BIZMANDU
www.bizmandu.com

पशुपति आउने भक्तजन लक्षित होटल ‘आनन्द पशुपति’, जहाँ ३ सय रुपैयाँमै पाइन्छ बास

२०७७ साउन १२

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउन नभइदिएको भए यतिखेर काठमाडौंको गौशालास्थित होटल 'आनन्द पशुपति' पूर्ण रूपमा संचालनमा आइसकेको हुन्थ्यो। बतास समुहद्वारा संचालित यो होटल पशुपति आउने श्रद्धालु भक्तजनलाई लक्षित छ।

पशुपतिको तीर्थमा आउने भक्तजनहरुका लागि होटलले डोरमेट्रीमा बास बस्दा तीन सय रुपैयाँ शुल्क निर्धारण गरेको छ। होटलका अनुसार खान-बस्न  दुवै सेवा लिन चाहनेका लागि २५ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ।    

नेपाल भ्रमणका लागि देशविदेशबाट आउने धार्मिक पर्यटकलाई मध्यनजर गर्दै शाकाहारी र अध्यात्मिक वातावरणमा होटल खुलेको हो। यतिखेर होटल आंशिक संचालनमा छ। आउँदो साउन १५ देखि होटलका केही सेवाहरु पूर्ण रूपमा संचालनमा आउने ब्यवस्थापनले जनाएको छ।

होटलका अनुसार आवश्यक सामाग्री चीनबाट मगाइएका कारण प्रेसिडेन्सियल सुइट रुम, स्पा, फिटनेस लगायत कक्ष निर्माण सम्पन्न हुन  बाँकी नै छ। अबको तीन महिनामा मात्र होटल पूर्ण रूपमा संचालनमा आउने ब्यवस्थापनले जनाएको छ।  

१९ रोपनी क्षेत्रफलमा रहेको यो होटलमा ७० वटा शयन कक्ष र एक सय वटाभन्दा बढी डोरमेट्री कक्ष छ। स्वच्छ वातावरणका लागि चार सयवटा वृक्षरोपण गरिसकेको होटलले जनाएको छ।   

ध्यान र प्रवचन कक्षसहितको सुविधा भएको होटलमा आयुर्वेदिक चिकित्सकद्वारा संचालित आर्ट अफ लिभिङको स्पा संचालनमा रहने छ। होटलमा तीनवटा रेष्टुरेण्ट र एउटा फिटनेस सेन्टर लगायतको सुविधा रहने जनाएको छ।

तीन वर्ष अघि भारत राजदूतावासले निर्माण गरेर यो भवन पशुपति विकास कोषलाई  हस्तान्तरण गरेको थियो।  विकास कोषले आह्वान गरेको टेण्डरका आधारमा संचालनका लागि बतास समूहलाई दिएको थियो। बतास समूहले थप करिब २०  करोड रुपैयाँको लगानीमा एक वर्षदेखि होटल 'आनन्द पशुपति'को  विस्तार गर्दै आएको छ।

पशुपति विकास कोष र बतास समूहबीच १० वर्षको लागि संचालन सम्झौता भएको छ। सम्झौता अनुसार होटलले  कोषलाई वार्षिक एक करोड २० लाख रुपैयाँ बुझाउनेछ। पिक हस्पिटालीटीले व्यवस्थापनको जिम्मा लिएको यो होटलले आम्दानीको पाँच प्रतिशत रकम सामाजिक कार्यमा प्रयोग गर्ने जनाएको छ।