BIZMANDU
www.bizmandu.com

कोरोनाको जोखिमबीच बिहीबारदेखि खुल्दैछन् होटल, पाहुना आउने टुंगो छैन, तर उत्साहित छन् संचालक


Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनका कारण चार महिनादेखि बन्द रहेका होटल संचालनमा ल्याउन अहिले धमाधम सरसफाइको काम भइरहेको छ। कोरोना संक्रमणको जोखिमका बीचमा पनि चार महिनापछि होटल संचालनमा ल्याउन पाउँदा संचालकहरु उत्साहित छन्।

काठमाडौंका केही तारे होटल संचालनमा ल्याउनका लागि सरसफाइको काम भइरहेका छन्। काठमाडौंका अन्नपूर्ण, याक एण्ड यति र हायात होटल भने तत्कालै संचालनमा आउने छैनन्। अन्तर्राष्ट्रिय उडान खुला भएपछि ती होटल संचालनमा ल्याउने व्यवस्थापकहरुले बताएका छन्। लकडाउनकै अवधिमा पनि काठमाडौंका केही होटल भने संचालनमा थिए।

सोल्टी, काठमाडौं मेरियट र एलफ्ट भने लकडाउनमा पनि खुला रहे। काठमाडौं मात्रै होइन मोफसलका पर्यटकीय गन्तब्य पोखरा र सौराहाका होटल पनि संचालनमा ल्याउन सरसफाइका काम भइरहेको छ। होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकेन्द्रबहादुर महतले आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल संचालनमा आउने बताए।

'विदेशी चेन रहेका प्राय होटलहरु बाहेकका होटलहरु खोल्ने तयारीमै छन्। कतिपय होटलले अहिले नियमित उडान मिति, उडान अवस्था लगायतका कुरालाई मध्यनजर गर्दै भदौपछि संचालनमा ल्याउने योजना पनि बनाउनुभएको जानकारी आएको छ,' उनले भने।

एक सातायता राजधानीको ठमेलका ९० प्रतिशत होटलले स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सरसफाई सुरु गरेर तयारी अवस्थामा राखेको ठमेल पर्यटन विकास बोर्डका महासचिव ध्रुव अधिकारीले बताए। 'सरकारले बिहीबारदेखि होटल संचालन गर्न दिने निर्णय गरेसँगै यहाँको होटलहरुले स्वास्थ्य सुरक्षा व्यवस्था सहित सरसफाई सुरु गर्दै आएका छन्,' उनले भने।

सुरुवाती चरणमा पर्यटकको आवतजावत नभए पनि प्राय व्यवसायीहरु बन्द गरेर बस्नुभन्दा आफ्नो व्‍यवसाय पुनः सुचारु गर्न पाउँदा उत्साहित रहेको अधिकारीको भनाइ छ। उनले भने 'अहिले पर्यटकको आवतजावत छैन। तर व्यवसायी घरमै बस्नुभन्दा सरसफाइसँगै स्वास्थ्य सुरक्षा अवलम्बनको तयारीमा उत्साहित भएर जुटिरहेको देखिएको छ।'

भदौ १ गतेबाट सुरु हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान पछि पर्यटकीय गतिविधि अगाडि बढ्न सुरु हुने प्रक्षेपण रहेको उनी बताउँछन्।

पर्यटकीय सहर पोखरामा बिहीबारदेखि १० प्रतिशत होटलहरु खोल्ने तयारीमा रहेको क्षेत्रीय होटल संघ पोखराले जनाएको छ। होटलले स्वास्थ्य सुरक्षा अवलम्बन, सरसफाइ लगायतका काम गर्दै आएक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

'प्राय पर्यटकस्तरीय होटल खुला गर्नका लागि सरसफाइसँगै स्वास्थ्य सुरक्षा अवलम्बन तयारी भइरहेको छ। ठूला होटलहरु यतिखेर रेनोभेसनमा लागिरहनुभएको छ,' तुलाचनले भने।

