BIZMANDU
www.bizmandu.com

एनआरएन इन्फ्रास्ट्रक्चरको आइपिओमा १ लाख ३० हजारले दिए आवेदन,  यस्तो छ वित्तीय अवस्था

२०७७ साउन १८

Tata
GBIME
Nepal Life

काठमाडौं।  साउन १६ गतेदेखि निष्कासन तथा बिक्री खुला भएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनीको आइपिओमा साउन १८ गते बिहान १० बजेसम्म  ५२ लाख ६८ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको छ ।

सानिमा क्यापिटलका अनुसार आइतबार विहानसम्म १ लाख ३० हजार ३ सय १ जनाले आवेदन दिएका हुन् । 

कम्पनील ३१ लाख ६० हजार १ सय ८३ कित्ता आइपिओ विक्री खुला गरेको हो । लगानीकर्ताहरुले आइपिओ छिटोमा साउन २१ गते र ढिलोमा तथा आइपिओ बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । 

आवेदकहरुले न्युनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काठमाडौंको चाबहिलमा केन्द्रीय कार्यालय रहेको कम्पनीको प्रबर्द्धकमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट र बर्तमान अध्यक्ष कुमार पन्त लगायत संघका अरु केही प्रमुख अभियन्तासहित झन्डै आठ सय  जना गैरआवासीय नेपालीहरु रहेका छन् । सन् २०१२ मा स्थापना भएको यो कम्पनीको जलविद्युत लगायत ठुला विकास आयोजनमा लगानी गर्ने उद्देश्य लिएको जनाएको छ । 

कम्पनी आफैँमा जलविद्युत कम्पनी नभएकाले कम्पनीको आइपिओमा लगानी गर्दा घाटा नहुने लगानीकर्ता अम्बिका प्रसाद पौड्यलले बताए । कम्पनीले लाभांश दिन केही वर्ष लागेपनि हालका जलविद्युत कम्पनी भन्दा राम्रो रहेको उनको भनाई छ । 

उनका अनुसार ‘सुशासनको हिसाबले राम्रो कम्पनी हो । कसैले पैसा अपचलन गर्छ भन्ने छैन । कम्पनीले प्रतिफल कम दिएपनि जोखिम लिनहुन्न भन्ने मुख्य उद्देश्य कम्पनीको हो ’। त्यसो हुनाले आइपिओमा लगानी गर्न हुँदैन भन्ने होइन । कम्पनीको मुल्य धेरै चार , पाँच सय आउला भन्ने पनि होइन । कम्पनीले प्रतिफल दिन केही समय लाग्छ ।

बजारमा जुन सुकै कम्पनीको सेयरमा जहिलेपनि जोखिम हुन्छ । उनले भने‘ सेयर बजार भनेकै जोखिक हो ’ । आजको दिनमा लगानीकर्ताहरुले हेर्दा गैरआवसीयहरुले  पाँच सात वर्षदेखि लगानी गरेको कम्पनीका आज एक सय रुपैयाँमा लगानी गर्नु पाउनु राम्रो भएको उनको भनाई छ ।

कम्पनीको संचालक समितिमा जीवा लामिछाने, शेष घले, महेश श्रेष्ठ लगायत प्रतिष्ठित गैर आवासीय ब्यक्तित्व रहेकाले कम्पनी घाटामा जाला भन्ने आफुलाई नलागेको उनी बताउँछन् ।    

कम्पनीको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार रहेको उक्त कम्पनीको चुक्ता पुँजी ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैयाँ छ । 

कम्पनीले आइपिओ बिक्री गरी ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ संकलन गर्ने छ । उक्त रकम पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ ।  

कम्पनीले आईपिओबाट उठेको रकम विभिन्न ३ वटा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । कम्पनीले आईपिओबाट उठेको रकम २१.३० मेगावाटको ठूलो खोला हाइड्रो, ५६ मेगावाटको जुम खोला हाइड्रो र ५३.५३ मेगावाटको मिडिल कालीगण्डकी हाइड्रोमा लगानी गर्न लागेको हो । ठूलो खोला र  मिडिल कालीगण्डकी म्याग्दीमा रहेको आयोजना हो भने जुम खोला आयोजना दोलखामा अवस्थित छ । जुम खोला आयोजनाको डेभलपर सानिमा हाइड्रो हो।

लगानीकर्ता पौड्यलका अनुसार कम्पनीले मुलरुपमा दीर्घकालीन प्रतिफल दिने जलबिद्युत क्षेत्रमा लगानी गरेको छ । आइएमई ग्रुपसंगको साझेदारीमा लमजुंग जिल्लाको दोर्दिखोलामा लगानी गरेको २७ मेगावाट जलबिद्युत परियोजना यसै बर्ष मंसिर महिनामा सम्पन्न भई आगामी बर्ष देखी प्रतिफल प्राप्त हुने उनले बताए ।

सानीमा ग्रुपद्वारा निर्माण भइरहेका अन्य तीन योजनाहरु ७३ मेगावाटको मिडिल तमोर, २८ मेगावाटको लिखु  र १४ मेगावाटको मैलुंग खोला भने सन् २०२१ र २०२२ मा सम्पन्न हुने योजनाहरु हुन् ।

सानिमा ग्रुप जलबिद्युत क्षेत्रमा भरोसा गर्न सकिने कम्पनीका रुपमा आफ्नो पहिचान बनाएकोले उल्लेखित योजनाहरु समय मै सम्पन्न हुनेछन् भनेर आशा गर्न सकिने उनको भनाई छ । आगामी दिनमा अन्य क्षेत्रहरुमा समेत लगानी विस्तार गर्दै जाने कुरा कम्पनीले बताएका कारण कम्पनीको आइपिओमा लगानी गर्दा फरक नपर्ने उनले बताए । 

धितोपत्र बोर्डले निजी क्षेत्रका इन्भेस्टमेन्ट कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्न दिएको यो पहिलो कम्पनी हो । नियामक निकायद्वारा यस्ता कम्पनीहरुले प्राथमिक शेयर निष्काशनका लागि पूरा गर्नुपर्ने  क्राइटेरियाहरु सम्पन्न गरेकोले मात्रै सोको अनुमति दिएको हो। 'त्यसैले कम्पनीको अवस्था राम्रो छ भन्ने बुझिन्छ ।'- उनले भने । 

कम्पनीले आव २०७५/७६ सम्म १ करोड ६३ लाख १९ हजार नाफा गरेको छ । कम्पनीले आव २०७८/७९ सम्म ४ करोड ९४ लाख ४७ हजार नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०७५/७६ सम्म कम्पनीको प्रतिसेयर आम्दानी २.०४ रहेको छभने प्रतिसेयर नेटवर्थ १ सय २ रुपैयाँ ०६ पैसा रहेको छ । 

कम्पनीको आइपिओलाई केयर  रेटिङ नेपालले एनपी ग्रेड ‘४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर आधार जनाउँदछ ।