BIZMANDU
www.bizmandu.com

नेप्सेको त्रुटिको मार लगानीकर्तालाई, भदौ २५ र २८ को कारोबार राफसाफ रोक्का, खुल्ने टुंगो छैन

२०७७ भदौ २९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार प्रणालीमा बारम्बार आइरहेको प्राविधिक समस्या हल नगर्दा यसको असर लगानीकर्ताहरुको कारोबार राफराफमा पनि परेको छ ।

Tata
GBIME
Nepal Life

नेप्सेमा २५ भदौ बिहिबार भएको सम्पूर्ण सेयर कारोबारको राफसाफ सिडिएस एण्ड क्लिएरिङ लिमिटेडले रोक्का गरेको छ । साथै, आइतबार भदौ २८ को पनि दिउँसो २ बजेसम्म भएको सेयर कारोबारको राफसाफ रोकिएको छ।

नेप्सेको निर्देशनमा उक्त दुई दिनको उल्लेखित कारोबार अवधिको राफसाफ रोक्का गरेको सिडिएसका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 'ती कारोबारको राफसाफ नेप्सेले अर्को सूचना जारी नभएसम्मका लागि रोक्न भनेकाले सोही बमोजिम हुनेछ,' उनले भने । 

बिहिबार र आइतवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली 'टिएमएस' (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा प्राविधिक समस्या आएपछि कारोबार दिउँसो ५ बजेसम्म भएको थियो । नेप्सेको टिएमएसमा लग-इन गरेपछि ’डिएनए लगआउट’ भई अर्डर राख्न नमिल्ने लगायतका समस्या टिएमएसमा देखिएको थियो ।

न्यौपानेका अनुसार, उक्त दुई दिनमध्ये बिहिवारका धेरै कारोबार रद्द गर्नुपर्ने भएको छ । अर्कोतर्फ एकैपटक ठूलो संख्याका कारोबार रद्द गर्ने सुविधा अहिलेको  प्रणालीमा नभएकाले व्यक्तिले नै एक एक गर्दै सबै कारोबार हेरेर रद्द गर्नुपर्ने अवस्था छ । त्यसैले यो काम सक्न समय लाग्ने भएकाले पनि अर्को सूचना ननिकालेसम्म रोक्न नेप्सेले निर्देशन दिएको हो ।

सीडीएसले यसको जिम्मा कर्मचारीहरुलाई दिइसकेकाले केही दिनमै रद्द गनुपर्ने काम सकेर राफसाफमा लाग्ने न्यौपानेको भनाइ छ ।  

यसअघि पनि टिएमएसमा समस्या आएपछि सीडीएसले १३ सयवटा कारोबार दुई दिन लगाएर रद्द गरेको थियो । तर यसपटक रद्द गर्नुपर्ने कारोबार संख्या त्योभन्दा पनि धेरै रहेको बताइएको छ । यसकारण ती दुई दिनको कारोबारको राफसाफका लागि लगानीकर्ताले केही दिन कुर्नुपर्ने भएको छ ।

हालसम्म विहिबारको कारोबारबाटै नेप्सेले करिब तीन हजारवटा कारोबार रद्द गर्न सिडीएसलाई तथ्या‌ंक उपलब्ध गराएको छ । त्यो संख्या थपिँदै गएकाले राफसाफका लागि कति दिन लाग्न भन्ने यकिन नभएको न्यौपानेले बताए । 

नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या आउँदा त्यस्ता कारोबार रद्द गर्नुपर्ने भएपछि सिडीएसलाई समेत राफसाफमा कठिनाई भएको उनी बताउँछन् ।