BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले वेबसाइट परिमार्जन गर्‍यो, ‘सेल्फ केयर एकाउन्ट’बाट बिभिन्न सेवा लिन मिल्ने

२०७७ साउन १२

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले आफ्नो वेबसाइट परिमार्जन गरेको छ। ग्राहकलाई सेवाको बारेमा सहजै जानकारी दिने उद्देश्यले थप जानकारीमुलक र ग्राहकमैत्री वेबसाइट निर्माण गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अब वेबसाइटबाटै सेवा खरिद पनि गर्न सक्ने सुविधा पनि टेलिकमले दिएको छ। वेबसाइटको होमपेजमा रहेको 'सेल्फ केयर एकाउन्ट' मार्फत ग्राहकले विभिन्न सेवाका बारेमा जानकारी लिन सँगै रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वेबसाइटमार्फत ग्राहकले आफन्त वा साथीभाईलाई उपहारस्वरुप पनि प्याकेज दिन सक्नेछन्। ब्यालेन्स र प्याकेज भोलुमबारे सहजै जानकारी दिने उद्देश्यले कम्पनीले वेबसाइटमै उक्त व्यवस्था गरेको जनाएको छ।   

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ।

नयाँ सिमको फारम, रोमिङ सेवा(डाटा रोमिङ, इन्टरनेश्नल रोमिङ), भ्यालु एडेड सर्भिस, फोरजी एलटिइ, क्रेडिट सेवा, फाइबर टु द होम, एडिएसएल र कर्पोरेट युजर ग्रुप लगायतका लगायतका सेवाको जानकारी पनि वेबसाइटबाटै लिन मिल्छ।    

यसै गरी कम्पनीले उपलब्ध गराएको पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा पनि वेबसाइटमा प्रशस्त उपयोगी जानकारी राखिएको बताइएको छ।

ग्राहकले नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरसँगै आफूले चाहेका व्यक्तिगत वा संस्थागत नम्बर वेबसाइटबाटै खोज्न सकिने कम्पनीले जनाएको छ।

वेबसाइटमार्फत पछिल्लो समयमा कम्पनीले सार्वजनिक गरेको डाटा प्याकेजहरुबारे ग्राहकको प्रयोगलाई सहज हुने कम्पनीको दाबी छ।
टेलिकमले जनाए अनुसार वेबसाइटमार्फत ग्राहकले कम्पनीका सेवाबारे जानकारी प्राप्त गर्नुका साथै गुनासाहरु समेत दर्ता गराउन सक्ने छन्।