काठमाडौं। बुद्ध एयर भदौ १ गतेबाट हवाइ सेवा सुरु भए न्यून भाडदरमै सेवा दिने जनाएको छ।
कम्पनीले विराटनगर ३ हजार, नेपालगंज ४२ सय, भद्रपुर ३४ सय, धनगढी ५४ सय, भैहरवा २७ सय, पोखरा १९ सय र जनकपुर २७ सयमै उडाउने जनाएको छ।
कम्पनीले हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरू यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर आउजाउ गरिरहेको उल्लेख गर्दै सर्वसाधारणले दशौं हजार रूपैयाँ खर्च गरिरहेको जनाएको छ।
अहिले सर्वसाधारणले घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन्।
अहिले बुद्ध एयरले कोभिङ-१९ विरूद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ। हरेक उडान अगाडि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरूलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ।
यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छ।
'विषम परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेका छौं,' कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीको यो एकतर्फी भाडा दर हो। काठमाडौं भित्रिनका लागि भने नियमित भाडादर लाग्ने छ।