BIZMANDU
www.bizmandu.com

क्लासिक टेकले इन्ट्रानेट सेवा दुर्गम स्थानसम्म पुर्‍याउँदै, कठिन भेगमा समेत जडान

२०७७ भदौ २३

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले कोरोना महामारीको विषम परिस्थितिमा पनि दुर्गम भेगमा सेवालाई तीव्र बिस्तार गरिरहेको छ।

कम्पनीले  हालको अवस्थामा इन्टरनेट सेवाका साथै विभिन्न संघसंस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीले पूर्वको ताप्लेजुङदेखि पश्चिममा बझाङ र बाजुरासम्म पनि इन्ट्रानेट सेवा बिस्तार गरेको बताएको छ। भौगोलिक रूपमा कठिन र चुनौतीपूर्ण क्षेत्रहरुमा समेत आफ्नो सेवा उपलब्ध गराएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अनुसार इन्ट्रानेट सेवा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्ने गरिन्छ। लकडाउनको समयमा पनि कम्पनीले जडान कार्यलाई निरन्तरता दिएको बताएको छ।

इन्ट्रानेट सेवा कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा पनि उपयोग गर्न सकिने कम्पनीले जनाएको छ। देशका दुर्गम भेगहरुमा  प्रयोगमा रहेको टेलिमेडिसिन सेवाका लागि इन्ट्रानेटकै माध्यमबाट उपयोग गरेर डाक्टरले बिरामीहरुको उपचार गर्न सक्छन्।

‘हामीले अहिलेको कठिन परिस्थितिमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं। हामी हाम्रा ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिनका लागि निरन्तर प्रतिबद्ध छौं,’ कम्पनीका प्रतिनिधिले भने ।

क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको बताएको छ। यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत सम्भारका लागि पनि तत्काल कर्मचारीहरु उपलब्ध गराउने गरेको जारी विज्ञप्तिमा जनाइएको छ।