BIZMANDU
www.bizmandu.com

लकडाउनमा ल्याएको स्किमले बाइक र स्कुटर बिक्री बढ्यो, माग धेरै भएपछि योजना अवधि थप्दै बिक्रेता


लकडाउनमा ल्याएको स्किमले बाइक र स्कुटर बिक्री बढ्यो, माग धेरै भएपछि योजना अवधि थप्दै बिक्रेता
लकडाउनमा ल्याएको स्किमले बाइक र स्कुटर बिक्री बढ्यो, माग धेरै भएपछि योजना अवधि थप्दै बिक्रेता


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणबाट जोगिन सार्वजनिक यातायातको साटो निजी सवारी प्रयोग गर्ने बढ्दा दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढेको सम्बन्धित कम्पनीहरुले बताएका छन् ।  

कोभिड त्रासका बीच कामकाजी मध्यमवर्गीयले चारपाङ्ग्रे सवारीको साटो मोटरसाइकल खरिदमा ध्यान दिने बजार विश्लेषण गर्दै विभिन्न बिक्रेता कम्पनीहरूले अघि सारेको ग्राहक लक्षित फाइनान्सिङ स्किम प्रभावकारी बनेपछि यस्तो स्किमको अवधि समेत लम्ब्याउने योजना उनीहरूले बनाएका छन् । 

टीभीएस, बजाज, होण्डा, यमाहा लगायतका नेपाली सडकमा धेरै गुड्ने दुई पाङ्ग्रे ब्राण्डका आधिकारिक बिक्रेताहरुले 'सेल्स स्किम' जारी राख्ने जानकारी दिए ।

कोरोनाका कारण केही महिना कारोबार ठप्प भएपछि सरकारले लकडाउन खुकुलो बनाएसँगै मोटरसाइकल बिक्रेताहरुले व्यापार उकास्न ग्राहकलक्षित स्किम (खरिद योजना) हरु ल्याएका थिए । विभिन्न मोटरसाइकल ब्रान्डका आधिकारिक बिक्रेताहरुले व्यापार फर्काउन डेढ महिनाअघि सार्वजनिक गरेका ती योजनालाई ग्राहकले रुचाइदिँदा यतिखेर दुई पाङ्ग्रे सवारीसाधनको माग उल्लेख्य रुपमा बढेकाले स्किम अवधि लम्ब्याउने योजना रहेकाे सम्बन्धित कम्पनीहरुले बताएका हुन् । 

स्किमका कारण मोटरसाइकलको माग बढेपछि बिक्रेताहरुले डेलिभरीका लागि एक सातासम्मको न्यूनतम समय दिएर धमाधम बाइक भित्र्याउने प्रक्रिया व्यवसायीहरुले जानकारी दिए ।

स्किम शुरु गरेको बेलादेखि नै माेटरसाइकल बिक्रीले गति लिन सुरु गरेको टिभीएसको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले बताएको छ।जगदम्बाले दैनिक करिब एक सय ५० वटा दुईपाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आएको कम्पनीका बिक्री महाप्रवन्धक दिपक रौनियारले जानकारी दिए। उनका अनुसार प्रायः आरटीआर १६० बाइक र एन्ट्रोक स्कुटरप्रति ग्राहकको माग अधिक छ।    

यी लगायतका दुईपाङ्ग्रेको माग बढ्दै जाँदा कम्पनीले पछिल्लो समय अर्डर गरिएका बाइकको डेलिभरीका लागि ग्राहकसँग एक साताको समय लिँदै आएको उनले बताए। 'माग धेरै आएपछि यतिखेर बाइक सर्टेज नै छ। यसैले अहिले हामीले डेलिभरीका लागि एक साताको समय लिएर अर्डर भएअनुसारका बाइक कन्टेनरमार्फत ल्याइरहेका छौं,' उनले भने। 

साउन १५ गतेसम्मका लागि बिक्री योजनाको सीमा राखेको जगदम्बा मोटर्सले ग्राहकको माग बढेसँगै यसको अवधि थप दुई सातालाई बढाउने योजना रहेको पनि उनले बताए। 

'अब विस्तारै फेस्टिभ सिजन पनि आउने भएकाले अहिले लागू भइरहेकाे योजना हामी बिहीबारदेखि बन्द गर्ने योजना बनाएका थियौं। तर, अहिलेको योजनाले बजार माग बढाएकाले थप दुई साता समयावधि बढ्ने अपेक्षा गरेका छौं,' रौनियारले भने। 

यस्तै, गोल्छा समूहले पनि बजाज मोटरसाइकलमा लञ्च गरेको स्किमको अवधि थप्ने योजना बनाएको छ । बजाजकाे अधिकृत नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकको माग हेरेर स्किमको समयावधि बढाउने योजना बनाएको बताएकाे छ। पछिल्लो स्किमले ग्राहक माग बढ्दै गएकाले आउँदो अगस्टसम्म योजनाको समयावधि बढाउने कम्पनीकी उपमहाप्रवन्धक पुनम सिंहले बताइन्। 

'हामीले ग्राहक योजना कोभिड-१९ संक्रमण प्रभावलाई नै मध्यनजर गर्दै सार्वजनिक गरेका थियौं । क्रमिकरुपमा लकडाउन खुकुलो हुँदै गएपनि संक्रमण पूर्णरुपमा हटिनसकेकाले अझै कतिपय ग्राहकहरु स्किमको लाभको पर्खाइमा भएकाले उहाँहरुको मागलाई विचार गर्दै योजना लागू हुने अवधि बढाएका हौं,' उनले भनिन्। 

