BIZMANDU
www.bizmandu.com

कोरोना संक्रमितको संख्या बढेसँगै घट्न थाल्यो सेयर बजार, आइतबार मात्रै ४२.७८ अंक ओरालो

२०७७ साउन १८

Tata
GBIME
Nepal Life

काठमाडौं।  कोरोना भाइरसका संक्रमित थपिदै गएपछि सेयर बजार पनि घट्दै गएको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार ४२.७८ अंक घटेर १ हजार ३ सय ९६.२८ विन्दुमा बन्द भएको छ । १ हजार ४ सय ४१.२६ विन्दुबाट सुरु भएको नेप्से सो विन्दुभन्दा माथि नगई निरन्तर घटेर बन्द भएको छ । 

कोरोना संक्रमितहरुको संख्या घट्दै गएपछि लकडाउन केही खुकुलो भए पनि हाल संक्रमितहरु थपिदै गएपछि बजार घट्न पुगेको लगानीकर्ताहरु बताउँछन् । कोरोना  संक्रमितहरु बढ्दै गएमा फेरि लकडाउनको अवस्था आउला र बजार  बन्द होला भन्ने अनुमानमा लगानीकर्ताहरुले भएको नाफालाई सुरक्षित गरेको एक लगानीकर्ताले बताए । 

नेपालमा पुन: साउन २० गतेदेखि लकडाउन हुने भन्ने हल्ला ब्रोकर कार्यालयमा चलेको छ। लगानीकर्ताहरुले सेयर बजार अझै घट्ला भनेर भएको सेयर बिक्रीमा लागेको एक ब्रोकरले बताए । लकडाउन भइहाल्यो भने सेयर बिक्री गर्न नपाउने र त्यसपछि बजार घट्ने अनुमान लगानीकर्ताहरुले गर्दा बजार घट्न पुगेको ती ब्रोकरले बताए । 

आइतबार १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता सेयरको १ अर्ब ८४ करोड १२ लाख माथिको सेयर कारोबार भएको छ ।

कारोबार भएका १२ वटै उपसमुहको सूचक घट्न पुगेको छ । अघिल्लो साता सबैभन्दा बढी वाणिज्य बैंकहरुको सेयर मूल्य बढेको थियो । हालको बजार विन्दुमा नै केही प्रतिशत नाफा भएपछि लगानीकर्ताहरु नाफा बुकिङमा लागेका हुन्।

बैंकिङ समूहको ३.३५, होटलको ४ दशमलव ४९, बीमा  र लघुवित्तको सूचक पनि ३ प्रतिशत माथि घटेको छ । गत सातामा उच्चले बढेको होटलका सेयर यस दिन उच्चले नै घटेको छ । 

एकीकृत कारोबारपछि दोस्रो बजारमा हालै कारोबार सुचारु भएको आरम्भ चौतारीको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । त्यस्तै, म्याचिङ कारोबार नभएर चार दिनदेखि कारोबार हुन नपाएको अजोड इन्स्योरेन्सको दोस्रो बजारमा आजदेखि कारोबार भएको छ ।

पहिलो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ भने आठ वर्षको साधारण लिएर हकप्रद प्रस्ताव गर्दै साधारण सभा बोलाएको नेपाल फाइनान्सको सेयर मूल्य पनि ९.६२ प्रतिशत बढेको छ । घट्नेमा जोशी हाइड्रोपावर, ओरियन्टल होटल र हिमालयन ऊर्जा विकास कम्पनी छन् । 

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २२ करोड ६५ लाख १७ हजार माथिको सेयर कारोबार भएको छ ।