BIZMANDU
www.bizmandu.com

एनसीएचएललाई गैर नाफामूलक कम्पनी बनाउने, नाफा खोज्ने सेयरधनीलाई हटाइने

२०७७ साउन १८

एनसीएचएललाई गैर नाफामूलक कम्पनी बनाउने, नाफा खोज्ने सेयरधनीलाई हटाइने
एनसीएचएललाई गैर नाफामूलक कम्पनी बनाउने, नाफा खोज्ने सेयरधनीलाई हटाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई गैरनाफामूलक कम्पनीका रूपमा लगेर थप काम गर्न लगाउने भएको छ। 

सरकार र राष्ट्र बैंकले विगत ७ वर्षदेखि  भन्दै आएको राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल स्वीच) को काम एनसीएचएललाई दिँदै गैरनाफामूलक कम्पनी बनाउन खोजेका हुन्।

एनसीएचएलमा राष्ट्र बैंकको १० प्रतिशत सेयर लगानी छ। पहिले पहिले ढड्डा पल्टाएर चेकको राफसाफ (क्लियरिङ) हुन्थ्यो। त्यो काम राष्ट्र बैंकले गर्थ्यो।

आधुनिक प्रणालीमा जाने र क्लियरिङको काम बैंक तथा वित्तीय संस्थासमेत सहभागी भएको कम्पनीलाई दिने भन्दै राष्ट्र बैंक र बैंकर्स संघको पहलमा एनसीएचएल स्थापना गरिएको थियो।

अहिले एनसीएचएल जुन उद्देश्यका लागि खोलिएको हो त्योबाहेकका काममा धेरै संलग्न हुन थालेको छ।  राष्ट्र बैंकको नामलाई प्रयोग गरेर एनसीएचएलले नाफामूलक ब्यापारमा संलग्न हुने गरेको छ। 

'हामीले अहिले एनसीएचएललाई गैरनाफामूलक कम्पनीका रूपमा लान खोजिरहेका छौं,' राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिजमाण्डूसँग भने, 'त्यसको प्रक्रिया सुरु हुँदैछ।'

अहिले एनसीएचएलले राष्ट्र बैंकबाट प्रवर्द्धित भन्दै निजी क्षेत्रबाट खुलेका कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेको छ। मुख्य काम (चेक क्लियरिङ)  लाई दोस्रो प्राथमिकतामा राखेर पीएसपी र पीएसओले गर्ने काम गरिरहेको छ।

'गैर नाफामूलक कम्पनीका रूपमा लग्नेबित्तिकै अब एनसीएचएलले राष्ट्र बैंकबाट प्रवर्द्धित भनेर मार्केटिङ गर्ने कुरा आफैं हट्छन्। हामी जुनबेला उसलाई स्वीचको जिम्मेवारी दिन्छौं, त्यो बेला उ नाफामूलकभन्दा पनि गैरनाफामूलक कम्पनीका रूपमा जान्छ,' गभर्नर अधिकारीले भने, 'त्यतिबेला गैरनाफामूलक हिसाबले बस्न नचाहनेहरु एनसीएचएलबाट बाहिरिन्छन्।'

गभर्नरले एनसीएचएलले गरिरहेको पीएसपीजस्ता काममा पुनरावलोकन गर्ने समेत बताए। उनले एनसीएचएलमा धेरै ठूलो लगानी नभएकाले त्यहाँको सेयर झिक्ने भन्दा पनि त्यसलाई थप जिम्मेवारी दिने पक्षमा रहेको सुनाए।

'एनसीएचएललाई अलिकति बेसी जिम्मेवारीसहित फाइनान्सियल सिस्टम भित्रको अपरेटरका रूपमा राख्नुपर्ने भएकाले पनि राष्ट्र बैंक बस्नुपर्ने स्थिति हुन सक्छ,' उनले भने, 'त्यसैले हामीले त्यसको लगानी फिर्ता गर्ने बारे सोचिसकेका छैनौं। हामीले नेशनल स्वीच त्यहाँमार्फत गराउन खोजेका छौं।'

गभर्नरले एनसीएचएल स्थापित संस्था भएकाले त्योमार्फत नेशनल स्वीचको काम गर्दा चाँडो हुने समेत बताए। 

'नेशनल स्वीचको काम हामीले उसलाई जिम्मा दिएपछि झन् हामी बाहिरिनु हुँदैन। केही समय हामीले राम्रोसँग स्थापित गराउन र एउटा लेभलसम्म पुर्‍याउनुपर्ने हुन्छ। त्यसका लागि एक्जिट हुन जरुरी छैन,' उनले भने, 'यत्ति हो हामी एनसीएचएललाई गैर नाफामूलक कम्पनी बनाउँछौं।'

अहिले एनसीएचएलले उच्च नाफा गरेर सेयरधनीहरुलाई लाभांश बाँड्दै आएको छ। राष्ट्र बैंकले कोभिडहरु कारोबारमा शुल्क नलिन भने पनि उसले पैसा उठाउन थालिसकेको छ।