BIZMANDU
www.bizmandu.com

लकडाउन र निषेधाज्ञाले पाँच महिनादेखि लामो दुरीका गाडी बन्द, दसैंमा के हुन्छ?

२०७७ भदौ २८

लकडाउन र निषेधाज्ञाले पाँच महिनादेखि लामो दुरीका गाडी बन्द, दसैंमा के हुन्छ?
लकडाउन र निषेधाज्ञाले पाँच महिनादेखि लामो दुरीका गाडी बन्द, दसैंमा के हुन्छ?

Tata
GBIME
Nepal Life

               फाइल फोटो

काठमाडौं। यातायातसँग सम्वद्ध तीनवटै ट्रेड युनियन र व्यवसायीले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई भेटे।
भेटमा उनीहरुले असोज १ गतेदेखि सबै खालका सवारीसाधन चलाउनदिनुपर्ने माग गरे।

सरकारले भदौ मसान्तसम्म लामो दुरीका सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको छ। उक्त निर्णय अनुसार असोज १ गतेदेखि सबै दुरीका सवारीसाधन संचालन गर्न पाउनुपर्ने माग व्यवसायीको थियो। सरकारले कुनै निर्णय नगरे अवज्ञा गरेर यातायात चलाउने व्यवसायीले घोषणा गरेका छन्।

दसैं नजिकिएकाले पनि असोज १ बाटै सवारीसाधन संचालन गर्न व्यवसायीहरुले माग गरेका हुन्। विगतमा लाखौ यात्रु दसैं मनाउन उपत्यका बाहिरिने गर्छन। व्यवसायीहरुका लागि यो बेला आम्दानी गर्ने समय पनि हो। अघिल्लो बर्ष करिव २० लाखले दसैं मनाउन उपत्यका छाडेका थिए। यो बर्ष दसैंमा घर कसरी जाने चिन्तामा धेरै छन्। सामान्य अवस्था हुन्थ्यो भने दशैका लागि अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायी र यातायात व्यवस्था विभागवीच बैठक र छलफलहरु सुरु भइसक्थ्यो।

दसैंका लागि व्यवसायीले नयाँ गाडी किन्थे। अहिले त्यसको विपरित भएकै गाडी पनि थन्किएको पाँच महिना भइसकेको छ। दसैं अगाडि सार्वजनिक चल्ने नचल्ने टुंगो छैन्। तर व्यवसायी भने सरकारले अनुमति दिए गाडी चलाएर यात्रुलाई सुरक्षित रुपमा गन्तब्य पुर्‍याउने जिकिर गर्छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले सार्वजनिक यातायात खुला गरेर सुरक्षित रुपमा यात्रुलाई गन्तब्यमा पुर्‍याउने प्रतिवद्धता जनाउँछन्।

‘कोरोना नियन्त्रणमा आउने निश्चित छैन्। तर दसैंमा घर पुर्‍याउने जिम्मा हाम्रो भयो,’ उनले बिजमाण्डूसँग भने, ‘हामी स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार सवारी साधन चलाएर यात्रुलाई घरघरमा पुर्‍याउँछौं।’

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैंका लागि सवारी साधन खुला गरिने बताए। 'यातायात व्यवसायी, मन्त्रालय लगायत सरोकारवाला निकायसँग छलफल सुरु भैसकेको छ। दसैंमा सवारीसाधन खुलाउनुपर्छ,' उनले भने। सुरक्षित हिसावले सवारी साधन चलाउन गृहकार्य भइरहेको हमालले बताए।  इटिकेटिङ, स्वास्थ्य र सुरक्षाको मापदण्ड कडाइका साथ कार्यान्वयन , यात्रुहरुलाइ सचेतना  लगायतको तयारी  गरेर मात्रै बस संचालन गरिने विभागका अधिकारीहरुको बताउछन्। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगरे अवस्था भयावह हुन सक्ने उनीहरुको भनाइ छ।

यता सिटौलाले भने विश्वकर्मा पुजापछि सवारी साधन चलाउने बताए। महासंघले सर्कुलरनै जारी गरेर सवारी साधन चलाउने उनले बताए।'विश्वकर्मा पुजा व्यवसायी ,मजदुर, वर्कसप सबैको लागि ऐतिहासिक दिन हो। सार्वजनिक यातायात व्यवसायीले कोमामा गएको क्षेत्रलाई उठाउन अब अवज्ञाको विकल्प छैन्,' उनले भने। सिटौलाले सरकारले जोरविजोर प्रणालीबाट जिल्ला भित्र सवारीसाधन संचालन गर्ने निर्णय स्वागतयोग्य भएको बताउँदै लामो दुरीमा पनि यही अभ्यास आवश्यक रहेको धारणा राखे।