BIZMANDU
www.bizmandu.com

हजार विद्यालयमा आइटी ल्याब स्थापना गरिँदै, सम्झौता भएका ९३० मध्ये ७२५ ल्याबको काम पूरा

२०७७ भदौ २८

Tata
GBIME
Nepal Life

काठमाडौं। देशभरका एक हजार सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) स्थापनाको काम अघि बढेको छ।

शिक्षा मन्त्रालयसँगको समन्वयमा संचार तथा सूचना प्रविधि मन्त्रालयले देशका एक हजार सामुदायिक विद्यालयलाई प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो। तीमध्ये अहिले नौ सय ३० विद्यालयमा प्रयोगशाला स्थापनाको काम भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।

मन्त्रालयले विद्यालय छनोट गरी सूचना प्रविधि (आईटी) प्रयोगशाला स्थापनाको बाँकी काम अघि बढाउने जिम्मा दूरसंचार प्राधिकरणलाई दिएको छ।

सरकारले डिजिटल नेपाल अभियानअन्तर्गत सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउँदै शिक्षण विधिलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापनाको काम अघि बढाएको हो।

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार, हरेक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा चारवटा विद्यालयमा आइटी प्रयोगशाला स्थापना गर्ने काम अघि बढाइएको छ। 'सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५' बमोजिम छनोट भएका विद्यालयहरुमा प्रयोगशाला निर्माण भइरहेका हुन् 

प्रयोगशाला स्थापनाका लागि प्राधिकरणले भदौ २५ मा ओबिसीआइ/म्याक्स/नेपा जेभी (जोइन्ट भेन्चर) कम्पनीसँग सम्झौता गरेको छ। सातै प्रदेशमा निर्माण हुने ९ सय ३० विद्यालयका प्रयोगशालामा आवश्यक पर्ने उपकरणको आपूर्ति, जडान र सञ्चालन गर्नेगरी उक्त कम्पनीसँग सम्झौता भएको अर्यालले बताए।

कोभिड-१९ का कारण देशका अधिकांश सामुदायिक विद्यालयलाई क्वारेन्टिनका रूपमा प्रयोग भएका छन्। यसैले लकडाउन साथै निषेधाज्ञाका कारण समयमा नै प्रयोगशाला निर्माण हुन नसक्ने भएपछि प्राधिकरणले विद्यालय सुचारु भएको ४५ दिनभित्र काम सक्ने गरी सम्झौताको समयावधि थप गरेको जानकारी अर्यालले दिए।

उनका अनुसार, अहिलेसम्म सात सय २५ विद्यालयमा उपकरण जडान गरी प्रयोगशाला स्थापनाको काम पूरा भइसकेको छ। बाँकी रहेका विद्यालयमा पनि प्रयोगशाला स्थापनाको काम चाँडै सक्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

आपूर्तिकर्तासँग सम्झौताअनुसार कार्य सम्पादन भए नभएको जाँचबुझ गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरेको छ, जसले सम्झौता गरिएकामध्ये ५० प्रतिशत विद्यालयमा अनुगमन तथा निरीक्षण गरेको अर्यालको भनाइ छ। निरीक्षण गरिएका विद्यालयमा आपूर्तिकर्ताको काम सन्तोषजनक भेटिएको उनले बताए।

सरकारले सभा, सम्मेलन, तालिम तथा गोष्ठीलगायतका गतिविधि गर्न सरकारले प्रतिबन्ध लगाएकाले प्रयोगशालाका लागि आवश्यक जनशक्ति तयार गर्न समस्या परेको प्राधिकरणले जनाएको छ।

 

DV.load(“https://www.documentcloud.org/documents/7207532-Installed-IT-Lab-School-List.js”, {
responsive: true,
height: 650,
container: “#DV-viewer-7207532-Installed-IT-Lab-School-List”
});

Installed IT Lab School List (PDF)

Installed IT Lab School List (Text)