BIZMANDU
www.bizmandu.com

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्यमन्त्री ढकालले भने-‘काठमाडौंमा भयावह स्थिती आउन सक्छ’

२०७७ साउन १८

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्यमन्त्री ढकालले भने-‘काठमाडौंमा भयावह स्थिती आउन सक्छ’
कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्यमन्त्री ढकालले भने-‘काठमाडौंमा भयावह स्थिती आउन सक्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अघि बढ्न लागेको बताएका छन्।

मन्त्री ढकालले बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जानेलगायतका विषयलाई अघि बढाइने बताए।

अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गए काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरे।

‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो गाडी चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोरबिजोर प्रणालीको कुरा गरियो भने त्यसले एक हदसम्म आवस्यकतालाई पनि पूर्ति गर्न सक्छ,' उनले भने, 'अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने खालको कुरा गर्नुपर्छ।'

मन्त्री ढकालले सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा रहेको बताए। ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं, मन्त्री ढकाले भने।

सरकारले ६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको समेत मन्त्री ढकालले बताए। अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पुर्‍याउने तयारीमा सरकार अगाडि बढेको उनको भनाइ छ। सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्था देखिएको उनले बताए।

लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनको भनाइ थियो।

मन्त्री ढकालले संक्रमण बढी देखिएका जिल्लाहरुलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए।त्यस्तै उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सरकारले ध्यान दिएको मन्त्री ढकालले बताए।

जनशक्ति र अन्य व्यवस्थापनको काममा काबुभन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको उनको दाबी थियो। उनले भने ‘जुन ठाउँमा उच्च जोखिम हुन्छ त्यसमा नीतिगत हिसाबका निर्णयहरु मात्रै होइन सामग्रीहरुको उपलब्धता मात्रै होइन जनशक्ति र अन्य व्यवस्थापनको काममा पनि हामी लागेका छौं यसर्थ यसलाई काबु भन्दा बाहिर जान नदिने गरीनै सरकारको तर्फबाट एकीकृत ढंगले लागेका छौं ।’

लकडाउनभन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हदसम्म सफल भएको बताए।

तर लकडाउन खोलेपछि पछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको बताए। ‘अहिले लकडाउन अलि खुकुलो गरेपछि र पछिल्लो दिनमा करिब २० हजार भन्दामाथि संक्रमणको स्थिति पुग्दा अब यो केही होइन रहेछ जस्तो गरेर बाहिर कोरोना हाम्रो देशमा छैन कि जस्तो गरेर हामीले अपनाउनुपर्ने सुरक्षा सावधानीहरुका कुराहरुलाई चाहि उलङ्घन गरियो भने यसले जुनकुनै बेला पनि हामीलाई विस्फोटको स्थितिमा पुर्‍याउन सक्छ,' मन्त्री ढकाल भन्छन्, 'यो सरकारको लागि मात्र होइन। यो तपाई हामी सबैका लागि हो भन्ने अर्थमा यो आव्हानलाई कार्यान्वयन गर्ने कुरामा दृढतापर्वक इच्छा शक्तिका साथ सबैको सहयोगको लागि म अपिल गर्न चाहन्छु।’

जिएम मिडियाबाट