BIZMANDU
www.bizmandu.com

कुखुराको मासु एक किलोमा १५ रुपैयाँ घट्यो, पोल्ट्री संघ भन्छ ‘अब भाउ निरन्तर घट्छ’

२०७७ साउन १२

Tata
GBIME
Nepal Life

काठमाडौं। करिब तीन महिनापछि पोल्ट्रिबाट नयाँ लट बजारमा आएसँगै कुखुराको मासुको मूल्य घट्न थालेको छ।

शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १०  र तयारी मासुको मूल्यमा १५ रुपैयाँ घटाएको पोल्ट्री संघका अध्यक्ष जगंबहादुर बीसीले बताए। 'अब मासुको मूल्य घट्दै जान्छ,' उनले भने। केही सातामै कुखुराको मूल्य घटेर प्रतिकेजी ३ सय रुपैयाँ आइपुग्ने उनले बताए।
जिउँदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि कतिपय किसान र फर्महरुले चल्ला हाल्न थालेका थिए। यतिबेला उक्त उत्पादन बजारमा आउन थालेपछि भाउ घटेको उनले बताए।

पछिल्लो समय पोल्ट्री संघले  कुखुराको मासुको मूल्य ३ सय ९० रुपैयाँ कायम गरेको थियो। लकडाउनमा कुखुरापालक किसान र पोल्ट्री संघहरुले उत्पादन कम गरेका कारण जिउँदो कुखुरा र मासुको मूल्य उकालो लाग्दै आएको थियो। नयाँ उत्पादन आउन थालेपछि बजार पुरानो लयमा फर्कन थालेको बीसीले जानकारी दिए।

गत महिना मासुको मूल्य एक सातामा दुई पटकसम्म बढ्दै  ३ सय ७५ रूपैयाँसम्म पुगेको थियो। त्यसको केही दिनमै १५ रुपैयाँले बढेर ३ सय ९० रुपैयाँमा बिक्री हुँदै आएको थियो।

लकडाउनमा मासुको खपत घट्न थालेपछि जिउँदो कुखुराको मूल्य १ सय ७० सम्म आइपुगेको थियो। तर उत्पादन कम हुँदै जाँदा जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ६० रुपैयाँ पुगेको थियो। अहिले जिउँदो कुखुराको मूल्य किसानका लागि २ सय ५० रुपैयाँ र उपभोक्ताका लागि २ सय ७० रुपैयाँ पर्ने पोल्ट्री संघले जनाएको छ।

लकडाउन लम्बिँदै जाँदा उत्पादन ठप्प जस्तै भएको थियो। तराइका कतिपय पोल्ट्री फर्महरु खाली भइसकेका थिए। केही किसानले गरेका उत्पादन र संघहरुले राखेका पुराना स्टकले नै बजारको माग पूरा गर्दै आएको छ।

लकडाउनको सुरुवातमा ढुवानी असुविधासँगै बजार मूल्य नपाउदा किसानले उत्पादन कम गर्दै लगेका थिए। लागत मूल्यका साथै बिक्री नभएको भन्दै कुखुरा र अण्डा नष्ट गरेपछि अभाव देखिएको हो।

जेठ महिनाको अन्यसम्म पनि कम उत्पादनले उपभोक्ताको माग जसोतसो धानिरहेको थियो। असारबाट लकडाउन खुकुलो हुँदै जान थालेपछि मासुको माग बढेसँगै अभाव पनि देखिन थालेको थियो। त्यसैकारण नयाँ उत्पादनले त्यसलाई पूर्ति गर्ने अपेक्षा गरिएको छ।

हाल उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। रेष्टुरेन्ट र होटलहरु पूर्ण रूपमा खुल्न थालेपछि मासुको खपत बढ्न थाल्छ। यस्तो अवस्थामा बजारको माग धान्नका लागि पनि नयाँ उत्पादन आवश्यक भएको संघले जनाएको छ। तर साउन महिनामा कुखुराको मासुको खपत अन्य महिनामा भन्दा कम हुने गरेको छ।