BIZMANDU
www.bizmandu.com

निषेधाज्ञाले घट्यो दूधको बिक्री, पाउडर बनाउन थाले डेरी उद्योग, भुक्तानी पनि प्रभावित


निषेधाज्ञाले घट्यो दूधको बिक्री, पाउडर बनाउन थाले डेरी उद्योग, भुक्तानी पनि प्रभावित
निषेधाज्ञाले घट्यो दूधको बिक्री, पाउडर बनाउन थाले डेरी उद्योग, भुक्तानी पनि प्रभावित

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञाले बजार ठप्प हुँदा दूधको बिक्री घटेपछि डेरीहरू पाउडर बनाउनतर्फ लागेका छन्। किसानबाट संकलित दूधलाई उद्योगमा प्रशोधन र प्याकेजिङपछि बजारमा पठाउने गरिन्छ। अपेक्षित परिमाणमा बिक्री हुन छाडेपछि विकल्पमा पाउडर बनाउन थालिएको हो। 

यतिबेला बजारमा मागकै अनुपातमा आपूर्ति गरिरहँदा पनि बिक्री घटेर कारोबार प्रभावित भएको डेरी उद्योगहरूले जनाएका छन्। खपत घटेपछि उद्योगहरूले पाउडर बनाउन थालेका छन्। कारोबार घट्दा उद्योगहरूले किसानलाई दिने भुक्तानी पनि प्रभावित भएको छ।

फ्रेस दूध पर्याप्त नपाइँदाको विकल्पमा डेरीहरूका पाउडर र बटर टोनिङ गरेर बजारमा पठाउने दूध  बनाउन काम लाग्छ। कोरोनाको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि विहानको समयमात्र अतिआवश्यक सेवाहरु संचालनमा छन्। स्थानीय प्रशासनले केही समय डेरी खोल्न दिए पनि संकलन भइरहेको अनुपातमा बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएनले  बढी हुने दूधलाई पाउडर बनाउन थालेका हुन्। 

देशभर संकलन र कारोबार हुनेमा दूध र दुग्धजन्य पदार्थको मुख्य बजार काठमाडौं उपत्यका हो। डेरी उद्योगहरूको वार्षिक कारोबारमा ६० प्रतिशत हिस्सा काठमाडौं उपत्यकाको छ। दुई साताअघि पशुपालकबाट दूधको उत्पादन कम हुँदा नेपाल डेरी एसोसिएसनले स्टकमा रहेको पाउडर र बटर  टोनिङ गरेर बजारको माग पूरा गरेको थियो।

टोनिङ गरेर पठाउँदा पनि माग उच्च भइरहेको थियो। निषेधाज्ञायता भने बजार घटेको छ। आपूर्तिको परिमाण नघटाउँदा पनि बिक्री घटेपछि डेरीहरूले विकल्प खोजेका हुन्। 'बिक्री घटेको घटेकै छ। विकल्पमा फ्रेस दूधलाई पाउड् बनाउन पठाइरहेका छौं,' नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले भने, 'किसानहरुलाई पनि सकभर  बजारमा पठाउने फ्रेस दूधको परिमाण घटाउन भन्दैछौं।' 

उनका अनुसार डेरी एसोसिएसनसम्बद्ध उद्योगहरूले किसानबाट सामान्य समयमा दैनिक ३१ लाख लिटर दूध उठाउँछन्। गत महिनासम्म २४ लाख लिटर संकलन हुँदै आएको थियो। यतिबेला बढी भएको दूधलाई पाउडर बनाउनका लागि पोखरा पठाउने गरेको उनले बताए। 

पाउडर र बटरको पुरानो स्टक करिब डेढ अर्ब रुपैयाँ हाराहारीको छ। पाउडर बनाउनु बाध्यता रहेको उनले बताए। 'लकडाउनमा बिक्री ५० प्रतिशत थियो। अहिले घटेर ३० प्रतिशतमात्र कारोबार भइरहेको अवस्था छ,' उनले भने। लकडाउन हटेपछि दूध र दुग्धजन्य पदार्थको व्यापार ७० प्रतिशत हुन थालिसकेको थियो। निषेधाज्ञाको सुरुवातमा सबैतिर  गरेर डेरी उद्योगहरूलाई करिब ५ करोड रुपैयाँको घाटा भएको उनले बताए। 
डेरी उद्योगहरूमा ठूलो बजार हिस्सा सरकारी कम्पनी दुग्ध विकास संस्थान (डीडीसी) को छ।

निषेधाज्ञा अघि दैनिक ८२ हजारदेखि ८५ हजार लिटरसम्म कारोबार गर्दै  आएको डीडीसीको बिक्री घट्दै ७६ हजार लिटरको हाराहारीमा आइपुगेको प्रबन्ध निर्देशक रुद्रप्रसाद पौडेल बताए। 'किसानबाट उठाउने दूधको परिमाण बढेको छ। कुनै दिन एक लाख १५ हजार लिटरसम्म संकलन हुन्छ,' उनले भने, 'बिक्री भने ओह्रालो लाग्दैछ।' 

निजी क्षेत्रले किसानबाट उठाउने परिमाण घटाउँदा डीडीसीलाई बेच्न चाहने किसानको संख्या बढेको छ।  गत सातादेखि बुटवलबाट करिब ३० हजार लिटर दूधको पाउडर बनाउन सुरु गरेको पौडेलले बताए। 

उपत्यकामा बिक्री नभएकाले उपत्यका  अन्तर-आयोजना बुटवलबाट आउने १३ देखि १५ हजार लिटर दूधलाई डीडीसीले पाउडर बनाउँदैछ। विराटनगरमा दैनिक २५ हजार लिटर दूधको पाउडर बन्ने गरेको छ। हाल दही र घ्युको बिक्री भने सन्तोषजनक नै छ। 

निषेधाज्ञा हटेर जनजीवन सामान्य हुने थालेपछि दूध र दुग्धजन्य पदार्थको कारोबारमा सुधार आउने अपेक्षा गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए। बिहानमात्रै बिक्री गर्न दिँदा कारोबारमा मर्का परेको भन्दै डेरी व्यवसायीले सरकारसँग साँझ पनि बेच्न दिइनुपर्ने माग गरेका छन्।