BIZMANDU
www.bizmandu.com

कोरोनाकै बीच भिस्ताराले सार्वजनिक गर्‍यो पहिलो एयरबस, अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्ने

२०७७ साउन ११

Tata
GBIME
Nepal Life

काठमाडौं। भिस्तारा एयरलाइन्सले आफ्नो पहिलो एयरबस 'ए ३२१ नियो' भारत आइपुगेको जनाएको छ। कोरोना महामारीका बीच कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उडानको योजनाप्रति प्रतिबद्ध रहेको बताउँदै नयाँ एयरबस सार्वजनिक गरेको हो।

भिस्ताराले विश्वमै केही सीमित एयरलाइन्सहरुमा जस्तै न्यारो बडी एयरक्राफ्टमा फ्ल्याट बेड राखिएको नियो सार्वजनिक गरेको हो। भिस्तारा न्यारो बडी एयरक्राफ्टमा फ्ल्याट बेड रहेको पहिलो दक्षिण एशियाली बिमान कम्पनीसमेत बनेको छ। कम्पनीले ५० वटा नियो एयरबस अर्डर गरिसकेको छ, जसमध्ये पहिलो एयरबस हात पारेको जानकारी दिएको छ।  जर्मनीको ह्यामबर्गबाट एयरबस दिल्ली आइपुगेको कम्पनीले जनाएको छ।  

नयाँ एयरबस  विश्वस्तरीय क्याबिन इन्टेरियर भएको जनाउँदै कम्पनीले यस विमानबाट कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उडानप्रतिको प्रतिबद्धता जाहेर गरेको बताएको छ।  

भिस्तारा एयरलाइन्सका सिइओ लेसलि थङले भने- 'कोभिडको असहज परिस्थितीका बावजुद यो नयाँ जहाज हाम्रो अन्तर्राष्ट्रिय बिस्तार योजनाप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा सार्वजनिक गरेका छौं। नयाँ एयरक्राफ्टले भारत आवतजावत गर्ने यात्रुहरुलाई विश्वस्तरको फ्लाइटको अनुभूति दिनेछ भन्नेमा हामी विश्वस्त छौं।'

कम्पनीले नयाँ विमान विश्वस्तरको सुरक्षा प्रविधि अनुसार तयार पारिएको तथा अन्यमा भन्दा ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्ने बताएको छ। यसबाट इन्जिनबाट आवाज कम आउने, अधिक भारवहन क्षमता भएको तथा इन्धन किफायती भएको पनि कम्पनीले जानकारी दिएको  छ।

विमानको संचालन गुणस्तर 'प्रिमियम' रहेको भन्दै सिइओ थङले नयाँ एयरबसले अन्तर्राष्ट्रिय गन्तव्य बिस्तार रणनीतिमा सहयोग पुर्‍याउने विश्वास ब्यक्त गरे।

कुल १ सय ८८ सिटे विमानमा १२ वटा बिजनेस क्लास, २४ वटा प्रमियम इकोनोमी र १५२ वटा इकोकनोमी क्लासका लागि  छुट्टयाइएका छन्।  यसमा भएका सिटहरु टाउको र कुमलाई आराम दिने किसिमले एडजस्ट गर्न मिल्ने रहेको पनि कम्पनीले जानकारी दिएको छ।
बिमानमा वायरलेस कनेक्टिभिटीका साथै हरेक सिटमा चार्जिङ पोर्टहरु राखिएकाले यात्रुहरुलाई सहज हुने बताइएको छ। यसको बिजनेस क्लासमा राखिएका सिटहरु 'फ्ल्याट बेडका' रूपमा बदल्न मिल्ने सुविधासमेत रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले नयाँ रणनीतिक योजना अनुसार प्रभावकारी र ग्राहकको सन्तुष्टीलाई ध्यानमा राखेर विमान तयार पारेकोले कोरोना महामारीका बीच पनि भिस्ताराको रणनीतिक उद्देश्य पूर्तिका लागि यस विमानले महत्वपूर्ण भूमिका खेल्ने एयरबसका चिफ कमर्सियल अफिसर क्रिस्टियन सेररले बताए।

नयाँ विमानले भारतको उडान क्षेत्रमा प्रभावकारी र विमान संचालनमा उपयुक्त प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उनको दाबी छ।
एयरबस नियोलाई नेक्स्ट जेन विमानको मोडल भएको बताउँदै कम्पनीले यसलाई छोटो तथा मध्यम दुरीका अन्तर्राष्ट्रिय रुट तथा गन्तव्यहरुका लागि प्रयोग गर्ने बताइएको छ।

भिस्ताराले सन् २०२० को मार्चबाट नै आफ्नो पहिलो वाइडबडी एयरक्लाफ्ट  बोइङ ७८७ ड्रिमलाइनरबाट अन्तर्राष्ट्रिय सेवा सुरु गरिसकेको छ।  स्थापनाको ५ वर्षमै भिस्ताराले आफ्नो संचालन तथा गुणस्तरीय सेवाका कारण भारतको बेस्ट एयरलाइन्सको अवार्ड जितेको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ।