BIZMANDU
www.bizmandu.com

२२ वटा बैंकको ऋण घट्दा एनआइसीको पौने १३ अर्बले बढ्यो, इन्भेष्टमेन्ट पछिपछि

२०७७ साउन २७

२२ वटा बैंकको ऋण घट्दा एनआइसीको पौने १३ अर्बले बढ्यो, इन्भेष्टमेन्ट पछिपछि
२२ वटा बैंकको ऋण घट्दा एनआइसीको पौने १३ अर्बले बढ्यो, इन्भेष्टमेन्ट पछिपछि


Tata
GBIME
Nepal Life

काठमाडौं। प्रणालीकै ऋण घटिरहेका बेला दुई बैंकले भने लगानी बिस्तार बढाएका छन्। सञ्चालनमा रहेका २७ बैकको ऋण लगानी नयाँ आर्थिक वर्ष लागेपछि कुल ३२ अर्बले घटिसकेको छ। 

तर दुई बैंकको भने बढेको छ। समग्रमा पाँच बैंकको ऋण बढे पनि दुई बैंकको केही माथि छ। एनआइसी एसिया बैंकको ऋण १२ अर्ब ७५ करोड रुपैयाँले बढेको छ। साउन १ देखि साउन २३ गतेसम्म एनआइसीले यो ऋण बढाएको हो।

'हामीले आधार दर कम भएपछि ऋणको ब्याज घटाएर नयाँ स्किम ल्यायौं। त्यसैले सर्वसाधारणलाई तानेर ऋण बढेको हो,' एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बिजमाण्डूसँग भने, 'अहिले बढेको ऋण एकदमै सानो सानो आकारको छ। ९० प्रतिशत ऋण एक करोड रुपैयाँभन्दा कमको छ।' 

उनले ऋण बिस्तार गर्न तरलताले पनि साथ दिएको बताए। 'हामीलाई हाम्रो नेटवर्क, कर्मचारी र ग्राहक आधारले साथ दिएको छ,' उनले भने, 'अलिकति बढाउँ भन्दा पनि राम्रै बढाउन सकिन्छ।' 

कतिपय बैंकरले भने एनआइसी एसियाले ब्याज दरमा चलाखी गर्दा ब्यापार बढाउन सफल भएको बताएका छन्। उनीहरुका अनुसार, एनआइसीले ६ प्रतिशत हाराहारीको स्प्रेडलाई ४.४ प्रतिशतमा झार्न सस्तोमा ऋण दियो। ऋण बिस्तारका लागि चाहिने निक्षेप जोहो गर्न मुद्दतीको ब्याज घटाएन।

'यसपाली पनि सबैलाई माथ ख्वाएर एनआइसीले ब्यापार बढायो,' एक बैंकरले भने, 'उसले करिब ६ महिनाको ब्यापार २३ दिनमै गरिदियो।'

यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकले बढाएको छ। इन्भेष्टमेन्टले ४ अर्ब ८४ करोड रुपैयाँले ऋण बढाएको छ। यस बीचमा इन्भेष्टमेन्टले कर्पोरेट ग्राहक आफूतिर तानिरहेको छ। यसबाहेक मेगा, सिभिल र एनएमबीले पनि ऋण बढाएका छन्। एनएमबिले जम्मा १५ करोड बढाएको छ। मेगाले एक अर्ब ३४ करोड र सिभिलले एक अर्ब २४ करोड रुपैयाँले ऋण बढाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, बाँकी सबै बैंकको ऋण लगानी घटेको छ। सबैभन्दा उच्च दरले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ८२ करोड रुपैयाँले घटेको हो। यसबाहेक एभरेष्ट बैंकको ६ अर्ब ३२ करोड र नेपाल एसबीआइ बैंकको ५ अर्ब २९ करोडले ऋण घटेको छ।

केही बैंकरले भने ऋण खोसाखोसका कारणले एउटा बैंकबाट अर्कोमा सरेको बताएका छन्। 'राष्ट्र बैंकले ०.१५ प्रतिशत शुल्क लिएर ऋण सार्न पाउने विकल्प दिएको छ। यसले गर्दा एउटा बैंकले अर्काको चोरिरहेका छन्,' ऋण घटेको एक बैंकका प्रमुख कार्यकारीले भने, 'राष्ट्र बैंकका कारणले यहाँ ब्यापार गर्न गाह्रो भएको छ।'

एनआइसी एसियाले ऋण मात्रै होइन निक्षेप पनि राम्रैसँग बढाएको छ। बैंकले यसबीचमा १५ अर्ब २६ करोड रुपैयाँ निक्षेप बढाएको छ। यस बीचमा १० बैंकको निक्षेप बढेको छ भने बाँकीको घटेको छ। २७ बैंकको कुल १० अर्ब ६३ करोड रुपैयाँले निक्षेप घटेको छ।

सबैभन्दा बढी सरकारी स्वामित्वका बैंकहरुको निक्षेप घटेको छ। राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ७ करोडले निक्षेप घटेको छ। नेपाल बैंकको ६ अर्ब ५२ करोड र कृषि विकास बैंकको ४ अर्ब ४१ करोडले निक्षेप घटेको छ।

'अहिले नयाँ ऋण अलिअलि मात्र गएको छ। जुन हिसाबले केही बैंकले ऋण बढाएका छन् ती सबै खोसिएको हो,' बैंकर्स संघ कार्य समितिमा रहेका एक बैंकरले भने, 'यसले केही दिन त राम्रै होला तर लामो समय चल्दैन।'

यस बीचमा ब्याज दर घटेको स्किम ल्याएका कतिपय बैंकहरुको ऋण घटेको छ। उनीहरुले अर्को बैंकको ऋण स्वाप गर्न सकिने सुविधा सहितको स्किम ल्याएका थिए, तैपनि उनीहरुकै घटिरहेको छ।

चौथो नम्बरमा ग्लोबल आइएमइको घटेको छ। बैंकको करिब ४ अर्बले घटेको हो। यसपछि कुमारी, कृषि विकास, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयनको पनि ऋण घटेको छ।