BIZMANDU
www.bizmandu.com

बिग मर्जरमा राष्ट्र बैंकको तयारी: अब प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने बैंकलाई सुरुमै मर्जर

२०७७ साउन २३

बिग मर्जरमा राष्ट्र बैंकको तयारी: अब प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने बैंकलाई सुरुमै मर्जर
बिग मर्जरमा राष्ट्र बैंकको तयारी: अब प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने बैंकलाई सुरुमै मर्जर


Tata
GBIME
Nepal Life

काठमाडौं। 'बिग मर्जर' मा नेपाल राष्ट्र बैंकले प्रोत्साहितबाट निर्देशित नीति लिएपछि करिब एक दर्जन बैंकले छलफल तीव्र पारेका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेटेजति सबै सञ्चालक र प्रमुख कार्यकारीलाई मर्जरमा जान सुझाव दिइरहेका छन्।

गभर्नरले मौद्रिक नीति र त्यसपछि आएको निर्देशनमा प्रष्ट रूपमा मर्जर गराउने अठोट ब्यक्त गरेको भन्दै दर्जन बैंकहरु मर्जरको छलफलमा जुटेका  हुन्।

कतिपय बैंकर र सञ्चालकले 'मर्जरका लागि कस्तो तयारी गर्ने ?' भनेर गभर्नरलाई सोध्दा उनले- 'गर्नुन तपाईँहरु। सल्लाह गरेर अगाडि बढ्नुस्' भन्ने जबाफ दिने गरेका छन्। गभर्नरभन्दा तलका डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरु पनि गभर्नरकै शैलीमा मर्जरमा जान सुझाव दिइरहेका छन्।

 उच्च स्रोतहरुका अनुसार, राष्ट्र बैंकले पहिलो र दोस्रो चरणमा मर्जर अगाडि बढाउने योजना तयार पारेको छ। यो कुनै लिखित योजना भने होइन, गभर्नर र उच्च अधिकारीहरुको बुझाइ हो।

पहिलो चरणमा प्रतिस्पर्धा गर्न नसक्ने, जेनतेन चलिरहेका बैंकहरुलाई मर्जरमा लगिने छ। दोस्रो चरणमा प्रणालीलाई सिनर्जी दिने संस्थाहरुलाई मर्जरमा लगिने छ। 'यसको मतलब कमजोर कमजोर मर्ज गराउने भन्ने होइन,' ती अधिकारीले भने, 'बलियोसँग कमजोर पनि मर्ज गराउने हो। तर बलियो बलियो मर्ज भएर प्रणालीलाई अझ फाइदा पुग्छ भने त्यसलाई पनि प्रोत्साहित गर्ने भन्ने हो।'

गभर्नर अधिकारीले कार्यभार सम्हालेलगत्तै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबाट मर्जर सुरु गर्ने तयारी थालेका थिए। उनले दुवै बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई डाकेर मर्जरमा जाने सुझाव समेत दिएका थिए।

गभर्नरको बुझाइमा- दुवै बैंकले एक अर्कालाई देखाएर मर्जरमा जान खासै चासो देखाएका छैनन्। गभर्नर एक पटक फेरि सार्थक प्रयास गर्ने योजनामा छन्। 

उच्च स्रोतका अनुसार, पहिलो चरणमा मर्जरमा कुन कुन बैंक लैजानु पर्छ भनेर मोटामोटी संस्था तय भएको छ। राष्ट्र बैंकको बुझाइमा अब सिभिल, सेञ्चुरी कमर्सियल, नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल र बैंक अफ काठमाण्डू (बिओके) आफ्नो छुट्टै हैसियतमा चल्न सक्दैनन् भन्ने छ। मेगा, माछापुच्छ्रे, सिद्धार्थ, कुमारी, सनराइज, प्रभु र सिटिजन्स बैंक पनि मर्जरमा जाओस् भन्ने पक्षमा राष्ट्र बैंक छ। यसका साथै सानिमा, एनएमबि र सिद्धार्थलाई फरक हिसाबले हेरिएको छ।

यस्तै ग्लोबल आइएमइ र एनआइसी एसिया बैंकलाई भने राष्ट्र बैंकले फरक तरिकाले हेरेको छ। एउटा बैंकले भर्खरै मर्जर सकाएको र अर्कोले छोटो समयमा सम्पत्ति वृद्धि (ऋण) ह्वात्तै बढाएका कारण राष्ट्र बैंकले यी दुईलाई फरक हिसाबले सोचेको ती अधिकारीले बताए। 'यी बैंकको भित्रै नपसी केही भन्न सकिन्न,' उनले भने, 'मर्जर आवश्यक छ/छैन भनेर एक पटक अध्ययन नै गर्नु पर्ने छ।'

बाँकी बैंकलाई भने राष्ट्र बैंकले आवश्यकता अनुसार मर्जरका लागि उपयोग गर्ने छ। जस्तो पहिलो वर्गमा रहेका संस्थाहरुलाई यसमा मिसाउन सकिने छ। अन्तिम वर्गमा हिमालयन, नबिल, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबीआइ बैंक छन्। स्ट्यान्डर्ड चार्टर्ड र तीन सरकारी बैंकलाई भने मर्जरमा लैजाने पक्षमा राष्ट्र बैंक देखिएको छैन।

'मोटामोटी हिसाब किताब यही नै हो हाम्रो,' ती अधिकारीले भने, 'अब दसैंतिहारपछिबाट केही प्रक्रिया अगाडि बढ्छ। यसमा बीचमा, मर्जर तथा प्राप्ति विनियमावली अलिकति परिमार्जन पनि गर्नेछौं।'