BIZMANDU
www.bizmandu.com

अनधिकृत डाटा निषेध गरेको नेप्सेले अब औपचारिक रूपमै सशुल्क र निःशुल्क डाटा बिक्री गर्ने

२०७७ साउन १६

अनधिकृत डाटा निषेध गरेको नेप्सेले अब औपचारिक रूपमै सशुल्क र निःशुल्क डाटा बिक्री गर्ने
अनधिकृत डाटा निषेध गरेको नेप्सेले अब औपचारिक रूपमै सशुल्क र निःशुल्क डाटा बिक्री गर्ने


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो वेबसाइडको डाटा तान्न शुल्क लिने भएको छ। यसअघि साइटले भिजिटरको लोड थाम्नै नसकेको भन्दै अनधिकृतरूपमा  डाटा निषेध गरिएको सूचना नेप्सेले जारी गरेको थियो।  

Tata
GBIME
Nepal Life

अब नेप्सेले वेबसाइडको डाटाको लोड बढाएर सशुल्क र निःशुल्कमा बिक्री गर्ने जनाएको छ। नेप्सेका अनुसार शिक्षण संस्था (कजेल) हरुका लागि यो सुविधा निःशुल्क  हुनेछ भने मिडिया र डाटा  भेण्डरहरुलाई शुल्क लाग्नेछ। मिडियालाई केही सस्तो गरिने भएपनि डाटा भेण्डरहरुलाई भने अरुको तुलनामा महँगो पर्ने नेप्सेका अधिकारीहरूले बताएका छन् । 

हाल नेप्सेमा डाटा के कति दरमा बिक्री गर्ने भन्ने निर्णय भइसकेको छैन। पैसा लिने कुरामा नेप्सेले नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने हुन्छ। छिटै नै बोर्डमा यसको प्रस्ताव लैजाने नेप्सेले जनाएको छ। 

यता, नेपाल धितोपत्र बोर्डले भने हालसम्म नेप्सेले सशुल्क र निःशुल्कको प्रस्ताव नल्याएको जनाएको छ । नेप्सेको उक्त प्रस्ताव ल्याएमा के आधारमा ल्याउन लागेको हो त्यसमा छलफल गरेर आधिकारिक जवाफ दिने बोर्डका अधिकारीको भनाइ छ। 

नेपाल धितोपत्र बोर्डको आइटी पोलिसी, धितोपत्र बोर्ड सूचना प्रविधि नीतिको रणनीतिमा अभिलेख दिगो, भरपर्दो र सुरक्षा प्रयोगको लागि स्तरीय प्रणाली स्थापना हुनैपर्ने प्रावधान छ। त्यसअन्तर्गत नेप्सेले आफ्नो डाटा सुरक्षाका लागि प्रतिबन्ध गर्न पाउन सक्ने बोर्डले जनाएको छ। 

नेप्सेको 'नेपाल स्टक डटकम डटएनपी' र 'नेपाल स्टक डटकम'को वेबसाइटमा कारोबारसम्बन्धी विवरण ढिलो देखिने तथा केही समयका लागि कारोबार विवरण नै नदेखिने समस्या आएपछि नेप्सेले डाटा तान्न रोक लगाएको प्रवक्ता मुराहरी पराजुलीले बताए।  उनका अनुसार
नेप्सेको डाटा कतिले जानेर र कतिले नजानेर कोड प्रयोग गरी तान्ने गरेका छन्। बैंक तथा फाइनान्सका कर्मचारीहरुले तानेर के हुन्छ र भन्ने छ भने डाटा भेण्डरहरुले जानेर नै प्रयोग गरेको पाएकाले प्रतिबन्ध गरिएकाे हो । 

नेप्सेमा कारोबार भएको विवरण प्रयोग गर्न प्रतिबन्ध गरेसँगै प्राविधिक विश्लेषण गर्नेहरुले भने यसको विरोध गरेका छन्। नेप्सेको यो कदम आपत्तिजनक भएकाे लगानीकर्ता विष्णुप्रसाद बस्यालको भनाइ छ । 'डाटा लिन नपाउने भन्ने कुनै नियम हुँदैन,' उनले भने, 'नेप्सेले तान्न पूरै रोक लगाउनुको साटो कुनै मूल्य तोकेर डाटा दिनुपर्ने हो ।'

संसारका प्रमुख सेयर बजारहरूमा एक्सचेञ्जहरुले 'लाइभ डाटा फिड' विभिन्न डाटा भेन्डरहरुलाइ एउटा निश्चित मुल्य तोकेर दिने गरेका छन्। नेपालको नेप्सेले भने डाटा समेत लिन नपाउने व्यवस्था गर्छु भन्नु आपतिजनक कदम भएको बस्यालले बताए। आफूले डेढ वर्षअघि नै नेप्सेलाई सबैलाई डाटा तान्न दिन नहुने र सोझै सर्भरमा एक्सेस दिन पनि नेप्सेलाई गाह्रो हुने भएकाले अको डाटा बनाएर मूल्य तोकेर दिनुपर्ने माग गरेको उनको जिकिर छ । नेप्सेले डाटाको मूल्य तोकेर दिन्छ भने त्यसलाई स्वागत योग्य मान्नुपर्ने पनि उनी बताउँछन् ।

लाइभ डाटा फिडको मद्दतबाट नै विभिन्न विश्लेषण तथा प्राविधिक ट्रेन्डको विश्लेषण गर्न सजिलो बनाएको छ। तर नेप्सेले हालै विज्ञप्ति जारी गरी डाटा तान्न नपाइने बनाएको छ। अनधिकृतरुपले डाटा तान्नु  राम्रो नभए पनि नेप्सेले अधिकृत रूपमा डाटा फिड दिने कुनै व्यवस्था नै नगर्दा यो अवस्था आएको बस्यालको अनुमान छ। 

संसारका स्टक एक्चेन्जहरु प्रविधिमा धेरै अगाडि बढिसकेका भए पनि नेप्से भने धेरै पछाडि रहेको लगानीकर्ताहरुले बताउँदै आएका छन् ।नेप्सेको ध्यान डाटा तान्न नदिनेबाट रोक गर्नुभन्दा तुरुन्त उचित मूल्य तोकी अधिकृत रूपमा नै डाटा फिड दिने व्यवस्था मिलाउन पर्ने सुझाव लगानीकर्ताहरुको छ । बजारलाई प्रभावित गर्ने उचित डाटा पाउनु बजारमा सहभागीहरुको जरुरत तथा हक दुवै भएको पनि उनीहरुको भनाइ छ ।