BIZMANDU
www.bizmandu.com

सनराइजका सञ्चालकलाई राष्ट्र बैंकले भन्यो- वर्ष दिनमा ३/३ जना सीइओ फेरेर के गर्न खोजेको?

२०७७ साउन ११

सनराइजका सञ्चालकलाई राष्ट्र बैंकले भन्यो- वर्ष दिनमा ३/३ जना सीइओ फेरेर के गर्न खोजेको?
सनराइजका सञ्चालकलाई राष्ट्र बैंकले भन्यो- वर्ष दिनमा ३/३ जना सीइओ फेरेर के गर्न खोजेको?

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकका केही सञ्चालक र प्रमुख कार्यकारी बीचको विवाद उत्कर्षमा पुगेपछि आइतबार नेपाल राष्ट्र बैंकले छलफल गरेको छ। सञ्चालक समितिका सात जनासँग राष्ट्र बैंकको नियमन र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकले छलफल गरेका हुन्।

छलफलको सुरुवातमै राष्ट्र बैंकका अधिकारीहरुले सोधेका थिए- बैंकको अवस्था कस्तो छ?

सबैले 'राम्रो छ हजुर' भनेर जबाफ फर्काएका थिए।

त्यसपछि बैंकको ब्यापार वृद्धि कस्तो छ भनेर सोधिएको थियो। त्यसको जबाफ पनि 'राम्रो छ' भनेर दिइएको थियो।

'त्यसो भए के समस्या छ त?' भनेर फेरि अर्को प्रश्न गरियो। उत्तर- 'केही पनि छैन हजुर' भनेर आयो। 

तपाइँहरुको बैंक नियम अनुसार चलेको छ? प्रमुख कार्यकारीको ऋण स्वीकृत गर्ने अधिकार कति हो? भनेर फटाफट प्रश्न गरियो।

उत्तरमा 'बैंक राम्रोसँग चलिरहेको छ। सीइओलाई ५ करोडभन्दा माथिको ऋण स्वीकृत गर्ने अधिकार छैन' भनेर सञ्चालकहरुले उत्तर दिए।

सीइओले ऋण बिगारे? 

'छैन हजुर'

त्यसो भए  सबै नियम अनुसार चलेको छ, ब्यापार राम्रोसँग भएको छ, सीइओले राम्रै गरेको छ भने एक वर्षमा तीन-तीन वटा सीइओ फेर्न किन खोजेको? राष्ट्र बैंकका अधिकारीहरुले प्रश्नमाथि प्रश्न गरे।

'सीइओ फेरिरहने। विवाद झिकिरहने। यसले समस्या हुन्छ। यसले बैंक रन हुँदैन? तपाईँहरुको सिइओले राम्रो गरेको छैन भने भन्नुस्। अस्थिरता निम्त्याउने काम नगर्नुस्,' राष्ट्र बैंकका अधिकारीहरुले कडा शब्द प्रयोग गरे।

त्यस बीचमा सञ्चालकहरुले केही पनि बोलेनन्। सीइओ किन निकाल्न खोजेको भनेर समेत उत्तर दिन सकेनन्। अन्तिममा सञ्चालक शैलेन्द्र गुरागाईले गुनासो गरे- सीइओ पोलाइट भएनन्।

विवाद के हो? 
जनक शर्मा पौडेल प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुअघि नै बैंकमा विवाद थियो। बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाएपछि गुरागाई पक्षले लफडा सुरु गरेको थियो।

त्यसबेला गुरागाईले अर्का सञ्चालक मालचन्द दुगड पक्षसँग मिलेर लफडा गरेका थिए। अन्तत: लफडाका बीचमा आफू काम नगर्ने भनेर निरजले बैंकमा कार्यभार नै नसम्हाली छाडिदिएका थिए। निरज बैंक अध्यक्ष मोतिलाल दुगडको रोजाइका थिए। उनले रोजेपनि सञ्चालक समितिले नियुक्त गरेको थियो।

दुगडको रोजाइका सीइओलाई काम गर्न नदिएपछि गुरागाई पक्षलाई प्रमुख कार्यकारी छान्ने जिम्मा दिइयो। उनीहरुले पौडेललाई नियुक्त गर्ने सुझाए र उनी प्रमुख कार्यकारी भए।

अहिले गुरागाई पक्षले नै आफूले रोजेको सीइओसँग लफडा गरेका हुन्। लफडा सृजना फाइनान्स गाभ्ने विषयबाट सुरु भएको हो।

सृजना फाइनान्स गाभिने भएपछि सेयर आदानप्रदान अनुपात मिलाउन समिति बनाइएको छ। समितिमा अनावश्यक मान्छेहरुलाई डाकेर बैठक भत्ता भन्दै बैंकबाट भुक्तानी दिलाइएको छ।

साथै सेयर आदानप्रदान अनुपात पनि मनखुसी तोक्न खोजिएको छ। 

पौडेलले मूल्य डीडीएबाट तय गरौं। मनपरी कसैलाई पनि भत्ता नदिउँ भनेर कुरा उठाएका  थिए। उनलाई अध्यक्ष दुगडले पनि समर्थन गरेका थिए। साथै सृजना फाइनान्सका माथिल्ला तीन जना कर्मचारीलाई जनही एक करोड रुपैयाँ दिएर बिदा गरौं र उनीहरुलाई एक/एक वटा कार दिनु पर्छ भनेर समेत गुरागाई पक्षले एजेण्डा लिएर आएको थियो।

त्यसमा पनि पौडेलले 'कसैलाई बिदा गर्ने भए नियम अनुसार गरौं' भनेर आफ्नो धारण राखेका थिए। आफ्नो सिफारिसमा नियुक्त भएको सीइओले आफ्नै कुरा नसुनेपछि गुरागाई र मालचन्द रिसाइरहेका थिए।

उनीहरुले बिहीबारको बैठकमा प्रमुख कार्यकारीको राजीनामा माग गरे। प्रमुख कार्यकारीलाई बैठकको आधामै 'तपाइँ बाहिर निस्केर गइहाल्नुस्' भनेर बाहिर निकालेका थिए। त्यसपछि प्रमुख कार्यकारीलाई तीन कार्यदिनभित्र स्पष्टीकरण पेश गर्ने निर्णय गर्‍यो। यो निर्णय पुरै सञ्चालक समितिले भन्दा पनि बहुमतका आधारमा गरिएको एक सञ्चालकले बताए। 

गुरागाईले सृजना फाइनान्सका कर्मचारीलाई सुविधा दिलाउने कुरा गरेपछि सनराइज बैंकका अन्य सञ्चालक र ब्यवस्थापनले सृजनाका अध्यक्षसँग सोधेका थिए। सृजनाका अध्यक्षले आफ्ना कुनै पनि एजेण्डा नभएको र केही पनि माग नगरेको सुनाए।

जहाँ पनि सीइओले टाङ अड्याएको भन्दै गुरागाई पक्षले प्रमुख कार्यकारीको राजीनामा माग गरेको एक सञ्चालकले बताए।

के भन्यो राष्ट्र बैंकले?
सनराइज बैंकका सञ्चालकहरुले सीइओको राजीनामा माग्नुको चित्त बुझ्दो कारण नदिएपछि राष्ट्र बैंकले मिलेर अगाडि बढ्न निर्देशन दिएको छ। साथै वर्ष दिनमा ३/३ वटा प्रमुख कार्यकारी  फेर्ने, अनावश्यक विवादमा लाग्ने काम बन्द गर्न पनि भनेको छ।