BIZMANDU
www.bizmandu.com

नेपाल फाइनान्स कम्पनीमा दुई संचालक नियुक्त, सर्वसाधारण सेयरधनीका तर्फबाट रोजिना श्रेष्ठ

२०७७ साउन १८

Tata
GBIME

काठमाडौं। नेपाल फाइनान्स कम्पनीको रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ।

संस्थाको असार १६ गते सम्पन्न संचालक समितिको बैठकले पानस इन्भेष्टमेन्टका तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

यसैगरी स्वतन्त्र संचालक पदमा आनन्दकृष्ण ताम्राकारलाई नियुक्त गरिएको छ।  ताम्राकार कृषि विकास बैंकबाट अवकाश प्राप्त रहेको विज्ञप्तिमा जनाइएको छ। । 

योजना आयोगका सदस्य रहिसकेका प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया रहेको कम्पनीले असार मसान्तसम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रवाह भएको जनाएको छ।

संस्थाको कमलादीस्थित मुख्य शाखा कार्यालय तथा नयाँसडकस्थित शाखा कार्यालय संचालनमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हाल संस्थामा ७ जनाको संचालक समिति छ । अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, लक्ष्मी महर्जन, रोजिना श्रेष्ठ र आनन्दकृष्ण ताम्राकार सहितको संचालक समिति बनेको कम्पनीले जनाएको छ।

संस्थाको साधारण सभा आगामी भदौ ११ गते बस्दैछ।

बिगत ५ वर्षदेखि समस्याग्रस्त अवस्थामा रहेकोमा २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई संस्थाले सामान्य अवस्थामा कारोबार गरिरहेको जानकारी दिएको छ।