BIZMANDU
www.bizmandu.com

उड्डयन जनशक्तिको इजाजतपत्र नवीकरण छुट अगस्टसम्म दिइयो, साना जहाजका पाइलटलाई छैन सुविधा

२०७७ साउन १८

उड्डयन जनशक्तिको इजाजतपत्र नवीकरण छुट अगस्टसम्म दिइयो, साना जहाजका पाइलटलाई छैन सुविधा
उड्डयन जनशक्तिको इजाजतपत्र नवीकरण छुट अगस्टसम्म दिइयो, साना जहाजका पाइलटलाई छैन सुविधा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन क्षेत्रमा कार्यरत जनशक्तिको इजाजतपत्र नवीकरण छुटको म्याद अगस्टसम्मका लागि थपेको छ। म्याद थप गरिदिएपछि वायुसेवा कम्पनीका जनशक्तिको समय गुज्रिसकेको इजाजतपत्र पनि अमान्य नहुने भएको छ ।

ठूला जहाजमा कार्यरत पाइलट, इन्जिनियर र एयर ट्राफिक कन्ट्रोलर लगायतलाई तालिमका लागि विदेश पठाउनुपर्ने भएकाले इजाजतपत्र नवीकरणमा छुट दिएको प्राधिकरणको भनाइ छ। तर, साना जहाजमा कार्यरत पाइलट लगायतका जनशक्तिको सिमुलेटर, मेडिकल लगायत तालिम तथा प्रशिक्षण यही गर्न सकिने भएकाले उनीहरुलाई भने यस्तो सुविधा दिइएको छैन । 

'डोर्नियर, ट्विनअटर, जेट स्ट्रिम लगायतका साना जहाजका पाइलटको सिमुलेटर यहीँ गर्न सकिन्छ । यसैले उनीहरुको लाइसेन्स नवीकरणको म्याद थप्न जरुरी छैन,' प्राधिकरणका एक अधिकारीले भने ।   

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सँगको समन्वयमा नवीकरणको समय थपिएको हो । कोभिड-१९ संक्रमणको अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) सँगको छलफल तथा निर्देशनअनुसार चरणबद्धरूपमा लाइसेन्स नवीकरणको अवधि थप्ने गरिएको प्राधिकरणले जनाएको छ।  

‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै आईकाओसँगको समन्वयमा हामीले उडान संचालन प्रमाणपत्र (एओसी) बाहेक उडान, रेटिङ, एटिसी, फ्लाइट डिस्प्याचर, पाइलट लगायतको लाइसेन्स नवीकरणको समयावधि थपेका छौं,’ उनले भने । 

यसअघि आईकाओअन्तर्गत बैंककस्थित एसिया प्रशान्त क्षेत्रीय कार्यालयले विभिन्न मुलुकसँग भिडियो कन्फ्रेन्स गर्दै गत मार्च २७ देखि अप्रिल २६ तारिखसम्म लागू हुने गरी पहिलोपटक इजाजतपत्र नवीकरण म्यादमा छुट दिएको थियो। संगठनले आफ्नो सदस्य रहेका एक सय ९० मुलुकलाई उड्डयन क्षेत्रका विभिन्न विभागमा वितरण हुने लाइसेन्स नवीकरणको म्याद थप्न निर्देशन दिएको थियो। विश्वव्यापीरूपमा संक्रमण बढ्दै गएपछि यसको समय चरणबद्ध रूपमा थप लम्बाइएको हो।

नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स, तारा एयर र समिट एयर लगायत कम्पनीले पाइलट, एयरहोस्टेज, मेडिकल, तालिम, प्राविधिक इन्जिनियर लगायत विभिन्न विभागका जनशक्तिको लाइसेन्स नवीकरणका लागि इमेलमार्फत पत्राचार गर्दै आएका थिए । 

प्राधिकरणका अनुसार लाइसेन्स नवीकरणका लागि पाइलटलाई वर्षमा दुईपटक सिमुलेटर तालिमका लागि पठाइने गरिएको छ भने एकपटक मेडिकल लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान छ। हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका निजी तथा सरकारी वायुसेवा कम्पनीमा करिब चार सय पाइलटहरु कार्यरत छन्।