BIZMANDU
www.bizmandu.com

उपत्यकामा घरजग्गा कारोबार घटेपछि मूल्य घट्ने संकेत, हाउजिङले सस्तोमा परियोजना बनाउने

२०७७ साउन १६

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउन हटे पनि घरजग्गा कारोबार नबढेपछि उपत्यकामा जग्गा किनबेचमा पैसा फसाएकाहरू आत्तिएका छन्। जग्गा बिक्री गर्नेहरु धेरै भए पनि किन्ने मान्छे नभेटिँदा मूल्य घटाउन पनि दबाब परेको छ।

लकडाउन हुनुअघि देशभर दैनिक २ देखि ३ हजार घरजग्गा किनबेच भइरहेका थिए। चैतमा १० दिनमात्रै खुलेका मालपोत कार्यालयले पनि १७ हजार बढी घरजग्गा किनबेच गरेका थिए।

तर साउनमा भने १० दिनसम्म जम्मा १० हजारमात्रै घरजग्गा किनबेच भएका छन्। साउन लागेपछि दैनिक औसत एक हजार मात्रै घरजग्गा किनबेच भइरहेको भूमि व्यबस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

चैतमा दैनिक औसत १७ सय घरजग्गा किनबेच हुँदा असारमा १५ सय र साउनमा एक हजार मात्रै घरजग्गा किनबेच भइरहेका हुन्। मालपोत कार्यालयका अनुसार यतिबेला जग्गा बेच्ने मान्छे धेरै भए पनि किन्ने मान्छे नभएपछि कारोबार घटिरहेको हो।

उपत्यकामा बिक्री मूल्यमा चाप 

बिक्री गर्नुपर्ने जग्गा किन्ने मान्छे नभएपछि यतिबेला जग्गाको मूल्य केही घटेको घरजग्गा व्यावसायी ललित कार्कीले बताए। आर्थिक अभाव नभएका व्यवसायी तथा सर्वसाधारणले जग्गा होल्ड गरेपनि समस्यामा परेकाहरु भने मूल्य घटाएर पनि बेच्न तयार भएको उनको भनाई छ।

कारोबारमा मन्दी आएसँगै जग्गा बेच्नेको चाप उपत्यकामा सबैभन्दा बढी भएको छ। देशभरको कुल कारोबारमा राजस्वमा ५० देखि ६० प्रतिशत र कारोबार संख्यामा १५ देखि २० प्रतिशत हिस्सा काठमाडौं उपत्यकाको रहँदै आएकोमा अहिले भने उपत्यकाको कारोबार संख्याको हिस्सा १० देखि १२ प्रतिशतमा सीमित भएको छ। 

पहिले सामान्य अवस्थामा मासिक ७ देखि ८ हजारसम्म घरजग्गा किनबेच हुने काठमाडौं उपत्यकामा अहिले भने मासिक ४ देखि ५ हजारमात्रै घरजग्गा किनबेच हुन थालेको विभागको तथ्यांक छ।

साउन लागेपछि उपत्यकाको दैनिक कारोबार संख्या १०० देखि १५० भित्रमा सीमित भएकाले यहि दरमा कारोबार भए उपत्यकामा मासिक ३ देखि ४ हजार मात्रै घरजग्गा कारोबार हुने मालपोत कार्यालयहरुको अनुमान छ।

असारमा देशभर ४१ हजार ६ सय ५२ घरजग्गा किनबेच हुँदा उपत्यकामा ५ हजार ७ सय ७७ घरजग्गा किनबेच भएका थिए। साउनमा १० दिनको कारोबारमा १० हजार घरजग्गा किनबेच हुँदा उपत्यकामा करिब एक हजार हाराहारीमात्रै घरजग्गा किनबेच भएका छन्।


 

मूल्य घटाएर बिक्री गर्दै

घरजग्गा किनबेचका लागि ब्रोकरको काम गर्ने अनलाइन साइटहरुमा यतिबेला घरजग्गाको मूल्य घटाएर बिक्रीका लागि राख्न थालिएको छ।
प्रति आना १२ देखि १४ लाख रुपैयाँसम्म भन्दै आएका व्यावसायीहरु यतिबेला १० देखि १२ लाख रुपैयाँमै दिन तयार भएको जग्गा व्यवसायी हरिबहादुर केसीले बताए। समस्यामा नपरेका व्यावसायीहरु भने मूल्य घटाएर बेच्न तयार छैनन्।

‘समस्यामा नपरेका व्यावसायी हुन् वा सर्वसाधारण हुन् उनीहरुले मूल्य बढाएका पनि छैनन्, घटाएका पनि छैनन्।‘ केसीले भने, ‘समस्यामै पर्दा त जो कसैले पनि मूल्य घटाएर बेच्छन् नै।' 

अहिले भित्री चक्रपथ वरपर प्रतिआना २० देखि २५ लाख रुपैयाँ किनबेच भइरहेको छ भने प्रस्तावित बाहिरी चक्रपथ वरपर प्रतिआना ८ देखि १२ लाख रुपैयाँसम्ममा किनबेच भइरहेको छ। भिर पाखा र छेउछाउको जग्गा भने अहिले पनि प्रति रोपनी २ देखि ३ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको व्यवसायीहरु बताउँछन्।


 

हाउजिङ कम्पनीका परियोजना सस्तो हुने

जग्गाको मूल्य घट्दा औपचारिक रूपमा काम गर्ने हाउजिङ कम्पनीलाई भने राहत हुने भएको छ। 

सरकारबाट अनुमति लिएर मापदण्ड पुर्‍याइ काम गर्ने हाउजिङ कम्पनीले परियोजना लागतको ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिले ल्याइसकेको छ। व्यवसायीहरुले अब परियोजना लागतको ४० प्रतिशत मात्रै लगानी गरेर हाउजिङ परियोजना ल्याउन सक्ने नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले बताए।

पहिले १२ देखि १५ प्रतिशतसम्म रहेको कर्जाको ब्याजदर पनि १० प्रतिशत हाराहारीमा सिमित भएपछि परियोजनाको लागत कम भइ हाउजिङ कम्पनीले बनाउने घरको मूल्य पनि घट्ने उनले बताए। 

‘पहिले ६० प्रतिशत कम्पनीले लगानी गर्नुपर्ने अवस्था थियो। ४० प्रतिशत मात्रै कर्जा लिन पाइन्थ्यो। यसले व्यवसायीहरुलाई नयाँ परियोजना ल्याउन हम्मे हम्मे पर्थ्यो।' डाउनटाउन हाउजिङका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘अब ४० प्रतिशत संस्थागत लगानी जुटाएर परियोजना ल्याउन सकिन्छ। सस्तो परियोजना आयो भने हाउजिङको माग बढ्न गई बिक्री पनि राम्रो हुन्छ।’

हाउजिङ कम्पनीले बनाएको घर अनौपचारिक व्यक्ति वा संस्थाले बनाएको घर भन्दा सस्तो हुने बित्तीकै हाउजिङको माग बढ्ने श्रेष्ठको विश्वास छ। 

यसका लागि सरकारले दिन्छु भनेको एकद्वार सेवा फास्ट ट्रयाकबाट दिनुपर्ने र प्लानिङ पर्मिट लिन, कित्ताकाट गर्न, नक्सापास गर्न लाग्ने वर्षौ लामो झन्झटिलो प्रक्रियालाई सरल बनाउनु पर्ने उनले बताए।