BIZMANDU
www.bizmandu.com

प्रतिस्पर्धी अमेजनसँग साझेदारीको हात बढाए अम्बानीले, रिलायन्समा २० अर्ब डलर लगानीको प्रस्ताव

२०७७ भदौ २६

प्रतिस्पर्धी अमेजनसँग साझेदारीको हात बढाए अम्बानीले, रिलायन्समा २० अर्ब डलर लगानीको प्रस्ताव
प्रतिस्पर्धी अमेजनसँग साझेदारीको हात बढाए अम्बानीले, रिलायन्समा २० अर्ब डलर लगानीको प्रस्ताव

Tata
GBIME
Nepal Life

अमेजनसँग प्रतिस्पर्धामा खरो उत्रन भन्दै गत हप्तामात्र भारतको रिटेल बिजनेस जायन्ट फ्युचर ग्रुपको थोक तथा खुद्रा व्यापार करिब ४ खर्ब रुपैयाँमा खरिदको डिल गरेका मुकेश अम्बानीले रिलायन्स रिटेलको ठूलो हिस्सा अमेजनलाई नै बिक्रीको प्रस्ताव गरेका छन्।

भारतीय संचारमाध्यमहरुका अनुसार, हालसम्म अमेजनसँग कडा प्रतिस्पर्धाको मुडमा रहेका अम्बानीले २० अर्ब अमेरिकी डलरमा आफ्नो रिटेल विङ रिलायन्स रिटेल भेन्चर लिमिटेडको ४० प्रतिशत अमेजन डटकम इंकलाई बिक्रीको इच्छा जाहेर गरेका हुन्। 

यस विषयमा अमेजनले भारतको सबैभन्दा ठूलो व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजसँग छलफल गरेको र स्वामित्व खरिदारीका विषयमा नेगोसिएट गर्न रुचि देखाएको यससँग सम्बन्धित अधिकारीले बताएको हिन्‍दुस्तान टाइम्सले उल्लेख गरेको छ।

यो डिल सफल भएमा भारतमा एउटा रिटेल साम्राज्य मात्र खडा हुने छैन, विश्वकै धनी जेफ बेजोस र एशियाका धनाढ्य मुकेश अम्बानीलाई प्रतिद्वन्द्वीबाट साझेदार बनाउनेछ। ब्लुम्बर्गको तथ्यांक अनुसार २० अर्ब डलरको यो डिल भारतमा र अमेजनका लागि समेत हालसम्मकै ठूलो हुनेछ।

भारतमा अझै पनि धेरैजसो मान्छेले सडक-गल्लीका साना पसलहरुमा नै किनमेल गर्न रुचाउँछन्। यसका बाबजुद यो डिलमा रुचि देखाउनुले अमेजनले स्थानीयरुपमा बलियो पकड बनाएको साझेदारको आवश्यकता महसुस गरेको बुझिएको छ। 

१० खर्ब डलर हाराहारीको अनुमान गरिएको भारतीय रिटेल इन्डष्ट्रिमा अनलाइन किनमेलको हिस्सा अझै पनि असाध्यै  सानो छ। यसकारण अमेजनले भारतमा आफ्नो बजार विस्तारको ठूलो महत्त्वाकांक्षा पालेको छ। यो डिलबाट अमेजनलाई रिलायन्सले भारतमा बजार विस्तारको महत्त्वाकांक्षा पूरा गर्नमा सघाउ पुर्‍याउने बताइएको छ।

साथै, यो डिलले अमेजन र रिलायन्स दुवैले एक अर्काको बलियो पक्षको लाभ हासिल गर्नेछन्। मुम्बईस्थित बेक्स्ले एडभाइजरका प्रबन्ध निर्देशक उत्कर्ष सिन्हा भन्छन्, 'अमेजन मजबुत वेयरहाउजिङ र चुस्त आपूर्ति श्रृंखलामा सबल छ ।' अर्कोतर्फ, रिलायन्स रिटेलसँग पनि बलियो स्थानीय पकड छ र रिटेल व्यापारमा यसले आक्रामक ढंगले व्यवसाय विस्तार गरिरहेको छ।  

