BIZMANDU
www.bizmandu.com

एनसेलले विद्यार्थीलाई सघाउँदै, २५० मै महिनाभर अनलाइन कक्षा लिन मिल्ने प्याकेज

२०७७ साउन १५

Tata
GBIME
Nepal Life

 

काठमाडौं। एनसेलले विद्यार्थीहरुको अनलाइन कक्षा तथा सिकाइका लागि सस्तो दरको प्याकेज उपलब्ध गराउने भएको छ। 

एनसेल र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी भएको हो।

समझदारी अनुसार एनसेलले विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने जनाएको छ।

एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना दिनेछ। यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिने जारी विज्ञप्तिमा जनाइएको छ। 

यस विशेष योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० रुपैयाँमा  अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने सहमति भएको छ।

यसैगरी मासिक ३५० रुपैयाँको योजना पनि उपलब्ध रहेको बताइएको छ । 

समझदारीपछि एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने 'कोभिड–१९ को महामारी ठूलो चुनौतीका बीच कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’सँग अभ्यस्त हुने अवसर पनि हो। विद्यार्थीहरूको अनलाइन शिक्षामा योगदान पुर्‍याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं।'

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए। 'विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,' उनले भने, 'भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ।'

सहकार्यअनुसार हिसानको सिफारिसपत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले यो सेवा लिन सक्छन्। सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने एनसेलले जनाएको छ।