काठमाडौं। आपूर्ति सहज हुन थालेपछि जिउँदो कुखुरा र मासुको मूल्य पुरानो लयमा फर्कन थालेको छ।
दुई साता यता कुखुराको मासुको मूल्य घट्न थालेको हो। पोल्ट्री संघले शुक्रबारदेखि बजारमा उपभोक्ता मूल्य भन्दै नयाँ मूल्य लागू गरेको छ। हाल कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँमा आइपुगेको पोल्ट्री संघका अध्यक्ष जंगबहादुर बीसीले बताए।
पछिल्लो समय बजारमा कुखुरा उत्पादन नहुँदा मासु प्रतिकेजी ४ सय रुपैयाँसम्म पुगेको थियो। साउन दोस्रो सातादेखि नयाँ लट कुखुरा बजारमा आपूर्ति हुन थालेपछि प्रतिकेजी १५ रुपैयाँले मूल्य घटेर प्रतिकेजी ३ सय ७५ रुपैयामा बिक्री हुँदै आएको थियो। त्यसयता प्रतिकेजी १५ रुपैयाँले हप्तामा २ पटक मूल्य घट्दै ३ सय ३० रुपैयाँ आइपुगेको छ।
मासुको मूल्य दुइ सातामा प्रतिकेजी ४५ रुपैयाँले घटेको पाइएको छ। हाल जिउँदोको मूल्य प्रति कुखुरा ३० रुपैयाँले घटेको छ। गत महिना जिउँदो कुखुरा २ सय ६० रुपैयाँसम्म पुगेको थियो। गत साता प्रतिकुखुरा १० रुपैयाले घटेर २ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको थियो।
यति बेला लकडाउनपछि सुरु गरेका नयाँ लटका कुखुरा बजारमा आउने क्रम रहेको छ । कुखुरा उत्पादन भएर आपूर्ति सहज भइरहदा बजारमा खपत भने हुन सकेको छैन। खपत नभएपछि मासुको मूल्य घट्दै जाने उनले अध्यक्ष बीसीले जानकारी दिए।
लकडाउनका कारण रोकिएको उत्पादन पुनः गत महिनादेखि सुरु गरेका थिए। बजारमा मासुको अभाव देखिन थालेपछि किसान र व्यवसायीहरु फर्महरुले चल्ला हाल्न थालेका थिए। उक्त चल्ला ४५ दिनमा खानयोग्य कुखुरा भएर बजारमा आउन थालेपछि मूल्य घट्न थालेको छ।
लकडाउनको समयमा लागत मूल्यसमेत उठ्न छाडेपछि कुखुरापालक किसान र पोल्ट्री फर्महरुले उत्पादन कम गर्न गरेका थिए। जसले गर्दा उत्पादन कम भएर मासुको अभावसगै मूल्य निरन्तर बढ्न थालेपछि पुनः उत्पादन बढाएका थिए।
कुखुरापालक किसान र पोल्ट्री फार्मले उत्पादन बजारमा ल्याउदा थोकमा मूल्य भने कम नै हुने गरेको छ। लकडाउनमा मूल्य कम र खपत पनि घट्दा घाटा व्योहोर्दै आएका किसानहरुको फेरि पनि उस्तै अवस्था हुने भएको छ।
मासुको मूल्य बढ्न थालेपछि उचित मूल्य पाइने भन्दै उत्पादन गर्न थालेका थिए। तर केही उत्पादन हुन थालेपछि मूल्य घट्दा ३ महिनाको अघि जस्तो हुनेभएको पोल्ट्री संघले चिन्ता व्यक्त गरेको छ।