BIZMANDU
www.bizmandu.com

चिनियाँ जायन्ट टेन्सेन्टले कारोबारमा फेसबुकलाई उछिन्यो, बन्यो विश्वकै धनी सोसल मिडिया कम्पनी

२०७७ साउन १३

Tata
GBIME
Nepal Life

अमेरिकाको प्रविधि तथा इन्टरनेट कम्पनीहरुले लामो समयसम्म विश्व सेयर बजारमा राज गरे पनि पछिल्लो समयमा चीनका कम्पनीहरुले बाजी मार्दै आएका छन्।  

चीनको टेन्सेन्ट कम्पनीको सेयरमा ४.७ प्रतिशतको उछाल आउँदै  प्रति सेयर ५४४.४० हङकङ डलर पुगेपछि मार्केट क्यापका आधारमा यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ।

सेयरको भाउ बढेर  कम्पनीको बजार पुँजीकरण ५.२ लाख करोड हङकङ डलर अर्थात  ६७० अर्ब अमेरिकी डलर भएको छ। यतिबेला फेसबुकको मार्केट क्याप ६५७.८३ अर्ब डलर छ। सेयरको मूल्यमा वृद्धि भएसँगै टेन्सेन्टले फेसबुकलाई समेत उछिनेको छ।

दुई साताअघि मात्रै चीनको इ-कमर्स कम्पनी अलिबाबाले फेसबुकलाई जित्दै विश्वकै छैटौं मूल्यवान कम्पनी बनेको थियो। अलिबाबाको मार्केट क्याप करिब ६७३ अर्ब डलर छ।

टेन्सेन्ट होल्डिङ्सका सिइओ पोनी मा चीनकै सर्वाधिक धनी ब्यक्ति हुन्। पोनी मा  विश्वका २० औं धनाढ्य हुन्। ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार उनीसँग ५२.२ अर्ब डलर सम्पत्ति छ।

चिनियाँ अनलाइन गेम तथा वि च्याट जायन्ट कम्पनी  टेन्सेन्ट कम्पनीको सेयर मूल्य आगामी १२ महिनामा ६५१ हङकङ डलरसम्म उक्लन सक्ने जेफरीका विश्लेषक थोमस चोङको भनाई छ। उनी टेन्सेन्टलाई 'ग्लोबल मोबाइल गेम्स पावरहाउस'को रूपमा चित्रित गर्छन्। 

टेन्सेन्टसँग गेम, सोसल नेटवर्किङ, मोबाइल पेमेन्ट, म्युजिक तथा भिडियो र क्लाउडको प्रणाली छ। उसको वि च्याट सोसल मिडिया म्यासेजिङ र मोबाइल पेमेन्ट एपको एक अर्बभन्दा धेरै प्रयोगकर्ता छन्।