BIZMANDU
www.bizmandu.com

सडक विभागको गत वर्षको रिपोर्टकार्ड: २१० पुल निर्माण सकियो, ७२९ किलोमिटर सडक कालोपत्रे

२०७७ साउन १६

सडक विभागको गत वर्षको रिपोर्टकार्ड: २१० पुल निर्माण सकियो, ७२९ किलोमिटर सडक कालोपत्रे
सडक विभागको गत वर्षको रिपोर्टकार्ड: २१० पुल निर्माण सकियो, ७२९ किलोमिटर सडक कालोपत्रे

Tata
GBIME
Nepal Life

काठमाडौं। सडक विभागले आर्थिक बर्ष २०७६/०७७ मा २१० पुल निर्माण सम्पन्न गरेको छ।तीन सय वटा पुल निर्माणको लक्ष्य लिएको विभागले रणनीतिक तथा स्थानीय सडक पुल गरि २१० वटा पुल निर्माण पुरा गरेको हो।

कोभिडका कारण ७० प्रतिशत लक्ष्य हासिल भएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए। २०७५/०७६ मा २४३ वटा पुल निर्माण भएको थियो। सोही बर्षबाट ठूलो संख्यामा पुलहरु निर्माण हुन थालेका हुन्। त्यसअघि सयभन्दा कम मात्रै पुल निर्माण हुने गरेका थिए। अहिले देशभर करिव १५ सय पुल निर्माणाधीन अवस्थामा छन्।

कोभिडका कारण कालोपत्रे सडकको पनि लक्ष्य पूरा भएन्। विभागले १२ सय किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य लिएको लिएकोमा ७२९ किलोमिटर पुरा भएको छ। यो लक्ष्यको ६०.७५ प्रतिशत हो।

ग्राभेलस्तरको सडक ७५७ किलोमिटर मात्रै निर्माण भएको छ। विभागले १२ सय किलोमिटर सक्ने लक्ष्य थियो।यो लक्ष्यको ६३.०८ प्रतिशत हो। माटे सडक ५०० किलोमिटर लक्ष्य लिएकोमा ३६५ किलोमिटर सकिएको छ। जुन लक्ष्यको ७३ प्रतिशत हो।

कालोपत्रेस्तरको सडक पुल निर्माण तथा पुनर्स्थापना ३२५ किलोमिटर मात्रै पूरा भएको छ। विभागले ७ सय ७० किलोमिटर सक्ने लक्ष्य लिइएको थियो। यो करिव ४५.७१ प्रतिशत हो। आवधिक मर्मत ५ सय २४ किलोमिटरमध्ये ३ सय ६० किलोमिटर पुरा भएको छ। यो करिव ६८.७० प्रतिशत हो।

सडक विभाग अन्तर्गत मात्रै नयाँ कालोपत्रे ७२९ किलोमिटर र कालोपत्रे पुन: निर्माण तथा पुनर्स्थापना ३५२ गरि कुल १०८० किमी कालोपत्रे भएको छ। लक डाउन अवधिमा ५५२ किमी कालोपत्रे, ४११ किमी ग्राभेल ,१३६ किमी नयाँ ट्रयाक निर्माण र ८१ वटा पुल निर्माण कार्य सम्पन्न भएको सडक विभागले जनाएको छ।

७२०० किमी सडकको नियमित तथा पटके मर्मत सम्भारको निरन्तरता दिएको विभागले जनाएको छ। जसमा शतप्रतिशत लक्ष्य हासिल गरिएको छ। ५५४ किमी आद्यावधिक मर्मत गर्ने लक्ष्य लिइएकोमा ३६० किमी पुरा भएको विभागको दाबी छ।

महानिर्देशक शर्माले गत बर्ष समयमा नै ठेक्का लागेर काम सुरु गर्न थालिएको भएपनि कोभिडका कारणले लक्ष्य पुरा गर्न नसकिएको बताए। गत बर्षबाट असोजमा ठेक्का सम्झौता गरेर काम सुरु गर्ने गरि नयाँ नीति लिइएको छ। यस अघि काम हुने सिजनमा पनि ठेक्का निकालेर सम्झौता हुने गरेको थियो।

तर अहिले साउन भदौमा ठेक्का निकालेर असोजमा सम्झौता गर्नुपर्छ। दशैतिहार लगत्तै निर्माण कम्पनीलाई मोविलाइज गर्नुपर्छ। 'यो बर्ष धेरै कामहरु हुने थिए। कोभिडकै वीचमा हामीले धेरै आयोजनाहरुलाइ स्वास्थ्य मन्त्रालयको गाइडलाइन पालना गरेर जारी राख्यौ,' उनले भने ' यो वीचमा यत्तिको काम हुनुलाई राम्रै मानेका छौ।'

विभागले काठमाडौं उपत्यका चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना चोकहरुमा फ्लाइ ओभर डिजाइन गर्न परामर्शदाता छनोट गरिसकेको छ। चालु बर्ष डिजाइन पुरा गरि निर्माण कार्य सुरु गर्ने योजना छ। त्यस्तै सुरुङमार्ग निर्माणका लागि आवश्यक मापदण्ड, स्पेसिफिकेशन तयार पारिएको छ। स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गरिएको छ।

मापदण्ड बनेपछि सुरुङमार्ग निर्माण गर्न सहज हुनेछ। अहिले अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानेर निर्माण भैरहेको छ। मापदण्ड स्वीकृत भएर आएपछि सरकारले आन्तरिक स्रोतबाट सुरुङमार्ग निर्माण थाल्नेछ। चालु बर्षको प्रथम चौमासिकमा सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न तयारी भइरहेको शर्माले जानकारी दिए।

बाढी पहिरोको कारण सवारी आगमनमा मध्यनजर गरि सामान्य अवस्थामा ३० मिनेट भित्र अवरोध सिर्जना भएको स्थानमा पुगी ४ घण्टा भित्र यातायात संचालन गर्ने व्यवस्था मिलाएको विभागले जनाएको छ। उनका अनुसार १९८ स्थानहरुमा हेभी इक्विपमेन्ट राखिएको छ।

वार्षिक (सुरु) विनियोजनका आधारमा ५७.१७ प्रतिशत र बार्षिक (संशोधित)विनियोजनका आधारमा वित्तिय प्रगति ५४.६६ प्रतिशत हासिल गरेको विभागको दाबी छ।

कोभिडको असर
धेरै आयोजनाहरुमा गम्भीर असर परेको सडक विभागका इन्जिनीयरहरुको भनाइ छ। अधिकांश आयोजनाहरुमा सबै पुर्व तयारी कार्य (सव वेश, वेश) सम्पन्न गरि उपयुक्त मौसममा करिव २५० किमी कालोपत्रे गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो।

कोरोना भाइरसको संक्रमण फैलन रोक्न सरकारको चैत ११ देखि लक डाउन जारी गरेका कारण तीनमा गम्भीर असर परेको हो। 'लक डाउनकै स्थितिमा पनि सामार्थ्यले भ्याएसम्म र भविष्यमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी मर्मत संभार कार्य र पुलहरुको निर्माण अगाडि बढाएपनि लक्ष्य पूरा गर्न सकिएन्,' शर्माले भने।