BIZMANDU
www.bizmandu.com

अध्यागमन विभागको रोकिएको भिसा सेवा सुरु, ३० गतेसम्म देश फर्किनेलाई कुनै शुल्क नलाग्ने

२०७७ भदौ २९

Tata
GBIME

काठमाडौं। अध्यगमन विभागले कोभिड-१९ को संक्रमणका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु गरेको छ। 

संक्रमण जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा आइतबारबाट सुरु गरेको हो। विभागले सेवा सुरु गरेपछि पर्यटक भिसा, कामदार भिसा र एनआरएन भिसामा रहेर नेपालमा रोकिएकाहरुलाई आफ्नो देश फर्किन सहज हुने विभागका महानिर्देशक रमेश केसीले बताए।

लकडाउनपछि पहिलो पटक असार १ गतेबाट भदौ ४ गतेसम्म सेवा सुचारु भए पनि निषेधाज्ञाका कारण केही समय स्थगित भएको थियो। विभागले पुनः आइतबार सेवा सुरु गरेको उनले बताए। 

भिसाको म्याद सकिएकाहरुको हकमा सेप्टेम्बर १५ (भदौ ३०) सम्म आफ्नो देश फर्किन समय दिइएको छ। यो समयमा फर्किएमा कुनै शुल्क लाग्ने छैन। तोकिएको समयमा पनि फर्किन नसकेमा डिसेम्बर १५ (मंसिर मसान्त) सम्म लागू रहने गरी हरेकले तीन डलर जरिवाना तिरेर बस्न सक्ने उनको भनाई छ। 

लकडाउन जारी भएपछि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सेवा भदौ १६ गतेबाट खुला भएको छ। उडान खुला भएसँगै नेपालमा लकडाउन र निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकहरुको भिसा सहजीकरणका लागि सेवा सुरु गरिएको विभागले जनाएको छ।