BIZMANDU
www.bizmandu.com

टेस्लाका मालिक एलन मस्कले ६ घण्टामै गुमाए १६ अर्ब डलर, कसरी गुमाए यति धेरै सम्पत्ति?

२०७७ भदौ २४

Tata
GBIME
Nepal Life

मंगलबारको सेयर कारोबारमा कार निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सिइओ एलन मस्कको ब्यक्तिगत सम्पत्ति १६ अर्ब डलरले तल झर्‍यो।

६ घण्टाको कारोबारमा उनको सम्पत्ति १६ अर्ब डलरले कमी आएको छ। उनको कम्पनीको सेयरमा आएको गिरावट इतिहासकै खराबमध्येको एक रहेको सेयर विश्लेषकहरुले बताएका छन्।

यसअघि टेस्लाको सेयरमा लगातार भइरहेको वृद्धिले मस्कलाई गत अगस्टमा विश्वकै तेस्रो धनाढ्यको स्थानमा समेत पुर्‍याएको थियो। जेफ बेजोस र बिल गेट्सपछि उनी विश्वकै तेस्रो धनी बनेका थिए। मंगलबार 'एस एण्ड पी ५००' मा टेस्लाको सेयर २१ प्रतिशतले तल झरेको छ, जुन एकैदिनमा भएको निकै कारोबारमा असाध्यै ठूलो गिरावटका रूपमा लिइएको छ। टेस्लाका प्रतिस्पर्धी कम्पनीहरु निकोला कर्पोरेसन र जनरल मोटर्स कम्पनीबीच साझेदारी हुन लागेको खबरसँगै टेस्लाको सेयरमा धक्का पुगेको हो।

गत शुक्रबारसम्म कम्पनीको सेयरले उचाई लिइरहेको थियो। त्यसले कम्पनीको मार्केट भ्यालुलाई बिगतमा अरु कुनै पनि कार मेकरको भन्दा बढी बनाइदिएको थियो। तर मंगलबार भने कम्पनीलाई निकै ठूलो झट्का दिने गरी ओरालो लागेको हो।

सेयरमा यति ठूलो गिरावट आए पनि मस्कको सम्पत्ति हाल पनि ८२.२ अर्ब डलर रहेको बताइएको छ। स्पेस एक्स र द बोरिङ कम्पनीले यसै वर्षमात्र ५४.७ अर्ब डलर कमाएको छ। यो जेफ बेजोस्को यो वर्षको कमाई ७१.१ अर्ब डलरभन्दा थोरै मात्र कम हो । तर अब मस्क पाँचौ धनाढ्यका रूपमा लग्जरी चेन लुई भुटोका मालिक बर्नार्ड आर्नोल्टभन्दा पछि परेका छन्।

मंगलबार एस एण्ड पि ५०० मा टेस्ला ओरालो लाग्दा अमेरिकी टेक जायन्ट मानिएका अन्य उद्यमीहरुलाई पनि असर परेको देखिएको छ। अमेजनका सीईओ जेफ बेजोसकै सम्पत्तिमा पनि ७.९४ अर्ब डलरले गिरावट देखिएको छ। तर पनि उनी विश्वकै नम्बर १ धनाढ्य नै कायम रहेका छन्। उनको सम्पत्ति १८६ अर्ब डलर रहेको छ।

मंगलबारको कारोबारमा फेसबुकका सिइओ मार्क जुकरबर्गले पनि ४.२६ अर्ब डलर गुमाए।  तर माइक्रोसफ्टका पूर्व सिइओ स्टिभ बालमेरले ३.८९ अर्ब डलर गुमाउँदा जुकरबर्ग पुनः तेस्रो स्थानमा उक्लन सफल भएका छन्।

एशियाका सबैभन्दा धनी भारतीय उद्योगपति मुकेश अम्बानीले भने ८०.४ अर्ब डलर सम्पत्ति जोड्दै एलन मस्कभन्दा एक श्रेणी मात्र पछि परेका छन्। अम्बानीको सम्पत्तिमा सन् २०२० यता मात्रै २१.७ अर्ब डलरको वृद्धि देखिएको छ।

सन् २०२० मा धेरै सम्पत्ति गुमाउनेमा लक्जरी सामाग्री उत्पादक कम्पनी लुई भुटोका अध्यक्ष तथा प्रमुख कार्यकारी बर्नार्ड आर्नोल्ट छन्। उनले सन् २०२० सुरु भए यता १९.८ अर्ब डलर गुमाइसकेका छन्। तर पनि उनी हाल विश्वका चौथो धनी व्यक्ति कै स्थानमा कायम रहन सफल छन्।

यसैगरी क्लोथिङ चेन जाराकी संस्थापक अमान्सियो ओर्टेगाको सम्पत्ति पनि १७.७ अर्ब डलरले घटेको छ।  प्रसिद्ध लगानीकर्ता वारेन बफेटको सम्पत्तिमा पनि ६.८५ अर्ब डलरले कमी आइसकेको छ।