BIZMANDU
www.bizmandu.com

आन्तरिक उडानका लागि टिकट बुकिङ सुरु, एउटै गन्तब्यमा एकै पटक दुई एयरलाइन्सले उडान नगर्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानको लागि बुकिङ सुरु भैसकेको छ।  

चार महिनादेखि बन्द रहेको आन्तरिक उडान सुरु गर्ने निर्णयसँगै बिभिन्न एयरलाइन्सहरुले  गत सातादेखि टिकट बुकिङ सुरु गरिसकेका छन्। विगतको सामान्य अवस्थाको तुलनामा हवाई टिकट बुकिङ भने धिमा रहेको व्यवसायीको ठहर छ। यात्रुले हवाई टिकट बुकिङ गर्न सुरु गरिसकेको निजी वायुसेवा कम्पनी बुद्ध, श्री, यति, सिम्रीक लगायत निजी वायुसेवा कम्पनीले जनाएका छन्। 

गत सातादेखि बुद्ध एयरमार्फत यात्रुले टिकट बुकिङ गर्न सुरु गरेको जनाएको छ। बुद्ध एयरले अन्य समयको भन्दा कम भाडा दरमा उडान गर्ने घोषणा समेत यसअघि नै गरिसकेको छ। कम्पनीले विभीन्न गन्तब्यमा दैनिक १८ वटा उडान गर्ने योजना रहेको कम्पनीका प्रवक्ता रुपेश जोशीले बताए।

उनका अनुसार कम्पनीले बिराटनगर, पोखरा, भैरहवा, भद्रपुर, भैरहवा, नेपालगञ्ज लगायतका गन्तब्यका लागि  भाडादर तोकिसकेको छ। बुद्धले बिराटनगरका लागि २८ सय रुपैयाँ, पोखराका लागि दुई हजार रुपैयाँ, भैरहवाका लागि २५ सय रुपैयाँ भाडा दर तोकेको छ।

यसैगरी भद्रपुरकालागि  ३५ सय रुपैयाँ र नेपालगञ्जका लागि चार हजार रुपैयाँ न्यूनतम भाडादर कायम गरिएको  प्रवक्ता जोशीले बताए।

निजी वायुसेवा कम्पनीबीच भएको सम्झौता अनुसार प्रत्येक गन्तब्यमा तीन घण्टासम्मको फरकमा उडान गर्ने योजना रहेको प्रवक्ता जोशीले जानकारी दिए।

यसअघि १० मिनेटको अन्तरमा एउटै गन्तब्यमा विभीन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका थिए। भिडभाड कम  होस् भन्नाका लागि एउटै गन्तब्यमा उडान गर्दा तीन घण्टासम्मको समयान्तर राखिनेबारे सामुहिक छलफल भएको होथियो। 

'लकडाउन अघि एउटै गन्तब्यमा विभीन्न वायुसेवा कम्पनीले पाँच मिनेट देखि १० मिनेटको फरकमा नियमित उडान गर्दै आएका थिए। तर स्वास्थ्य सुरक्षाका लागि भदौ एक गतेदेखि विभीन्न गन्तब्यमा एक घण्टा देखि तीन घण्टासम्मको फरकमा उडान गर्ने सल्लाह भएको छ,' प्रवक्ता जोशीले बिजमाण्डूसँग भने।

सबै वायुसेवा कम्पनीले नियमित उडानका लागि आ-आफ्नो प्रोटोकल बनाएर स्वास्थ्य सुरक्षा अवलम्बनको तयारी गरिसकेका छन्।

स्वास्थ्य सुरक्षाको पूर्ण बन्दोबस्तका साथ कम्पनीले उडान तयारी गरिसकेको जानकारी दिँदै बुद्ध एयरका प्रवक्ता जोशीले भने 'नियमित उडान सुरु भएपछि  सरकारले कुनै गन्तब्य उडानमा निषेधाज्ञा गरेको अवस्थामा हामी त्यो गन्तब्यमा उडान गर्ने छैनौँ।'

भदौदेखि नियमित उडान सुरु भएपछि सुरुवाती चरणमा यात्रुको सहभागिता उल्लेख्य रुपमा नदेखिने श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर बताउँछन्। पछिल्लो समय तराई क्षेत्रमा देखिएको कोभिड-१९ संक्रमणका कारण नियमित उडानको अवस्‍था प्रक्षेपण गर्न नसकिने उनले जानकारी दिए।

