BIZMANDU
www.bizmandu.com

टेलिकम ग्राहक सेवामा नयाँ नजिरः प्राविधिक कारणले सेवा अवरुद्ध भएपनि ग्राहकलाई क्षतिपूर्ति

२०७७ साउन १७

टेलिकम ग्राहक सेवामा नयाँ नजिरः प्राविधिक कारणले सेवा अवरुद्ध भएपनि ग्राहकलाई क्षतिपूर्ति
टेलिकम ग्राहक सेवामा नयाँ नजिरः प्राविधिक कारणले सेवा अवरुद्ध भएपनि ग्राहकलाई क्षतिपूर्ति

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्राहकले रिचार्ज गरिसकेपछि समयमै सेवा सुरु नगरेका कारण नेपाल टेलिकमले ग्राहकलाई क्षतिपूर्ति दिनपर्ने फैसला भएको छ।

उच्च अदालत पाटनले अधिवक्ता राम कुमार सुवालले दायर गरेको मुद्दामा फैसला गर्दै ग्राहकले रिचार्ज गरिसकेपछि १४ घण्टा सम्म सेवा नदिएका कारण सेवा ग्राहीलाई परेको आर्थिक र मानिसिक क्षति वापतको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

न्यायाधिश ठाकुरप्रासद शर्मा पौडेल र नातिबाबु लामिछानेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्टाउँदै नेपाल टेलिकमले ग्राहकलाई १५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

यस अघि जिल्ला अदालत काठमाडौंले २०७६ बैशाख ४ गते, नेपाल टेलिकमबाट कुनै व्यक्तिले जानाजान गल्ती नगरेको र सिस्टमको खराबीका कारण उक्त समस्या आएको भन्दै क्षतिपूर्ति दिनुपर्ने स्पष्ट कारण नभएको फैसला गरेको थियो।

यस्तो थियो घटना
निवेदक अधिभक्ता राम कुमार सुवालले प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड नम्बर ९८५१०१९७७५ मा सन २०१८-०९-१४ तारिखका दिन बेलुकी ६ बजेर ४१ मिनेटमा तिर्नुपर्ने रकम ४५७३.२२ रुपैयाँ र उपलब्ध रकम ४२६.७९ रुपैयाँ रहेको भन्दै म्यासेज आउँछ।

त्यसको भोलिपल्ट बेलुका ६ बजेर ५८ मिनेटमा तपाईको नम्बर एकतर्फी भएको भनि अर्को म्यासेज आउँछ। त्यसपछि ग्राहकले ५०० दरका दुई वटा रिचार्ज कार्ड ल्याई तत्काल रिचार्ज गर्छन्। त्यसै दिन बेलुका टेलिकमबाट रिचार्ज भएको र उपलब्ध क्रेडिट ११५९.४९ रुपैयाँ रहेको भनी अर्को म्यासेज आउँछ।

तर ग्राहकको मोबाइलमा कल गर्न मिल्ने प्रतिबन्ध भने भोलिपल्ट बिहान ११ बजेर ४४ मिनेट सम्म रहिरहेको हुन्छ। त्यसपछि ग्राहकले रिचार्ज गरिसक्दा पनि २० घण्टा सम्म सेवा नदिदा आफूलाई आर्थिक र मानसिक रुपमा २५ हजार रुपैयाँ बराबरको  क्षति भएको भन्दै जिल्ला अदालत काठमाडौंमा नेपाल दूरसञ्चार कम्पनी बिरुद्ध मुद्दा हाल्छन्।

जिल्ला अदालतले नेपाल टेलिकमको सिस्टमको खराबीका कारण गल्ती भएको भन्दै टेलिकमले क्षतिपूर्ति दिनु नपर्ने फैसला गरिदिन्छ। त्यसपछि अधिवक्ता सुवालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्छन्। उच्च अदालतले २०७७ जेठ २८ गते जिल्ला अदालतको फैसलालाई बदर गरि ग्राहकले क्षतिपूर्ति पाउनुपर्ने फैसला गरिदिन्छ। त्यहि फैसलाको पूर्णपाठ २०७७ साउन १५ गते आएको हो।

यति एयरलाइन्सको नजिरको आधारमा फैसला
यस अघि वायु सेवा कम्पनी यति एयरलाइन्सले समयमै उडान भर्न नसक्दा सेवाग्राहीलाई क्षति भएको भन्दै घमराज लुईटेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

मुद्दामा सर्वोच्च अदालतले सेवा ग्राहीलाई क्षति पुगेको भन्दै एयरलाइन्स कम्पनी यती एयरले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। नेपाल टेलिकमको हकमा पनि यति एयरलाइन्सको नजिरको आधारमा ग्राहकले क्षतिपूर्ति पाउनु पर्ने फैसला भएको हो।

देवयानी संहिता २०७४ को दफा ८ अनुसार कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरुलाई हानी नोक्सानी हुन गएमा त्यसरी हानी नोक्सानी भएको क्षतिको दायित्व यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नुपर्ने व्यवस्था भए अनुसार सेवा ग्राहीलाई नेपाल टेलिकमबाट क्षति पुगेकोले क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो।