४ प्रतिशत छ। 

बैंकर्स संघले निक्षेपको ब्याजको भद्र सहमति खारेज गरेपछि फराकिलो अन्तरले बचतको ब्याज एनआइसी एसियाले घटाएको हो। एनआइसी एसियाले बचतको ब्याज उच्च दरले घटाउनुको प्रमुख कारण ऋण लगानीसँग जोडिएको छ।

एनआइसीको आधार दर गत चैतमा ९.६१ प्रतिशत थियो। असार मसान्तसम्म आउँदा ७.७ प्रतिशतमा झर्‍यो। अहिले थप घटेको छ। 

बैंकहरुको वेबसाइटबाट

बैंक

ब्याजदर % मा

नेपाल बैंक

3.0-5.0

राष्ट्रिय वाणिज्य बैंक

3.0-5.0

कृषि विकास बैंक

3.0-5.0

नबिल

3.0-5.0

नेपाल इन्भेष्टमेन्ट

3.0-5.0

हिमालयन

2.75-4.24

एभरेष्ट

2.5-4.5

स्ट्यान्डर्ड चार्टर्ड

3.0-5.0

ग्लोबल आइएमइ

2.5-4.5

बीओके

2-3.5

प्रभु बैंक

2.0-4.0

एनआइसी एसिया

2.0-4.0

सानिमा

3.0-5.0

माछापुच्छ्रे

3.0-5.0

कुमारी

2.75-4.75

लक्ष्मी

3.0-5.0

सिटिजन्स

3.0-5.0

एनसीसी

5

सेञ्चुरी

4.25-5.25

सिभिल

4.5-6

मेगा

3.0-5.0

नेपाल बंगलादेश बैंक

3.5-5.0

सिद्धार्थ बैंक

3.0-5.0

एनएमबि

3.0-5.0

सनराइज

2.5-4.5

प्राइम

3.0-5.0

नेपाल एसबीआइ

3.0-5.0

आधार दर नघटाइ ऋणको ब्याज दर कम हुँदैन। आधार दरभन्दा तल गएर ऋण दिन पनि पाइँदैन। त्यही भएर एनआइसी एसिया बैंकले ऋण बिस्तारका लागि आधार दर सजिलैसँग घटाउने उपाय लगायो अर्थात बचतको ब्याज दर तल ल्यायो।

आधार दर तल ल्याएपछि बैंकले लकडाउन र निषेधाज्ञाका बीचमा पनि १९ अर्ब रुपैयाँ हाराहारी ऋण बिस्तार गरिसकेको छ। जबकी उभन्दा दोस्रो धेरै लगानी गर्ने इन्भेष्टमेन्ट बैंकको ५ अर्बले मात्र बढेको छ। राष्ट्रिय वाणिज्य बैंकको त  १५ अर्बले नै घटिसकेको छ। 

अहिले बचतमा धेरै ब्याज दिने बैंक सीमित छन्। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) ले ब्याज दर एकनास राखेको छ। बैंकले सबै खालको बचतमा ५ प्रतिशत ब्याज दिँदै आएको छ। सेञ्चुरी र सिभिल बैंकले पनि न्यूनतम ब्याज दर ४ प्रतिशतमाथि दिँदै आएका छन्।

अधिकांश बैंकको न्यूनतम ब्याज दर ३ प्रतिशत छ। एनआइसीसहित केही बैंकले २ प्रतिशतमा बचतको न्यूनतम ब्याज दर झारेका हुन्।

'अहिले सस्तोमा ऋण दिनु पर्ने प्रतिस्पर्धा छ। तरलता बढेका कारण स्वभाविक रूपमा निक्षेपको ब्याज दर घट्छ,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले बिजमाण्डूसँग भने, 'मुद्दती निक्षेपको ब्याज दर मूल्य वृद्धि दरभन्दा तल हुनु हुँदैन। जुन अझै माथि नै छ।'

उनले अधिक भएको तरलता राष्ट्र बैंकले 'मपअप' गरिदिने हो भने बचतको ब्याज दर तल झर्न नपाउने बताए। 

राष्ट्र बैंक भने अधिक तरलतालाई देखाएर बैंकहरुले मनपरी ढंगबाट बचतको ब्याज दर झार्न नहुने जनाएको छ। बचतको ब्याज घटाउँदा बैंकिङ प्रणालीभित्र रहेको पैसा सहकारीमा जाने, भारत पलायन हुने भन्दै राष्ट्र बैंक डराएको छ।

'हामीले अनिवार्य तरलता अनुपात (सीआरआर) ६ प्रतिशतबाट ३ प्रतिशतमा झारिदिएका कारण तरलता अधिकजस्तो देखिएको हो,' राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, 'ऋणको ब्याज तल आओस् भनेर सीआरआर घटाइएको हो। त्यसरी उपलब्ध गराएको तरलता फेरि राष्ट्र बैंकले नै किन्ने कुरा कुन तर्कमा पर्छ?' बैंकहरुले अहिले संयमता देखाएर बचतको ब्याज दर तल झार्न नहुने उनले बताए। 

'आज असामान्य अवस्थामा पनि मासिक ९० अर्ब रुपैयाँ हाराहारी आयात भइरहेको छ। केही समयमै अवस्था सामान्य भएपछि आयात बढ्छ। अन्यतिर ऋणको माग हुन थाल्छ,' उनले भने, 'त्यो बेला फेरि निक्षेपकर्ता खोज्दै हिँड्नुपर्ने अवस्था आउने छ। त्यसैले यसमा बैंकहरुले संयमता देखाउन आवश्यक छ।'

जब जब बैंकहरुले निक्षेपको ब्याज घटाएका छन्, त्यसबेला बचत कुल गार्हस्थ बचत घट्ने गरेको उनले सुनाए। जस्तो, २०७२ मा निक्षेपको भारित औसत ब्याज दर ३.२८ प्रतिशत हुँदा बचत ४.१ प्रतिशत थियो। अर्को वर्ष अर्थात ०७३ सालमा ६.५ प्रतिशत ब्याज पुग्दा बचत १३.४ प्रतिशत भएको थियो। 

बचतक ब्याज उच्च दरले घटेपछि राष्ट्र बैंकले यसबारेमा बैंकहरुसँग अनौपचारिक कुराकानी गरिरहेको छ। गभर्नर महाप्रसाद अधिकारीले पनि बचतकर्ता निरुत्साहित गर्ने गरी बचतको ब्याज घटाउन नहुने बताउँदै आएका छन्। केही दिनअघि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दा पनि उनले बचतको ब्याज बारेमा चासो राखेका थिए।

२७ वटा वाणिज्य बैंकहरुसँग साउन मसान्तसम्म ३४ खर्ब ८० अर्ब रुपैयाँ कुल निक्षेप छ। यसमध्ये १० खर्ब ९४ अर्ब रुपैयाँ बचत खातामा छ। बचत खातामा सर्वसाधारणको पैसा हुन्छ।