BIZMANDU
www.bizmandu.com

घट्दो ब्याजदरको सकारात्मक प्रभाव जलविद्युतका सेयरमा, कारोबारमा पुनर्बीमा कम्पनीले उछिन्यो

२०७७ साउन १५


काठमाडौं। साताको अन्तिम बिहीबारको सेयर कारोबारमा दिनभरी उच्च अंकको उताचढावमा रहेको नेप्से अन्त्यमा ७.५३ अंक बढेर बन्द भएको छ। मंगलबार र बुधबार घटेर बन्द भएको सेयर बजार बिहीबार भने बढेर बन्द भयो।  

Tata
GBIME
Nepal Life

१ हजार ४ सय ३३ विन्दुबाट सुरु भएको कारोबार आधा घण्टाको अवधिमा बढेर १ हजार ४ सय ३७ विन्दुमा पुगेको थियो भने पौने दुई घण्टाको अवधिमा घटेर १ हजार ४ सय २१ विन्दुसम्म ओर्लिएको थियो।

बढेको सेयर बजार बजार बन्द हुने आधा घण्टा अघि दिनकै उच्च १ हजार ४ सय ४३.९७ विन्दुसम्म पुगेको थियो। सो विन्दुमा नेप्से पुगेपछि बिक्रीकर्ताहरुको चाप पर्दा अन्त्यमा १ हजार ४ सय ३९.०६ विन्दुमा बन्द भएको छ। 

बिहीबारको कारोबारमा सबै उपसमुहको सूचक १ प्रतिशतभन्दा कमले बढेको छ। सेयर मूल्य बढ्नेमा अधिकांश जलविद्युत कम्पनीहरु छन्। खानीखोला, पञ्चन्या माई, नेशनल हाइड्रो, रैराङ, आँखुखोला जलविद्युत जोशी, घलम्दे, युनिभर्सल पावर, हिमालयन उर्जा विकास जलविद्युत कम्पनीहरुको सेयर मूल्य ४ रुपैयाँदेखि ९-१० रुपैयाँसम्म बढेर सकारात्मक सर्किट लागेका छन्। 

लामो समयदेखि ४० रुपैयाँदेखि एक सय रुपैयाँको हाराहारीमा रहेका जलविद्युत बुधबारदेखि एक्कासी बढेको छ। बैंकको ब्याजदर घटेकाले जलविद्युतको सेयर मुल्य बढ्नमा टेवा पुगेको नेपाल ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले बताएका छन्।  उनका अनुसार बैंकहरुको ब्याजदर घटेको बेलामा त्यसको प्रभाव जलविद्युतमा पर्छ। ब्याजदर घटेर बैंकमा अधिक तरलता भएको बेलामा डिबेन्चर र  जलविद्युतहरुको मूल्य बढ्ने गर्दछ। 

‘जलविद्युत कम्पनी एउटा प्रोजेक्ट हो, यो बनाउन पाँच वर्ष लाग्छ। ऋण तिर्न त्यस्तै पाँच/सात वर्ष लाग्ने हुन्छ र त्यसले दिने लाभांश पनि फिक्स हुन्छ,' उनले भने, 'त्यसको ग्रोथ भने अरु केही हुँदैन। जब, ऋण सस्तोमा पाइन्छ, निक्षेपको ब्याजदर सस्तो हुन्छ त्यसले दिने रीटर्नको तुलनामा जलविद्युतले दिने रीटर्न बढ्न जान्छ। जब बैंकको ब्याज बढ्छ, बचतको ब्याजदर बढ्छ त्यस्ता बेलामा हाइड्राले दिने रीटर्न त्यति उल्लेख्य हुँदैन।' त्यसले गर्दा जब ब्याज घट्न सुरु गर्छ त्यस बेलामा हाइड्रोको सेयरको मूल्य बढ्न पर्छ। जब बजारमा ऋण र बचतको मुल्य बढ्छ त्यतिबेला जलविद्युतको मुल्य घट्ने उनले बताए। 

 लकडाउनमा पनि जलविद्युत कम्पनीहरुले बैंकमा साँवा तथा ब्याज बुझाएका छन्। लकडाउनले उत्पादन भएका कम्पनीमा केही फरक पारेको थिएन, तिनको विद्युत बिक्री भएको छ। विद्युत उत्पादन भई बिक्री भएका जलविद्युतलाई लकडाउनले केही असर नगरेको र बैंकको ब्याजदर घटेको कारण दोस्रो बजारमा सेयर मुल्य बढेको रेग्मीले बताए। 

जलविद्युत कम्पनीहरुको सेयर मूल्य एक्कासी बढ्नुमा ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले खासै कारण केही नभएको र धेरै सस्तोमा आएकाले लगानीकर्ताहरुले उठाएको बताए।

केही कम्पनी र ठूला सेयरधनीहरुले धेरै कित्तामा खरिद बिक्री गरेका देखिएको उनले बताए। उनका अनुसार एउटाको सेयर मूल्य बढ्न थालेपछि अरु पनि बढ्ला भनेर कारोबारीहरुले उठाएका हुन् सक्छ। अब यिनै बजारमा चल्छ भनेर कारोबारीहरु सक्रिय भएको उनले बताए। 

‘हाम्रो बजारमा जुन कम्पनीको सेयर बढी चल्न थाल्छ कारोबारीहरु त्यसैको पछि लाग्ने प्रवृति छ। कम्पनीको बारेमा अध्ययन गरेर सेयर कारोबार गर्ने कम भएकाले जलविद्युतको केसमा पनि त्यही भएको हो,’ उनले भने।  

त्यस्तै, नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार जलविद्युत बढ्ने कुनै खास कारण नभएको र बजारमा लामो समयदेखि जलविद्युतको मुल्य निकै तल भएकाले केही लगानीकर्ताहरुले उठाएको बताए।

कम्पनीको सेयर ५०-६० रुपैयाँमा पाएको बेलामा उठाउँ भन्ने भएर दुई-चार रुपैयाँले बढेको उनले बताए। सरकारले पछि जलविद्युतका सेयरमा केही सुविधा दिने गरी नियम तथा व्यवस्था गर्छ भन्ने भएर कम मूल्य भएको बेलामा उठाएको हुन सक्ने अनुमान उनले गरे। 

बिहीबारको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९१ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ९५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ।