BIZMANDU
www.bizmandu.com

पर्यटकीय चहलपहल बढाउन पर्यटन बोर्ड अघि सर्‍यो, शनिबारदेखि काठमाडौं वरपर डाँडामा हाइकिङ


Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटकीय गतिविधि सुरु गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले आउँदो शनिबारदेखि काठमाडौं वरपरका डामा हाइकिङ आयोजना गर्ने भएको छ।

लामो समयदेखि बन्द भएको पर्यटन क्षेत्रलाई गतिशील बनाउनका लागि आन्तरिक पर्यटनबाट सुरु गर्न लागिएका बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए।

'स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै होटल, रेष्टुरेण्ट संचालनमा आइसकेका छन्। हवाई यातायात पनि आउँदो भदौदेखि सुरु हुने देखिएको छ। प्राय सबै जनाले स्वास्थ्य सुरक्षा सचेतना अपनाउन थालिसकेका छन्। यसैले हामीले पनि आन्तरिक पर्यटनबाट पर्यटकीय गतिविधि सुरु गर्न लागेका हौं,' उनले भने।

बोर्डले मुलुकका विभिन्न पर्यटकीय क्षेत्रमा हाइकिङ 'हाइट अराउण्ड भ्याली' र 'साइक्लिङ अराउण्ड भ्याली' लगायत आकर्षक पर्यटकीय गतिविधि गर्न लागिएको उनले जानकारी दिए।

'अब विस्तारै पर्यटकीय गतिविधि सुचारु गर्न आवश्यक देखिन्छ। यो एउटा अभ्यास हो। यसमार्फत विदेशी मुलुकमा पर्यटकीय गतिविधि खुला भयो भन्ने सन्देश दिन पनि सकिन्छ। जसले गर्दा तत्कालै नभए पनि निकट भविष्यमा आन्तरिक र विदेशी पर्यटकलाई निर्धक्क घुमघामको लागि आत्मबल प्रदान गर्छ,' रेग्मीले भने।

घुमघाममा कैद गरिएका तस्बिर तथा भिडियो सामाजिक संजालका माध्यमबाट प्रकाशन र प्रसारण गर्दै पर्यटन गतिविधिलाई चलायमान बनाउन प्रोत्साहन गर्नु आवश्यक रहेको उनले बताए। 

पर्यटन गतिविधि सुचारु गराउनका लागि सरकारले विदेशी पर्यटकलाई अनिवार्य लागू गरेको दुई साताको क्वारेन्टाइन व्यवस्था हटाउनुपर्ने माग पर्यटन व्यवसायीले गर्दै आएका छन्। विदेशी पर्यटकलाई नेपाल आउँदा तत्कालै स्वाब संकलन गरी कोरोना जाँच्ने र तीन दिनभित्रै परीक्षण पूरा गरी पर्यटकीय गतिविधिमा सहभागी बनाउनुपर्ने उनीहरुको माग छ। १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि नेपाल आउन चाहने विदेशी पर्यटक निरुत्साहित हुने एक पर्यटन व्यवसायीले बताए।

'सिसीएमसीले विदेशबाट आउने पर्यटकलाई अनिवार्य दुई साता क्वारेन्टाइनमा राख्न निर्देशन जारी गरेको छ। बिरामी र पर्यटकलाई एउटै दृष्टिकोणले हेर्न त भएन नी ! विदेशी पर्यटकलाई मध्यनजर गर्दै सरकारले द्रुत रूपमा पिसीआर परिक्षण रिपोर्ट तत्काल पाउने व्यवस्था गर्न आवश्यक छ। नत्र दुई साता क्वारेन्टाइनमा बस्नकै लागि विदेशी पर्यटक आउँदैनन्,' उनले भने।

सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेसँगै यतिखेर पर्यटन क्षेत्रसमा आबद्ध विभिन्न कम्पनीले पर्यटक लक्षित आकर्षक योजनाहरु बनाउन थालिसकेका छन् भने कतिपयले सार्वजनिक गरिसकेका छन्।