उनका अनुसार, बजाजका १५० देखि २२० सीसीसम्मका प्रायः सबै मोडेलका बाइकहरुको बिक्री राम्रोसँग हुँदै आएको छ । पछिल्लो योजना सार्वजनिक गरिएदेखि बजार माग र बिक्री क्रमिक रुपमा राम्रो हुँदै गएको छ ।  

यामाहा बाइकको आधिकारीक बिक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेजले पनि ग्राहकको माग पछ्याउँदै पछिल्लो बिक्री स्किमको  अवधि बढाउने योजना रहेको जनाएको छ। कोभिडका कारण पछिल्ला केही महिनायता यमाहाका मोटरसाइकलकाे बिक्री सामान्य अवस्थामा जत्तिकै नभए पनि यसबीच सार्वजनिक स्किमपछि तुलनात्मक रुपमा माग र बिक्रीमा क्रमिक सुधार आएको कम्पनीका बजार प्रमुख बिक्रम पौडेलले बताए। 

'सामान्य अवस्थाको तुलनामा हाल मोटरसाइकलको बिक्री ७० प्रतिशत छ। अहिलेको जटिल अवस्थामा पनि यत्तिको बिक्री हुनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं,' पौडेलले भने, 'लकडाउनको अवस्थामा बजार र बिक्री पुनः सुचारु गर्ने कुरामा अन्याेलता थियो। तर योजना सार्वजनिक गरिसेकपछि बजारले क्रमिक रुपमा गति लिन सुरु गरेको छ।' यमाहाका १२५ सीसीको स्कुटर र १५० सीसीकाे बाइकमा ग्राहक माग धेरै रहेको उनले जानकारी दिए।  

यस्तै, शुक्रबारसम्मका  लागि भनेर लकडाउनबीच होण्डाका दुईपाङ्ग्रेमा  सार्वजनिक गरेको योजनाको अवधि पनि थप्ने विचारमा रहेको यसको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ । ग्राहकको मागलाई विचार गरेर नै योजना समयावधि थप्न लागिएको कम्पनीका बिजनेश डेभलपमेन्ट म्यानेमजर निजेनलाल श्रेष्ठले । ग्राहक लक्षित होण्डाको योजनामार्फत बाइक बिक्री सामान्य अवस्थाभन्दा पनि ४० प्रतिशतले बढेको उनले जानकारी दिए।                           

'हामीले आजसम्मका लागि योजना सार्वजनिक गरेका थियौं । तर, यही योजनाका कारण बाइक किन्ने ग्राहक बढ्दै गएकाले बजार विश्लेषण गरेर यसको समयावधि बढाउने तयारीमा छौं,' श्रेष्ठले भने। होण्डाका माग तथा बिक्री अधिक रहेका दुई पाङ्ग्रेमा १२५ सीसीका  स्कुटर र १६० सीसीसम्मका बाइक रहेको उनले बताए। सोही अनुसार माग बढ्दै जाँदा यी सेरिजका दुई पाङ्ग्रे सवारीसाधनको आयात बढेको उनले जानकारी दिए।

यस्ता छन् बाइक खरिदमा स्किम
टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ र स्कुटरमा १० हजार रुपैयाँ नगद छुट दिएको छ। यससँगै शून्य फाइनान्समा मोटरसाइकल र स्कुटर किन्ने अफर पनि ल्याएको छ। ग्राहकले डाउनपेमेन्ट रकम मात्र तिरेर टीभीएसका मोटरसाइकल र स्कुटर लगेर आठ महिनापछि मात्र बाँकी किस्ता भुक्तानी शुरु गर्न पाउने योजना लागू गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टीभीएसका दुई पाङ्ग्रे क्रेताको किस्ता भुक्तानीको तालिका नै आठ महिनापछिबाट सुरु हुनेछ। किस्ता तिर्ने तालिका शुरु नहुन्जेल (आठ महिना) सम्म ग्राहकले मासिक ९९ रुपैयाँ मात्र तिरे हुने कम्पनीका बिक्री महाप्रवन्धक रौनियारले बताए । 

यस्तै, बजाजका मोटरसाइकलमा खरिदकर्ताका लागि फाइनान्समा तीन किसिमको आकर्षक प्याकेजमा योजना ल्याएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।  योजनाअन्तर्गत ग्राहकले बजाजका मोटरसाइकल खरिद गर्दा नगद १२ हजार रुपैयाँ छूट, २० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन्।  

कम्पनीका अनुसार ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाजको बाइक खरिद गर्न सक्नेछन्। स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनमार्फत पनि दुई पाङ्ग्रेको बिक्री सुरु गरेको कम्पनीले जनाएको छ। 

यस्तै, स्याकार ट्रेडिङले होण्डाका दुई पाङ्ग्रे एक रुपैयाँको डाउनपेमेन्टमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकले एक प्रतिशत ब्याजदरमा होण्डाका बाइक खरिद गर्न सक्नेछन्।   

'असहज परिस्थिति सहज समाधान' स्लोगन राखेर खरिद स्किम शुरु गरेको मोरङ अटोवर्क्सले शून्य ब्याजदरमा शून्य प्रतिशत डाउनपेमेन्टमा यामाहाका मोटरसाइकल खरिद गर्न सकिने अफर ल्याएको कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकले यामाहाको मोटरसाइकल खरिद गर्दा १० हजार रुपैयाँको छुट पाउन सक्नेछन्।