BIZMANDU
www.bizmandu.com

प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न एनसेलको छात्रवृत्ति, पुल्चोक इन्जिनियरिङलाई २४ लाख दियो

२०७७ साउन १३

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल प्रालिले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । 

आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ । 

कोरोना महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकाले एनसेलले यस वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कारको २४ लाख रुपैयाँको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो ।

सो नगद रकम एनसेलका प्रतिनिधिले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्राडा. लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन् ।

‘'एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ । मेहनती र जेहन्दार विद्यार्थीहरुको सम्मान गरिने यो कार्यक्रमका लागि हामी एनसेलप्रति सधै आभारी छौं,' क्याम्पस प्रमुख प्राडा. पौडेलले भने-'कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिले गर्दा औपचारिक कार्यक्रम सम्भव नभए पनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउने छौं ।' 

विगत ७ वर्षदेखि प्रदान गरिँदै आएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानका बारेमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, 'उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्ने यस कार्यक्रमको सहकार्यका लागि हामी पुल्चोक क्याम्पस र यस क्याम्पसका आदरणीय प्राध्यापकहरुप्रति आभारी छौं । यो वर्षको छात्रवृत्ति र उत्कृष्टता सम्मान पाउने सबै विद्यार्थीहरुलाई बधाई दिन चाहन्छौं । व्यवसायिक सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको अभिन्न अंग रहँदै आएको छ र यसै अन्तर्गत  इन्जिनियरिङ विधामा युवा प्रतिभाको प्रोत्साहन गर्ने एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई २०८० सालसम्म निरन्तरता दिन पाएकोमा हामी धेरै खुसी छौं । शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर हाम्रा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं।'

पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौता बमोजिम इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको रुपमा जनही १ लाख रुपैयाँ नगद हस्तान्तरण गर्ने गरेको छ। 

प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको एनसेलले जनाएको छ।