BIZMANDU
www.bizmandu.com

चार महिनापछि औपचारिक रुपमा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा, अस्वस्थ प्रतिस्पर्धा चल्ने

२०७७ साउन १५

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि बिहीबारबाट होटल तथा रेस्टुराँ व्यवसाय ओपचारिक रूपमा सञ्चालनमा आएका छन्। 

होटल व्यवसाय सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय हवाई उडान सूचारु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ। हवाई उडान सूचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन्। 

सरकारले साउन ६ गतेबाट औपचारिक रूपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सूचारु गराएको थियो। त्यस्तै साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको थियो। त्यसैले आजैदेखि होटल तथा रेस्टुराँलगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आउने भएका हुन्।

सरकारले पर्यटन क्षेत्रलाई सूचारु गर्न दिए पनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन्। खासगरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन्। 

बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटलमा ग्राहक नै नहुने हुन् की भन्ने चिन्तामा व्यवसायीहरु छन्। व्यवसायीहरुले पर्यटकको संख्या बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड-१९ संक्रमणको जोखिम कम रहेको सन्देश सरकारले प्रवाह गर्नुपर्ने बताएका छन्। 

व्यवसायीहरुले अन्तर्राष्ट्रिय उडान सूचारु भएपछि केही पर्यटकहरु आउन सक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलहरुबीच प्रतिस्पर्धा हुनसक्ने देखिएको बताएका छन्। सीमित ग्राहकलाई आफूतिर तान्न होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटल व्यवसायीहरु बताउँछन। 

होटल संघकी अध्यक्ष सृजना राणाले पाँचतारे होटलहरु बीच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको बताइन। होटलको रेटमा अस्वस्थ प्रतिस्पर्धा भए यसले नेपालको होटल क्षेत्रलाई नै बिगार्ने उनले बताइन्। उनले ग्राहक तान्नका लागि रेट घटाउने काम भए होटल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताइन। होटलको गुणस्तर र सेवा कमजोर हुनेगरी रेटमा प्रतिस्पर्धा गर्न नहुने राणाले बताइन।

कोभिड-१९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चालन गर्न सक्ने अवस्था पनि छैन। यसबाट होटलको सञ्चालन लागत बढ्ने छ। त्यसैले खर्च उठाउनका लागि पनि होटलहरु बीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। 

सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले होटलहरुको सुविधा कटौती हुन सक्ने सम्भावना रहेको बताए। त्यसैले सरकारले नै न्यूनतम स्टाण्डर्ड तोकेर होटलहरुलाई निर्देशन दिन सके सम्भावित अस्वस्थ प्रतिस्पर्धामा कमि आउन सक्ने चापागाईंले बताए।

पाँचतारे होटलका लागि मुख्य बजार भारत र चीन भएकाले पनि ती दुई देशको स्थिति सामान्य नहुँदासम्म पर्यटक कम संख्यामा आउने चापागाईंले बताए। त्यसलै सरकारले होटल सञ्चालन गर्न दिएपछि कसरी सर्भाइभ गर्ने भन्ने चुनौति देखा परेको उनले बताए। धेरैजसो होटलहरुको सञ्चालन खर्च ठूलो भएकाले त्यसलाई कभर गर्न चुनौती रहेको उनले बताए। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तिमा पनि ३० देखि ५० प्रतिशत सम्म सञ्चालन खर्च बढ्न जाने छ।

नेपालमा कोभिड-१९ संक्रमण देखिएपनि कोरोनाका कारण मृत्युको केसहरु धेरै नदेखिनु नै सबैभन्दा सकारात्मक पक्ष भएकाले यसैलाई लिएर अन्तर्राष्ट्रिय बजारमा 'नेपाल घुम्नका लागि उपयुक्त छ' भन्ने सन्देश दिनुपर्ने चापागाईंले बताए। 

त्यस्तै होटलका तहहरु धेरै भएकाले तीन तारे होटल सम्मलाई आन्तरिक पर्यटनबाट सर्भाइभ गराउन सक्ने गरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। यस्तै होटलको सञ्चालन खर्च कम गराउनका लागि विद्युतमाको डिमाण्ड चार्जेजमा विशेष छुट हुनुपर्ने उनले बताए। 

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटलको बिजनेस पनि त्यसपछि नै सूचारु हुने व्यवसायीहरुले बताएका छन्।