BIZMANDU
www.bizmandu.com

सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौं अवतरण, ५० करोडमा किनेको थियो सिआरजे जहाज


सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौं अवतरण, ५० करोडमा किनेको थियो सिआरजे जहाज
सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौं अवतरण, ५० करोडमा किनेको थियो सिआरजे जहाज


Tata
GBIME
Nepal Life

काठमाडौं। पाँच वर्ष अगाडि मुलुकमा पहिलोपटक जेट इन्जिन जहाजमार्फत उडान गरेको सौर्य एयरलाइन्सले बम्बार्डियर कम्पनीको थप एउटा सिआरजे जहाज थपेको छ। सोमबार कम्पनीको थप एउटा ५० सीट क्षमताको सिआरजे-२०० जहाज काठमाडौं आइपुगेको छ।

यस अघि ५० सिट क्षमताको दुईवटा सिआरजे जहाज संचालन गर्दै आएको कम्पनीको जहाज संख्या तीनवटा हुनेछ। गत वर्षकै योजना अनुसार  सोमबार नयाँ जहाज ल्याएको कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बताए। क्षमता विस्तारका लागि कम्पनीले थप तीनवटा ७२ सिट क्षमताको एटिआर-७२ जहाज खरिद गर्न लागेको उनले जानकारी दिए।

'कम्पनीको क्षमता विस्तार गर्ने उद्देश्यले जहाज थपेका हौं। कोभिड-१९ संक्रमण नियन्त्रणमा आएपछि यो जहाजमार्फत उडान गर्नेछौं,' प्रबन्ध निर्देशक भट्टराईले भने, 'अब तीनवटा सिआरजे-२०० सँगै निकट भविष्यमा तीनवटा एटिआर-७२ सिरिजका जहाजमार्फत सेवा दिने योजनामा छौं।'

गत वर्ष बम्बार्डियर कम्पनीको सिफारिसमा कम्पनीले यो जहाज खरिद गरेको उनले बताए। 'यो जहाज ल्याउनका लागि गत वर्षदेखि नै तयारी गरेका थियौं। स्लोभानियास्थित बम्बार्डियरको सर्भिस सेन्टरबाट जहाज ल्याइएको हो,' उनले भने। उनका अनुसार कम्पनीले करिब ५० करोड रुपैयाँमा यो जहाज खरिद गरेको हो।     

यस अघि दुईमध्ये इन्जिन बिग्रिएर ग्राउण्डेड रहेको एउटा सिआरजेको इन्जिन मर्मतका लागि विदेश पठाइसकिएको उनले बताए। उडान खुला भएपछि विराटनगर, नेपालगञ्ज, धनगढी, भद्रपुर र भैरहवा लगायतका पाँच गन्तब्यमा उडान गर्ने योजना रहेको उनले सुनाए।

एटिआर संचालनमा ल्याएपछि दुईवटा जेट इन्जिन जहाजमार्फत पोखरा र भैरहवा लगायत विभिन्न पर्यटकीय गन्तब्यमा उडान गर्ने कम्पनीको योजना छ। उनका अनुसार कम्पनीले निकट भविष्यमा एटिआरमार्फत धनगढी, नेपालगञ्ज, सिमरा र भरतपुर लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको छ।

सोमबार अवतरण भएको जहाजको भन्सार, दर्ता, लगायतको काम बाँकी नै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभागले जनाएको छ। जहाजको अवस्थाबारे विस्तृत अध्ययनका आधारमा जहाजको दर्ता नम्बर कम्पनीको एओसी (उडान संचालन पत्र)मा थपिने विभागले जनाएको छ।