BIZMANDU
www.bizmandu.com

पञ्जाब नेशनल बैंकको २ अर्ब डलर डुबाएका नीरव मोदी अदालतमा असामान्य, लासजस्तै स्थिर देखिए

२०७७ भदौ २५

Tata
GBIME
Nepal Life

लण्डन। भारतीय पञ्जाब नेशनल बैंक (पीएनबी) को २ अर्ब डलर ठगी गरेका हिरा कारोबारी नीरव मोदी वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा भारत सुपुर्दगीविरुद्ध मुद्दा लडिरहेका छन्। ४९ वर्षीय मोदीको सुनुवाइका क्रममा भारतीय जेलको अवस्था र उनको आफ्नै मानसिक अवस्थाका बारेमा चर्चा भएको छ।

मोदीको मानसिक स्वास्थ्य अवस्थामाथि नै प्रश्न उठेपछि न्यायाधीशले निर्देशन दिए- 'प्लिज तपाईँ केही हाउभाउ देखाइरहनुस्।'

न्यायाधीश स्यामुअल गुजको अध्यक्षतामा गठन भएको इजलासले पाँच दिन सुनुवाइ गर्ने तय गरेको छ। अहिले तेस्रो दिनको सुनुवाई चलिरहेको छ। अहिले मोदीको बचाउमा बहस चलिरहेको छ। 

अर्को पक्षले भने नीरव मोदीले बैंक ठगी मात्रै होइन, सम्पत्ति शुद्धीकरणसमेत कसुर गरेको आरोप लगाइरहेको छ। सुनुवाइका क्रममा मोदीको बानी बेहोरा आममान्छेको जस्तो साधारण देखिएको थिएन। त्यही भएर अदालतले आफ्नो हाउभाउ जारी राख्न मोदीलाई भनेको हो।

मोदी अहिले पनि जेलमै छन्। गत वर्षको मार्चमा उनी पक्राउ परेका थिए। अदालतमा भइरहेको बहस उनले भर्चुअल्ली हेरिरहेका छन्।

समाचार एजेन्सीहरुका अनुसार, बहसका दौरान मोदी एकदमै लासजस्तो स्थिर देखिएका थिए। भिडियो बन्द भयो कि भनेर अदालतले केही समय सुनुवाइ रोकेर प्राविधिक जाँच गर्नसमेत लगाएको थियो। तर मोदी नै लासजस्तो स्थिर देखिएपछि उनलाई हाउभाउसहित प्रस्तुत हुन भनिएको थियो। तैपनि उनी स्थिर नै भइरहे।

मोदी पक्षले मुम्बई जेलको अवस्था एकदमै खराब रहेकाले उनलाई भारत पठाउन नहुने दलिल पेस गरेको थियो। त्यस क्रममा जेलको फोटोहरु पनि प्रस्तुत गरिएको थियो।

वकिलहरुले मोदी मिडिया ट्रायलको शिकार भएको भन्दै उनले बैंक ठगी नगरेको दाबी गरिरहेका थिए। ठगी नगरेपछि उनले सम्पत्ति शुद्धीकरण हुने काम पनि नगरेको मोदी पक्षका वकिलहरुको दाबी थियो।