'लकडाउन अघिको तुलनामा यतिखेर टिकट बुकिङमा यात्रुको सकृयता कम हुनु स्वभाविक हो। स्वास्थ्य सुरक्षा अवलबनका लागि प्रोटोकल अनुसार नियमित उडान गर्नका लागि तयार छौँ। तर संक्रमण अवस्थालाई प्राथमिकता दिँदै नियमित उडान गरिनेछ।' प्रवक्ता मानन्धरले भने।

यात्रुको माग र आपूर्तिको आधारमा हवाई भाडादर निर्धारण गरिँदै जाने योजना रहेको प्रवक्ता मानन्धरले बताएका छन्।

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले संक्रमण जोखिम कम रहेको गन्तब्यमा नियमित उडान गर्ने योजना रहेको जनाएको छ। एक साता अघि टिकट बुकिङ खुला गरेपछि ग्राहकको सोध पुछ र टिकट बुकिङ राम्रै भएको कम्पनीका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिए।

चार महिनादेखि विभीन्न क्षेत्रमा आवद्ध र घुमफिर गर्न इच्छुक सर्वसाधरणले यतिखेर टिकट बुकिङ गर्न सुरु गरिसकेको प्रवक्ता वर्तौलाले जानकारी दिए। 'काम छोडेर चार महिनासम्म घर फर्किएका कतिपय सर्वसाधरणले सुरक्षाको हिसाबमा हवाई यातायातलाई नै प्राथमिकता दिँदै टिकट बुकिङ सुरु गरेका छन्। कतिपय सर्वसाधरणले पुनर्ताजगीका लागि भ्रमणका लागि पनि टिकट बुकिङ गरेको पाइएको छ।' कम्पनीका प्रवक्ता वर्तौलाले भने।

क्वारेन्टाइन बस्न अनिवार्य भएपछि यसबारे विदेशी पर्यटकले सोधपुछ गर्दै आएको कम्पनीले जनाएको छ। 'सरकारले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। सिजनका लागि अहिले देखिनै विदेशी पर्यटले टिकट बुकिङ गर्न सुरु गरिसकेका छन्। कतिपय पर्यटकले अनिवार्य गराइएको क्वारेन्टाइनबारे सोधपुछ गर्दै आएका छन्।' प्रवक्ता वर्तौलाले भने। 

नियमित उडानका लागि कम्पनीले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निर्देशिका अनुसार तयार रहेको उनले जानकारी दिए।

भदौको पहिलो साताभर सिम्रिक एयरले दैनिक एउटा उडान गर्ने जनाएको छ। कम्पनीले दैनिक एउटा उडान पोखरामा गर्ने योजना रहेको प्रवक्ता प्रज्वल थापाले जानकारी दिए। केहि दिन अघि बुकिङ सुरु गरेको कम्पनीले पहिलाको तुलनामा सस्तो भाडादरमै यात्रुलाई सेवा दिने योजना रहेको उनले बताए।

'नियमित उडानका लागि हामी तयार छौँ। पहिलो सातामा ३३ प्रतिशत उडान गरिने छलफल भएको छ। त्यसकै आधारमा हामीले दैनिक एउटा उडान पोखरातर्फ गर्ने योजना बनाएका हौँ।' प्रवक्ता थापाले भने।

सामान्यतया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिक सिजनको अवस्थामा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमार्फत दैनिक पाँच सय उडान अवतरण हुँदै आएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरेर सिजनमा चार सय पचास र अफ सिजनमा तीन सय पचास उडान अवतरण हुने गरेको थियो। लकडाउन अगाडिसम्म मुलुकमा ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र आन्तरिकतर्फ आधा दर्जन फिक्स विङ र १० वटा रोटर विङ कम्पनीले नियमित उडान अवतरण गर्दै आएका थिए।

स्वास्थ्य सुरक्षालाई हेर्दै प्राधिकरणले पहिलो चरणमा आन्तरिकतर्फ ३३ प्रतिशत र अन्तर्राष्ट्रिय तर्फ दैनिक दुईवटा नियमित उडान गराउने छलफल भएको प्राधिकरणले जनाएको छ।