हालैमात्र रिलायन्स रिटेलले खरिद गरेको फ्युचर ग्रुपको रिटेल भर्टिकलमा भारतका ४२० शहरमा विभिन्न व्यवसाय संचालनमा छन्। यसबाट मात्र ग्रुपले वार्षिक ४.६ अर्ब अमेरिकी डलर आम्दानी गर्दै आएको फोर्ब्सले उल्लेख गरेको छ। 

फ्युचरको रिटेल विङ्समा हाइपर मार्केट चेन 'बिग बजार', फुड रिटेलर 'फुड हल', कन्भेनियन्स स्टोर चेन 'इजीडे' इत्यादिका साथै 'एफबीबी' (फेसन बिग बजार), 'सेन्ट्रल' लगायतका ब्रान्डमा भारतभर १८०० चेन स्टोरहरु संचालित छन्। यी सम्पूर्णको स्वामित्व अब अम्बानीको रिलायन्स रिटेलमा आएको छ।

यस्तै, रिलायन्स रिटेलले भारतमा सुपरमार्केट, भारतको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स चेन स्टोर, फास्ट फेसन आउटलेटहरु, अनलाइन ग्रोसरी जियोमार्ट लगायत संचालन गर्छ। भारतका सात हजार शहरमा १२ हजार हाराहारी स्टोर समेत संचालन गरेको रिलायन्स रिटेलले यस वर्ष २०२० मार्चयता १६ खर्ब ३० अर्ब भारु (२२ अर्ब डलर) आम्दानी गरिसकेको जनाइएको छ।

यसअघि चीनमा एक्लै स्थानीय प्लेयरहरुसँग प्रतिस्पर्धा गर्न खोज्दा असफल भएको तितो अनुभव अमेजनसँग भएकाले रिलायन्स रिटेलको प्रस्तावलाई यसले सकारात्मक रुपमा लिने अनुमान गरिएको छ । अलिबाबा ग्रुप होल्डिङ र जेडी डटकम इंकसँग एक्लो प्रतिस्पर्धीका रूपमा अघि बढ्न खोज्दा चीनमा अमेजन फ्लप भएको थियो।

रिलायन्सका लागि पनि यो डिलले अलिबाबा ग्रुपजस्तै भारतमा इ-कमर्स जायन्ट खडा गर्ने अम्बानीको महत्त्वाकांक्षालाई थप हौसला दिनेछ।

रिलायन्स रिटेलले यसअघि नै अमेरिकी प्राइभेट इक्विटी फर्म सिल्भर लेक पार्टनरलाई एक अर्ब डलर लगानीका लागि सहमत गराइसकेको छ, जसमा रिलायन्स रिटेलको मूल्यांकन ५७ अर्ब डलर भएको थियो। यस्तै, अमेरिकी प्राइभेट इक्विटी फर्म केकेआर एन्ड कम्पनीसँग पनि एक अर्ब डलर लगानीको बातचित अघि बढेको छ। ब्लुमवर्गको समाचारअनुसार, अमेरिकाकै प्राइभेट इक्विटी फर्म एल क्याटरटोन पनि रिलायन्स रिटेलमा लगानी गर्ने विचारमा छ।

यसअघि अम्बानीले उनको टेक्नोलोजी भेन्चर जियो प्लेटफर्ममा पनि फेसबुक र गूगल लगायतका कम्पनीहरुलाई भित्र्याउँदै २० अर्ब डलर लगानी उठाएका थिए। त्यही क्रममा पछिल्लो छ महिनामै आफ्नो नेटवर्थ २४ अर्ब डलरभन्दा धेरैले वृद्धि गरेका अम्बानीको रिलायन्स इन्डष्ट्रिजको मूल्यले पनि रेकर्ड उचाई हासिल गरिरहेको छ। मुम्बई स्टक एक्सचेन्जमा गत अप्रिल २२ यता ७.१ प्रतिशतले सेयर मूल्य बढिसकेको रिलायन्स इन्डष्ट्रिजको बजार पुँजीकरण २०० अर्ब डलर नाघिसकेको छ।

जियो प्लेटफर्मपछि रिलायन्सको रिटेल एकाइ लगानीकर्ताहरुका लागि बोर्डमा आउने आगामी भेन्चर हुने अम्बानीले गत जुलाईमा सेयरहोल्डरहरुसँग बताएका थिए।