BIZMANDU
www.bizmandu.com

भद्र सहमति खारेजपछि बैंकरले देखाए आफ्नो पुरानै पारा, नयाँ ऋणको माग नभएपछि अर्काको खोस्दै

२०७७ साउन १२

भद्र सहमति खारेजपछि बैंकरले देखाए आफ्नो पुरानै पारा, नयाँ ऋणको माग नभएपछि अर्काको खोस्दै
भद्र सहमति खारेजपछि बैंकरले देखाए आफ्नो पुरानै पारा, नयाँ ऋणको माग नभएपछि अर्काको खोस्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रणालीमा तरलता फ्यालफ्याल भएपछि ऋण खोसाखोसको अभ्यास फेरि बैंकहरुमा सुरु भएको छ। अढाइ वर्षअघि अहिलेजस्तै खोसाखोसको अवस्था बैंकहरुमा थियो।

गत आर्थिक वर्षको अन्तिमतिरबाट साामान्य सुरु भएको 'ऋण खोसाखोस' अभ्यास बीचमा चरम तरलता अभाव भएपछि रोकिएको थियो। 

कोभिड-१९ का कारण अहिले प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ। एकातिर ऋण घट्ने अर्कोतिर निक्षेप बढ्ने हुँदा बैंकहरुको कोषको लागत बढिरहेको छ। नयाँ ऋणको माग नहुँदा बढी भएको तरलता ब्यवस्थापन गर्न बैंकले सकिरहेका छैनन्। 

त्यही भएर एउटा बैंकमा भएको ऋण अर्को बैंकले खोस्न थालेका हुन्। विकास बैंक र फाइनान्स कम्पनीसम्मबाट बैंकहरुले ऋण खोस्न थालेका छन्।

'कर्पोरेटलाई त आधार दरमै पनि ऋण दिएको भेट्टिन थालेको छ। उनीहरुलाई नयाँ परियोजना वा स्तर वृद्धिका लागि ऋण दिइएको होइन। अर्को बैंकमा भएको ऋण खोस्नका लागि सस्तोमा दिन थालिएको हो,' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, 'यो गलत अभ्यास हो। यसले कसैलाई फाइदा गर्दैन।'

साउन १ गतेबाट बैंकहरुले जब निक्षेपको भद्र सहमति खारेज गरेर आफ्नो हिसाबले ब्याज दर निर्धारण गर्ने स्वतन्त्रता पाए त्यसपछि ऋणको ब्याज दरमा पनि प्रतिस्पर्धा चलेको हो।

'ऋणको ब्याज घट्दा पनि नयाँ लिन आउने कोही छैन। खुद्राखुद्रीबाहेक नयाँ ब्यापार बढेको छैन। त्यसैले अहिले एउटाको अर्कोले खोस्ने प्रवृत्ति मात्र बढेको छ,' माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, 'अहिले ओभरल इन्डस्ट्रीको ऋण बढेको छैन। मेरो ऋण घट्दा अर्को बैंकको बढेको मात्र हो। यो भनेको पुरै खोसाखोस मात्र हो।'

ऋण खोसाखोसको प्रवृत्ति हावी हुन थालेपछि यसप्रति नेपाल राष्ट्र बैंक पनि सचेत बनेको छ। तर अहिले नै हस्तक्षेप गर्ने पक्षमा राष्ट्र बैंक छैन। केही समय हेरेर मात्र निर्णय गर्ने योजना राष्ट्र बैंकको रहेको बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले जानकारी दिए।

अहिले सञ्चालनमा २७ वाणिज्य बैंक छन्। सबैजसोले एकल अंकमा ब्याज दर ल्याइसकेका छन्। ब्याज घटेको मात्र छैन, उनीहरुले नयाँ ऋणीका लागि घर, गाडी, सेयरलगायतका ऋणको स्किम पनि ल्याउन थालेका छन्। तर पनि बजारबाट माग आउन सकेको छैन। माग नआउँदा उनीहरुले अर्को बैंकमा रहेको ऋणीलाई तान्न थालेका हुन्।

'अहिले सबै खालको ऋण सरेको होइन। जस्तो मेरोमा ओभरड्राफ्ट लिइरहेकोले अहिले तिरिदिएको छ,' इन्भेष्टमेन्ट बैंकका पाण्डेले भने, 'अर्थात उसले अर्को बैंकमा अझ सस्तोमा पैसा पायो र मेरो तिरिदियो।'

बैंकरका अनुसार, एकदमै चाँडो 'स्वीच' हुनेमा कर्पोरेट ग्राहक छन्। उनीहरुले अहिले ६/७ प्रतिशतमै ऋण पाउन थालिसकेका छन्। उनीहरुले सेवा शुल्क पनि एकदमै न्यून तिर्छन्। बैंकरबीच भएको 'अस्वस्थ प्रतिस्पर्धा' प्रति पुराना बैंकरहरु खुसी छैन।

'अहिले जसरी हामीले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छौं यसले अन्ततः हामीलाई नै समस्यामा पार्छ। यस बारेमा हामी सचेत हुन जरुरी छ,' कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने, 'यति चाँडो र यति फराकिलो अन्तरले ब्याज दर तलमाथि हुनु कसैलाई लागि पनि फाइदाजनक छैन।'

तीन महिनामै ब्याजमाथि

पुराना बैंकरहरु केही महिनामै निक्षेप र ऋणको ब्याज माथि जाने विश्लेषण गर्न थालेका छन्। अहिले बैंकमा तरलता बढेको भनेको ऋणको माग नभएर मात्र हो। 

यतिबेला उसैपनि सरकारी खर्चका कारण तरलता बढ्ने समय हो। यसपाली कोभिड-१९ का कारण ऋणको माग नभएर थप तरलता वृद्धि भएको मात्र हो।

'दसैंतिहारजस्ता चाडपर्व आउँदैछ। चार/पाँच महिनादेखि केही नगरी बसेको ब्यवसायिक क्षेत्रले पनि काम थाल्ने छ। यसले गर्दा चाँडै ऋणको माग बढ्न थाल्छ,' पाण्डेले भने, 'ऋणको माग हुन थालेपछि अहिलेको तरलता हराएर जान्छ। त्यसबेला फेरि महँगोमा निक्षेप उठाउनु पर्ने हुनसक्छ। त्यो दिन चाँडै आउँदैछ।'

सुरेन्द्र भण्डारी पनि अहिलेको अभ्यासप्रति खुसी छैनन्। उनका अनुसार, वर्ष दिनमै १४ प्रतिशतको ब्याज ७ प्रतिशतमा झर्नु राम्रो होइन। यसमा बैंकर सचेत हुन आवश्यक छ।

भद्र सहमति खारेज गर्दा नै बैंकरबीच अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ, त्यतातिर नलागौै है भन्ने अर्को सहमति भएको थियो। त्यो सहमति अनुसार केही बैंकले आधा प्रतिशत बिन्दु मात्र निक्षेपको ब्याज घटाए। अरुले भने एक/डेढ प्रतिशत बिन्दुले नै घटाए।

उनीहरुले आधार दर कम हुनेबित्तिकै अर्को बैंकको ऋण खोस्ने रणनीतिमा लागे। बैंकरबीच अति नै अस्वभाविक प्रतिस्पर्धा चलेपछि केहीले राष्ट्र बैंकलाई रिपोर्टिङ गरिदिइसकेका छन्।