प्रतिकूल मौसम, घुमघाम प्रति कम आत्मबल, मुलुक समग्र रुपमा कोभिड-१९ मुक्त नभएका कारण सुरुको दुई महिना व्यवसायले उल्लेख्य गति लिन नसक्ने प्रक्षेपण रहेको उनले जानकारी दिए। 'होटल संचालन गर्ने भनेर मात्र भएन। पुनर्कर्जाको दिने निर्णय भएको छ। अब यसको कार्यन्वयन कसरी हुने हो। खोल्नेबित्तिकै पर्यटक नआए पनि संचालन खर्च त हुन्छ नै,' उनले भने।

लकडाउन खुलेको पहिलो दुई महिना स्वास्थ्य सुरक्षामा चनाखो भएर संचालन गर्न आवश्यक रहेको बताउदै उनले भने,'हामी व्यवसायी स्वास्थ्य सुरक्षा अवलम्बनका लागि तयार छौं। तर समग्र मुलुक त अझै पनि कोरोनामुक्त भएको छैन। अहिले चनाखो भएर काम गर्नुपर्ने बेला छ।'

सुरुमा आन्तरिक पर्यटकलाई प्राथमिकता दिँदै होटल संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए। नेपाल भ्रमणमा आउने धेरैजसो पर्यटकका आफ्नै मुलुक कोभिड-१९ प्रभावित छन्। यो कारणले विदेशी पर्यटक आवागमन छिटै बढ्ने सम्भावना नभएको उनले बताए।

पोखराको होटल क्राउन हिमालयनका संचालक आग्रह अर्यालले होटल संचालनका लागि सरसफाइको काम पूरा भएको बताए। 'लकडाउन खुलेपछि आन्तरिक पर्यटक आउने अपेक्षा राखेका छौं। तत्कालै होइन भदौदेखि पर्यटकको चहलपहल हुने विश्वास लिएका छौं,' उनले भने।

सौराहाका अधिकांश होटल पनि बिहीबारदेखि खुल्ने क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए। एक सय २० होटलमध्ये एक सय १० वटा खुला गर्ने योजना रहेको उनले बताएका छन्।

'पर्यटक आइहाल्ने अवस्था छैन। तर हामी पूर्ण रूपमा तयारी अवस्थामा छौं। स्वास्थ्य सुरक्षा अवलम्बन, सरसफाई लगायतको तयारी गरिसकिएको छ,' उनले भने।

व्यवसाय खुला भएको सुरुको अवस्थामा कम कर्मचारी राखिने र पछि विस्तारै कर्मचारी थपेर सेवा पूर्ण रूपमा संचालनमा ल्याउने उनले बताए। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि संघले होटल रुम, जीप सफारी, हात्ती सफारी लगायत सेवामा आकर्षक योजना ल्याउने तयारी रहेको उनले जानकारी दिए।

भैरहवामा पनि बिहीबारदेखि नै सबै होटल संचालनमा ल्याउने क्षेत्रीय होटल संघ सिद्धार्थले जनाएको छ। साना ठूला गरेर ६७ वटा होटल बिहीबारदेखि संचालनमा आउने अध्यक्ष सिपी श्रेष्ठले बताए।

'स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै होटल खुला गर्न हामी तयार छौं। यहाँ प्राय पर्यटक भारत हुँदै आउने गरेका छन्। भारतमा दैनिक हजारौं मान्छे संक्रमित हुने क्रम जारी छ। यो अवस्थामा सीमा खोल्नु उचित देखिँदैन,' अध्यक्ष श्रेष्ठले भने,' हामी सरकारको निर्णयलाई पालना गर्छौ।'

बिहीबारदेखि विराटनगरमा रहेका होटलहरु खुला गर्न तयार रहेको क्षेत्रीय होटल संघ नेपालले जनाएको छ। साना ठूला गरी विराटनगरमा रहेका एक सय ११ होटल खुल्ने संघका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।